अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम गरेको छ। मंगलबार वीरगन्जको टाउनहलमा जिल्लाभित्रका स्थानीय निकायका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई सहभागी गराएर अन्तर्क्रिया गरिएको हो।
पछिल्लो समय सबै तहमा भ्रष्टाचार बढेको गुनासो र उजुरीको तथ्य सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न अन्तर्क्रिया गरिएको आयोगको हेटौँडा कार्यालयले जनाएको छ। स्थानीय सरकारसँग आयोगको अपेक्षा र भ्रष्टाचार नियन्त्रणमा स्थानीय निकायका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षको भूमिकाबारे जानकारी दिन अन्तर्क्रिया गरिएको हो।
आयोगका आयुक्त डा. हरि पौडेलको विशेष उपस्थितिमा भएको कार्यक्रममा अख्तियारको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या र शीर्षकलगायतका तथ्यांकहरू प्रस्तुत गरिएको थियो।
अख्तियारको हेटाैँडा कार्यालयका प्रमुख अर्जुनप्रसाद शर्माले आफ्नो क्षेत्रभित्रका जिल्लाका विभिन्न तहका कार्य प्रस्तुत गरेका थिए। ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकबारे जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूबारे समेत जानकारी गराइएको थियो।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न विभिन्न पालिकाका सहभागीहरूले आफ्नो जिज्ञासा राख्दै अख्तियारलाई सुझावसमेत दिएका थिए। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित जिल्लाका १४ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।