मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण ३० सोमबार ०८:५४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण  अलपत्र, ठेकेदार सम्पर्कविहीन 

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण ३० सोमबार ०८:५४:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि नाका जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम अलपत्र परेको हो । सडक स्तरोन्नतिका लागि श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले जिम्मा लिएको छ ।

जेभीले पेटी ठेकेदार कम्पनीमार्फत सडक स्तरोन्नतिको काम गरिरहेको थियो । मुख्य ठेकेदार कम्पनीले काम गरेको पैसा नदिएपछि पेटी ठेकेदारले समेत काम रोकेका छन् । अहिले सडक निर्माणस्थल खाली छ । गत ५ फागुनदेखिसडक स्तरोन्नतिको काम ठप्प रहेकोगल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी– रसुवागढी सडक योजनाका प्रमुख निरज शाक्यले बताए । 

३० पुस ०७९सम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरीश्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनासँग १ साउन ०७७सम्झौता गरेको थियो । सम्झौताको अवधि अब १० महिना मात्रै बाँकी छ । तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको योजनाका प्रमुख शाक्यले बताए । हालसम्म २३ प्रतिशत मात्रै भौतिक प्रगति भएको गल्छी–त्रिशूली–मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाले जनाएको छ ।

हालसम्म टेवा पर्खाल लगाउने काम मात्र भएको र सडकसम्बन्धी कुनै पनि काम हुन नसकेको योजनाका प्रमुख शाक्यले बताए । ‘६० प्रतिशतभन्दा बढी समय सकेकोमा हालसम्म २३ प्रतिशत मात्रै भौतिक प्रगति छ, अबको बाँकी समयमा उक्त योजनाको काम सम्पन्न गर्न नसक्ने देखिन्छ,’ उनले भने,‘पेटी ठेकेदारमार्फत मात्र काम भएको छ, मुख्य ठेकेदारले काम गरेको पैसा नदिएपछि करिब २० दिनदेखिपेटी ठेकेदारले समेत काम रोकेका छन् ।’

मुख्य ठेकेदार कम्पनीले सडक स्तरोन्नतिका लागि सडक योजनासँग सम्झौता भएयता सम्पर्कविहीन हुँदै आएको बताइएको छ । सडक योजनाले पटकपटक पत्राचार गरेपनि सम्पर्कमा नआउने र सम्पर्कमा आएपनि कामलाई गति नदिने गरेको पाइएको छ । 

सम्पर्कमा आउन सडक योजनाको पटकपटक ताकेता 
ठेकेदार कम्पनीसँग सम्झौता भएयता सडक योजनाले पत्र र टेलिफोनमार्फत सम्पर्कमा आउन पटकपटक रूपमा ताकेता गरेको छ । योजनाले ११ फागुन ०७७मा निर्माण कार्यमा शीघ्रता दिन ताकेता गरेको थियो । ३ चैत ०७७ कार्यप्रगतिबारे जानकारी गराउन पत्राचार गरेको थियो । १२ चैतमा पुनः कार्य प्रगतिको जानकारी गराउन पत्राचार गरेको थियो । १६ वैशाख ०७८ निर्माण कार्यलाई शीघ्रता दिन अनुरोध गरिएको थियो ।

पटकपटक सम्पर्कमा आउन आग्रह गरेपनि ठेकेदार कम्पनीका आधिकारिक व्यक्ति सम्पर्कमा नआएपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको कार्यालयले अन्नपूर्ण दैनिक पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशित गरी एक साताभित्र सम्पर्कमा आउन भनेको थियो । तर, सार्वजनिक सूचना निकालेको एक महिना पुग्न लागेको छ ।

मुख्य ठेकेदार कम्पनीका आधिकारिक व्यक्ति सम्पर्कमा आएका छैनन् । गत १८ फागुनमापुनः सम्पर्कमा आउन ताकेता गरिएको थियो । तर, पटकपटक सम्पर्कमा आउन आग्रह गरेपनि ठेकेदार कम्पनीका आधिकारिक व्यक्ति सम्पर्कमा नआएको योजनाका प्रमुख शाक्यले बताए । ‘निर्माणस्थलमा काम भएको छैन, हाम्रो सम्पर्कमा आउन धेरै ताकेता गर्‍यौँ, तर आएको छैन,’ उनले भने, ‘फोन गर्‍यो उठ्दैन उठिहाल्यो भने अरू कसैले उठाउँछ, जानकारी गराइदिन्छौँ भन्छन्, पत्र काटी मेल गरेका छौँ, कुनै प्रतिक्रिया आउँदैन ।’ ठेकेदार कम्पनी सम्पर्कमा नआएसँगै अब अन्य कारबाहीको प्रक्रिया अघि बढ्ने उनले बताए ।