मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत २ बुधबार ०६:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऋणसँगै प्रविधि पनि भित्र्याउन एडिबीलाई अर्थमन्त्रीको सुझाब

Read Time : < 1 मिनेट
२०७८ चैत २ बुधबार ०६:४५:००

 अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडिबी)लाई नेपालमा ऋण लगाानीसँगै नवीन प्रविधिसमेत भित्र्याउन सुझाब दिएका छन् । एडिबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  अर्थमन्त्री शर्माले ऋण दिँदा विकसित देशमा प्रयोग हुने नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका हुन् । 

कार्यक्रममा एडिबीको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिरहेका मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ ।’ छलफलमा सहभागी विभिन्न मन्त्रालय–निकायका प्रतिनिधिले समन्वयको अभाव भएको बताए । मन्त्री शर्माले समन्वय गर्न कर्मचारीबीच तालमेल नहुँदा विकासमा अवरोध भएको बताए । ‘कुन सडक कसले बनाउने भनेर पनि कर्मचारी साथीहरू अलमलिनुभएको छ, अनि कसरी हुन्छ विकास ?’ उनले भने, ‘सडक खन्ने, ढल बनाउने र बिजुलीको पोल गाड्ने काम समन्वय गरेर एउटै टेन्डरमा निकाल्दा भइहाल्छ, तर यहाँ बाटो बनाएपछि ढल विकासले खन्ने र विद्युत् प्राधिकरणले बिजुलीको पोल गाड्ने अनौठा उदाहरण देखिने गरेका छन् ।’

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा एबिडीको चार खर्ब नौ अर्ब रुपैयाँ लगानीका परियोजना सञ्चालनमा रहेको जानकारी दिइएको थियो ।