मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १ मंगलबार १५:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाणको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १ मंगलबार १५:०९:००

गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसिसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरूलाई आग्रह गरेका छन्। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले एमसिसी संसदबाट पारित गराएकाले त्यसको पक्षमा बोलिदिन आग्रह गरेका हुन्।

प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यमबाट सरकार बनाउने मुलुकले मात्रै एमसिसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने उनको तर्क छ। एमसिसी परियोजना घरघरमा बिजुली पुर्‍याउनका लागि ट्रान्समिसन लाइन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाणले त्यसमा कसरी राष्ट्रघात भयो भन्दै प्रश्न गरे। उनले केही व्यक्तिले एमसिसी आए अमेरिकी सेना र गोलाबारुद्ध आउने आशंका गरेकोमा समेत आपत्ति जनाए।

‘तीन वर्ष भयो, यो एग्रिमेन्ट भएको। त्यतिखेरैबाट बनाउन सुरु भएको भए यतिखेरसम्म आधा त बनिसक्थ्यो नि। अब अहिले बल्ल तीन वर्षपछि पो पास गरेका छौँ। त्यतापट्टि पनि म उपभोक्ताज्यूहरूलाई ध्यानाकर्षण गराउन चाहन्छु। हामी सबै नेपालका नागरिक राष्ट्रवादी हौँ। नेपाल रहे, हामी नेपाली रहन्छौँ। हामी सबै नेपाली रह्यौँ भने नेपाल जोगाउन सक्छौँ। अब एउटा सानोसानो इस्युले राष्ट्रवादी व्याख्यात्मक घोषणा थप गर्नेबित्तिकै राष्ट्रवादी। उता, माइतीघरमा विरोध प्रदर्शन। तपाईंहरूले सरकारलाई धन्यवाद दिनुपर्ने हो, त्यो पनि उपभोक्ता अधिकारभित्रकै कुरा हो। बाटो बिगारेको छ, ढुंगो र इँटाले हानेको छ। ५० जना प्रहरी घाइते भएका छन्। एमसिसी पास गरेर सरकारले राम्रै गर्‍याे भनिदिनुपर्‍याे नि,’ उनले भने।