मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
च्याम्पियन भएपछि त्रिभुवन आर्मी क्लबका खेलाडी । तस्बिर : नयाँ पत्रिका
२०७८ चैत १ मंगलबार ०७:०४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मी चौथोपटक झापा गोल्डकप च्याम्पियन

झापा–११, पाँचौँपटक उपविजेतामै सीमित

Read Time : > 1 मिनेट
२०७८ चैत १ मंगलबार ०७:०४:००

पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ ले हराउँदै आर्मी च्यम्पियन बनेको हो । योसँगै आर्मी झापा गोल्डकपमा पाँचौँपटक च्याम्पियन बनेको हो । आर्मीले यसअघि पहिलो, तेस्रो, चौथो संस्करणको उपाधि पनि जितेको थियो । 

घरेलु टोली झापा–११ भने उपाधि जित्न फेरि एकपटक चुकेको छ । लगातार पाँचवटै संस्करणमा झापा उपविजेतामै सीमित बनेको छ । दोस्रो संस्करणको झापा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबसँग हारेको झापा चारवटा संस्करणमा भने आर्मीसँगै पराजित भएको हो । जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता भएको झापा–११ ले ६ लाख पाँच हजार रुपैयाँ नगद र ट्रफीमा चित्त बुझाएको हो । 

सोमबारको फाइनल खेलमा आर्मीको जितका लागि टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । खेलको १८औँ मिनेटमा बुढाथोकीले पहिलो गोल गरे । उनले सुमन अर्यालको क्रसमा उत्कृष्ट फिनिसिङ गरेका थिए । अग्रतापछि हौसिएको आर्मीले ३ मिनेटपछि अर्को गोल थप्यो । मैदानको मध्यभागबाट डिबक्समा पाएको बललाई झापाका गोलरक्षक दीप कार्की अघि बढेको मौकामा २१औँ मिनेटमा जर्जप्रिन्स कार्कीले दोस्रो गोल थपे । 

विमलले फर्काए एक गोल
दुई गोल खाएपछि झापा आक्रमक बनेको थियो । उसले २४औँ मिनेटमा एक गोल फर्कायो । झापाका विदेशी खेलाडी शिवे उल्रिचको क्रसमा डिबक्समा रहेका विमल घर्तीमगरले हेडमार्फत गोल गरे । सुरुवातमा आर्मीले आक्रामक खेल खेले पनि अग्रता लिएपछि डिफेन्सिपको रणनीति बनायो । खेलको १४औँ मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिक क्रसबार नजिकैबाट बाहिरियो । गोलपछि डिफेन्सिप भएको आर्मीले खासै ‘मुभ’ बनाउन सकेन ।

झापाले भने बनाएका ‘मुभ’लाई फिनिसिङ गर्न नसक्दा इतिहास रच्नबाट चुक्यो । सुरुवातमा लय गुमाउँदाको क्षति झापाले व्यहोर्नुपर्‍यो । पहिलो हाफको सुरुवाती समयमा आर्मीसँग निरीह देखिएको झापाले रणनीति परिवर्तन गर्दै खेल आक्रामक बनायो । दोस्रो हाफपछि भने झापाले आक्रमक खेल खेल्यो । तर, फिनिसिङ लाइन कमजोर हुन पुग्दा पाएका मौका सदुपयोग हुन सकेन । 

खेलको २०औँ मिनेटमा झापाका सत्यम् शर्माले प्रहार गरेको फ्रिकिकमा कप्तान विशाल राई ‘बी’ले गरेको हेडर विपक्षी गोलरक्षक विकेश कुथुले बचाए । २२औँ मिनेटमा विशालले गरेको प्रहार अकासियो । खेलको ८१औँ मिनेटमा झापाका फाकुन्ने अबयोमीले डिबक्सबाट गरेको प्रहार विपक्षी गोलरक्षक कुथुले नियन्त्रणमा लिए । फाइनल खेलको म्यान अफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकीले पाए । उनले ९ हजार ९९९ रुपैयाँ पनि पाएका छन् ।

उपविजेता झापाको पुरस्कारमा वर्चस्व
उपविजेता झापा–११ ले अन्य पुरस्कारमा भने वर्चस्व कायम गरेको छ । नेपाल आइसले प्रायोजन गरेको पाँचौँ संस्करणको झापा गोल्डकपको ‘मस्ट भ्यालुएबल प्लेयर’  झापाका डिफेन्डर देवेन्द्र तामाङ भए । उनले एक थान मोटरसाइकल पाए ।प्रतियोगिताभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता पनि विमल घर्तीमगर बने । उनले नगद २५ हजार प्राप्त गरे । गोल्डकपको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र बेस्ट कोच आर्मीका नवीन न्यौपाने भए । उनीहरूले जनही २१ हजार रुपैयाँ पाएको आयोजकले जनाएको छ ।

२१ फागुनदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लबसहित १० क्लबको सहभागिता थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिताको समापन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गरे ।