मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत ६ आइतबार ०८:३५:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

राजेश हमालको कल्पनाको काठमाडौं  (भिडियोसहित)

Read Time : > 2 मिनेट
२०७८ चैत ६ आइतबार ०८:३५:००

केही दिनअघि अभिनेता राजेश हमालले ‘काठमाडौं महानगरको मेयर बन्नुपर्छ कि क्या हो ?’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । यद्यपि, योे भनाइ व्यंग्य मात्रै भएको उनले बताइसके । तर, चितवनस्थित नयाँ पत्रिकाकर्मी विवेक पोख्रेलले अभिनेता राजेश हमालसँग उनी कस्तो काठमाडौं महानगर चाहन्छन् भनेर प्रश्न गरेका छन् । हमालकै शब्दमा जवाफ :

काठमाडौंको बासिन्दा हुँ । यो सहर मलाई सहज किसिमको सहर लाग्दैन । जसले जिम्मा लिनुभएको छ, उहाँबाट काम नहुँदा फेरि म नै ‘मेयर बन्नुपर्छ कि क्या हो’ भनेर व्यंग्य गरेको हुँ । अहिलेसम्म जो जो यहाँको मेयर हुनुभयो, उहाँहरूबाट काम भइरहेको छैन । यसमा दु:ख पनि लाग्छ । किनभने, हरेक सहरको आफ्नै विशेषता हुन्छन्, इतिहास हुन्छ । काठमाडौं नेपालको राजधानीका साथसाथै नेपालकै ऐतिहासिक सहर पनि हो । जति इतिहास काठमाडौैंमा पाउनुहुन्छ, त्यो नेपालको अन्य कुनै पनि भूभागमा पाइँदैन । संरचनाको हिसाबले पनि यहाँका जति ऐतिहासिक संरचना, मठमन्दिर, दरबार अन्त विरलै होलान् । अन्तका संरचना पनि काठमाडौंकै सभ्यता विस्तार भएर बनेका हुन् । 

३० वर्षअघिको टुरिस्ट बुकलेट/गाइडलाइन मात्रै हेर्ने हो भने पनि काठमाडौंमा मान्छेभन्दा बढी देवीदेउताको मूर्ति थिए । घरभन्दा बढी मठमन्दिर रहेको उल्लेख छ । तर, पछिल्लो २५–३० वर्षमा आधुनिकताका नाममा काठमाडौंलाई झन्डैझन्डै ‘कुरूप’ सहर बनायौँ । योजनाको हिसाबले समग्र काठमाडौं हेर्दा यस्तै लाग्छ । कुनै संरचना वा एक व्यक्तिको घरलाई मात्र हेर्ने हो भने त सुन्दर लाग्न पनि सक्छ । काठमाडौं सुन्दर बनाउन ३० वर्षअघि मात्रै एउटा राम्रो योजना बनाएको भए हुन्थ्यो । यहाँको ऐतिहासिक महत्वलाई जोगाएको भए सायद हाम्रो राजधानी सुन्दर रहिरहन्थ्यो होला । तर, अहिले हामीले विभिन्न संरचना बनाएका छौँ, व्यक्तिगत होस् वा सरकारी । आज बनायो ठीक भएन भनेर फेरि अर्को बनाउँछौँ । सडक गेट, ओभरहेड ब्रिजलाई उदाहरणका रूपमा हेरौँ योजनाकारमा दूरदर्शिता नभएको जस्तो देखिन्छ । 
...                                               ...

विश्वका पुराना–पुराना सहर हेर्दा एक–डेढ सय वर्षअघि बनाइएका योजना अहिले पनि सान्दर्भिक लाग्छन् । २१औँ शताब्दीको घडीसँगै दौडिरहेका छन् । न्युयोर्क, लन्डन, पेरिस, टोकियोसहित छिमेकी राष्ट्र भारतकै सहरहरू मुम्बई, दिल्ली नै हेरौँ । यी सहरमा आधुनिक भवन त देखिन्छन्, तर ८० प्रतिशत संरचना पुरानै देखिन्छ । तर, हाम्रो राजधानी सहर काठमाडौंमा ९० प्रतिशतभन्दा बढी संरचना ३० वर्षयता बनेका छन् । 

घर मात्रै हैन, सहरलाई बस्नयोग्य बनाउने धेरै विषय हुन्छन् । व्यक्तिले घर, होटेल, कफी सप, रेस्टुरेन्ट मात्र बनाएर पनि हुँदैन, त्योभन्दा बाहिर पनि सहर घुम्न, हिँड्न, बस्न लायक छ कि छैन । हामी विदेशतिर देख्छौँ नि, मानिसहरू घरमा जसरी बसे पनि सहरमा निस्किएपछि बाटो सहज छन्, सहरका संरचना सुन्दर हुन्छन्, राम्रा–राम्रा बगैँचा हुन्छ, पैसा खर्च नगरी नि:शुल्क पार्कमा गएर बस्न सक्छन् । यस्तो सहरमा बस्ने नागरिकको मनोविज्ञान नै अर्कै हुन्छ । तर, हामीकहाँ त्यसको ठीक उल्टो छ । मेयर जो भए पनि काठमाडौंलाई सुन्दर बनाऊ, नागरिकलाई बस्ने वातावरण देऊ भन्ने मेरो व्यंग्य हो । 

बाटोमा सहजै हिँड्न पाउनुपर्‍यो । विश्रामस्थल हुनुपर्‍यो । घरबाट निस्किएपछि पैसा खर्च नगरी रमाउने ठाउँ हुनुपर्‍यो नि । वा थोरै पैसा खर्च गरेर रमाउने ठाउँ हुनुपर्‍यो । विश्वको जतिसुकै नराम्रो सहरमा गए पनि त्यहाँ केही न केही सुन्दर पक्ष हुन्छ । तर, मैले काठमाडौंमा होटेल, रेस्टुरेन्टबाहेक बाहिर राम्रो ठाउँ केही पनि देखेको छैन । व्यावसायिक रूपमा खोलिएका होटेल, रिसोर्ट, कफी सपबाहेक परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान पनि गएको छैन । केही न केही त हुनुपर्छ, सहरमा ।

...                                               ...

हामी न आधुनिक हुन सक्यौँ, न हाम्रा खेतबारी, मठमन्दिर, ऐतिहासक संरचना नै जोगाउन सक्यौँ । २१औँ शताब्दीको मागअनुसारको आधुनिक हुन पनि सकेनौँ, प्राकृतिक हिसाबले रमणीय वातावरण पनि रहेन । भएका संरचनालाई पनि संरक्षण गर्न सकेनौँ । हामी यता न उताका भयौँ । 

राजनीतिको आफ्नै जटिलता हुन्छन् । राजनीति मैले रोजेको विषय हैन पनि । म राजनीतिका विभिन्न खुट्किलाबाट गुज्रिन पनि चाहन्नँ । यद्यपि, जिम्मेवारी दिए म लिन तयार छु । निर्वाह गर्न म पछि हट्दिनँ । 

मेयर मात्रै किन, मन्त्री, प्रधानमन्त्रीकै भूमिका पनि निर्वाह गर्न सक्छु । तर, मैले यसका लागि पाइला नै चालेको छैन । तत्कालै मेयरको चुनावमा लडिहाल्छु भन्न खोजेको होइन । सक्षम व्यक्ति भए हाम्रो सहर सुन्दर बनाउन सकिन्छ । मैले काठमाडौंलाई भन्नुको कारण काठमाडौंभन्दा पछि बनेका नेपालका अरू सहरहरूमा यात्रा गर्दा सहज हुन्छ । उनीहरूले बरु राम्रो गरिरहेका छन् । 

काठमाडौंमा एक ठाउँबाट अर्को ठाउँमा जान असहज छ । म सानो हँुदा काठमाडौंमा धेरैजना हिँडेरै यात्रा गर्नुहुन्थ्यो । हुन त काठमाडौं हिँड्न र साइक्लिङमैत्री छ । यो धेरै ठूलो पनि छैन । मौसम पनि सुहाउँदो छ ।  यो कुरा नेतृत्व र नागरिक कसैको पनि प्राथमिकतामा परेन । गाडी, मोटरसाइकलको मात्रै सोच आयो । तर, गाडी किनेर चलाउने ठाउँ छैन, पार्किङ गर्ने ठाउँ छैन भने के गर्ने ?