मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १ मंगलबार ०६:३४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२०२१ मा एडिबी सहयोगका परियोजनामा पौने ३३ अर्ब खर्च

यो वर्ष थप एक खर्ब १२ अर्ब ऋणको प्रतिबद्धता आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १ मंगलबार ०६:३४:००

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनामा गत वर्ष सन् २०२१ मा करिब ३३ अर्ब रुपैयाँ (२७ करोड २९ लाख अमेरिकी डलर) खर्च भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी भएको सोमबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो । नेपालमा एसियाली विकास बैंकको सहयोगमा अहिले चार खर्बभन्दा बढी लगानीका ३० आयोजना सञ्चालनमा छन् । 

एडिबीको सहयोगका आयोजनामध्ये सन् २०२१ मा ६६ प्रतिशतको ठेक्का लागेको थियो भने ४२ प्रतिशत खर्च भएको थियो । सो वर्ष करिब पौने ५२ अर्बबराबरका आयोजनाको ठेक्का लागेको हो । एडिबी सहयोगका आयोजनाको मूल्यांकन गर्न एवं आएका समस्या समाधान गर्न सोमबारबाट आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, एडिबीका नेपाल निर्देशक आर्नो कोस्वा, अर्थसचिव मधुकुमार मरासिनीलगायत उपस्थित थिए ।

‘परियोजना कार्यान्वयनका अवरोध हटाउन, त्यसका समस्या पत्ता लगाउन अर्थ मन्त्रालय र अन्य मन्त्रालयले गरेको पहललाई हामी प्रशंसा गर्छौँ,’ कोस्वाले भने  । 
नेपालमा एडिबीको सहयोग निरन्तर बढ्दै गएको छ । हाल एडिबीको सक्रिय पोर्टफोलियो तीन अर्ब ४० करोड डलर छ भने २५ करोड ५० लाख डलर थप सहयोगको प्रतिबद्धतासमेत गरेको छ । त्यसमध्ये १६ करोड ५० लाख कोभिडविरुद्धको खोप किन्नका लागि दिइने ऋणको प्रतिबद्धता हो । सन् २०२२ मा थप ९३ करोड २० लाख अमेरिकी डलर (करिब एक खर्ब १२ अर्ब रुपैयाँ) सहयोगको प्रतिबद्धता आउने अपेक्षा एडिबीले गरेको छ । यो वर्ष सम्झौता हुन लागेका नौ परियोजनामा त्यो सहयोगको प्रतिबद्धता आउने अपेक्षा रहेको एडिबीले जनाएको छ । सन् १९६९ देखि हालसम्म एडिबीले कुल सात अर्ब ३० करोड अमेरिकी डलर सहयोग गरिसकेको छ ।

‘परियोजना क्षेत्रमा जति राम्रो काम भयो र परियोनजाहरूको प्रगति जति राम्रो भयो, त्यति नै धेरै ऋण दिन सकिन्छ । विगत केही समयदेखि कोभिड महामारीले सिर्जना गरेको असहजताका बाबजुद पनि परियोजनाहरूमा भएको प्रगतिको हामी प्रशंसा गर्छौँ । आगामी दिनमा परियोजनाहरू समयमा कार्यान्वयनको सुनिश्चितता गर्न निश्चित कदमहरू चाल्नुपर्ने देखिन्छ,’ कोस्वाले भने । त्यही समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले एडिबी सहयोगमा सञ्चालित उत्कृष्ट प्रगति भएका आयोजनाहरूलाई पुरस्कृत गरेका थिए ।