१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ चैत ६ आइतबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेंसीसहर–चामे सडकखण्ड थप १० दिन बन्द

Read Time : < 1 मिनेट
२०७८ चैत ६ आइतबार १५:०४:००

लमजुङ र मनाङ जोड्ने डुम्रे–बेंसीसहर–चामे सडकखण्ड पुनः १० दिन बन्द हुने भएको छ। सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएकाे कल्भर्टकाे ढलान पूर्ण रूपमा सेट भइनसकेकाले आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै जनाएको छ। मनाङ जिल्ला प्रवेश गर्ने सडकमार्ग डुम्रे–बेंसीसहर–चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कल्भर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। 

सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो। जिल्लाको नासों गाउँपालिका– ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ। यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो।

पछि पुनः काठेपुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी–पहिराले समेत काठेपुल बगाएको थियो। त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो। रासस