१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत ७ सोमबार ०७:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन वर्षमा नेपाललाई दुई खर्बभन्दा बढी ऋण दिने एडिबीको लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत ७ सोमबार ०७:३१:००

एसियाली विकास बैंक (एडिबी)ले आगामी तीन वर्षमा नेपाललाई दुई खर्बभन्दा बढी ऋण दिने भएको छ । हालै नेपालको भ्रमण सकेर फर्केका एडिबीका महानिर्देशक केनिची योकोयामाले यस्तो बताएका हुन् । ‘आगामी तीन वर्ष हरेक साल एडिबीले नेपाललाई दिने सहुलियतपूर्ण ऋण ५० देखि ६० करोड अमेरिकी डलर (६० देखि ७२ अर्ब रुपैयाँ)मा कायम राख्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘यसले दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्नेछ ।’

आगामी तीन वर्षमा एडिबीको अधिकतम लक्ष्यअनुसार ऋण आएमा एक अर्ब ८० करोड अमेरिकी डलर (करिब दुई खर्ब १६ अर्ब रुपैयाँ) हुनेछ । सन् २०१८ देखि २०२० सम्म एडिबीले नेपाललाई हरेक साल ६० करोड अमेरिकी डलर (करिब ७२ करोड रुपैयाँ) ऋण दिएको थियो । त्यसअघि २०१५ देखि २०१७ मा भने औसत ३० करोड डलर मात्रै ऋण आएको थियो । 

एडिबले सन् २०२० को मेमा कोभिड–१९ विरुद्ध राहत तथा उद्धारका साथै आर्थिक पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्न २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण दिएको थियो । त्यस्तै, जुलाई २०२१ मा कोभिड–१९ विरुद्धको खोप खरिद गर्न साढे १६ करोड अमेरिकी डलर (करिब १९ अर्ब ८० करोड रुपैयाँ) ऋण दिएको थियो ।

एडिबीका दक्षिण एसिया हेर्ने महानिर्देशक केनिची योकोयामाले नेपालको आर्थिक विकासको एजेन्डा र कोभिड–१९ पछिको पुनरुत्थानलाई सघाउने प्रतिबद्धतालाई पुनः दोहोर्‍याएका छन् । गत बुधबारदेखि शनिबारसम्म नेपाल भ्रमणमा रहेका योकोयामाले सरकारका  मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूसँगको भेटमा यस्तो प्रतिबद्धता दोहोर्‍याएका हुन् । सन् २०१२ देखि २०१७ सम्म योकोयामाले एडिबी नेपालको राष्ट्रिय निर्देशक भएर काम गरेका थिए । 

‘महामारीबाट कमजोर बनेको अर्थतन्त्रलाई हरित, उत्थानशील र समावेशी पुनरुत्थान गर्ने काममा एडिबी सधैँ प्रतिबद्ध छ, नेपालमा दिगो आर्थिक वृद्धि हासिल गर्न तथा नेपाली जनतालाई जलवायु परिवर्तनको प्रभावबाट बच्न सक्ने बनाउन हामीले सहयोग गर्नेछौँ,’ उनले भने । पूर्वाधार तथा मानव पुँजीका क्षेत्रमा संरचनात्मक सुधार गर्ने तथा गुणस्तरीय लगानी गर्ने विषयलाई एडिबीले जोड दिएको पनि उनले बताए । ‘त्यसले विदेशी तथा स्वदेशी निजी क्षेत्रको लगानी बढाउनेछ, स्थानीय तहमा सेवा प्रवाहमा पनि सुधार ल्याउनेछ,’ उनले भने ।