मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत १ मंगलबार ०७:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रशिक्षणपछि एमाले चुनावी कार्ययोजनाको तयारीतिर 

Read Time : > 1 मिनेट
२०७८ चैत १ मंगलबार ०७:०७:००

घोषणापत्र मस्यौदा लेखन, प्रचार–प्रचार, आर्थिक, जनपरिचालन र निर्वाचनलगायतका समिति बनाएर पार्टीपंक्ति परिचालन गर्ने गरी कार्ययोजना बनाउने गृहकार्य

एमालेले स्थानीय तह निर्वाचनलक्षित प्रशिक्षणसँगै चुनावी कार्ययोजना निर्माणको तयारी थालेको छ । फागुन महिनाभरि सातवटै प्रदेश र जिल्लामा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सकेर एमालेले कार्ययोजना निर्माण तयारी अगाडि बढाएको हो । चुनावमा पनि पाँचदलीय गठबन्धन कायमै रहने चर्चा रहँदा एमालेमाथि दबाब बढेको छ । 

कार्ययोजना निर्माणका लागि मंगलबार बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकबाट स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ । चुनावकेन्द्रित बैठकको एजेन्डा तय गर्न सोमबार पार्टी कार्यालय थापाथलीमा केन्द्रीय कार्यालयको बैठक बसेको थियो । बैठकले मंगलबारको सचिवालय बैठकमा एजेन्डा प्रस्ताव गर्ने गृहकार्य गरेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

‘केन्द्रीय कार्यालय बैठकबाट चुनावकेन्द्रित एजेन्डाको गृहकार्य गरिएको छ । मंगलबारको सचिवालय बैठकले एजेन्डालाई अन्तिम रूप दिएर स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरिनेछ,’ अधिकारीले नयाँ पत्रिकासँग भने । महासचिव शंकर पोखरेल प्रमुख रहेको केन्द्रीय कार्यालयमा उपमहासचिव, सचिव, केन्द्रीय कार्यालय सचिवसहित १२ जना सदस्य छन् । सबै पदाधिकारी सदस्य रहने सचिवालय बैठकको नेतृत्व भने अध्यक्ष केपी ओलीले गर्नेछन् ।

चुनावका लागि घोषणापत्र मस्यौदा लेखन, प्रचार–प्रचार, आर्थिक, जनपरिचालन र निर्वाचनलगायतका समिति बनाएर पार्टीपंक्ति परिचालन गर्ने गरी कार्ययोजना बनाउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् । 

यसअघि २५ माघमा अन्तरपार्टी निर्देशन जारी गर्दै महासचिव पोखरेलले सबै प्रदेशलाई निर्वाचनको आवश्यक तयारीमा लाग्न निर्देशन दिएका थिए । तयारीमै केन्द्रित रहेर एमालेले सातै प्रदेशमा पार्टी नेता–कार्यकर्ताका लागि १ फागुनदेखि १७ फागुनसम्म प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । २८ माघमा अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट चुनावी प्रशिक्षणको उद्घाटन गरेका थिए ।

स्थानीय चुनाव तयारीकै सिलसिलामा एमालेले पार्टी प्रवेश अभियानलाई तीव्रता दिइरहेको छ । अध्यक्ष ओलीकै सहभागितामा एमालेले एक साताकै बीचमा विराटनगर, वीरगन्ज, पोखरामा अन्य पार्टीका नेता तथा निर्वाचित जनप्रतिनिधिलाई प्रवेश गराएको छ । नेकपा विप्लव समूहका कर्णाली प्रदेश र जुम्लाका केही नेताहरूलाई सोमबार बालकोटस्थित निवासमै पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रमका लागि ओली जुम्ला पनि जाँदै छन् ।

एमालेले जनस्तरबाट व्यक्त खबरदारीसमेतका कारण सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेको एमालेले निष्कर्ष निकालेर निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न परिपत्रमार्फत निर्देशन दिएको थियो । 

यसअघि महासचिव पोखरेलले प्रदेशहरूमा दशौँ राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संठनात्मक र शैलीगत विषयहरूमा प्रशिक्षण दिएका छन् । त्यस्तै, स्थानीय तहमा हाम्रा पाँच वर्ष : उपलब्धि र अनुभवहरू, स्थानीय तह निर्वाचनको तयारी : राजनीतिक, कानुनी र व्यावहारिक पक्षहरूबारेसमेत एमालेले कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।