मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झापा गोल्डकप ट्रफीका साथमा फाइनमा पुगेका आर्मी र झापा– ११ का प्रशिक्षक तथा कप्तान 
२०७८ फाल्गुण ३० सोमबार ०७:३३:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

झापा गोल्डकपको फाइनल आज : इतिहास उल्ट्याउने दाउमा झापा– ११

फाइनलमा पुगेको आर्मीले झापा गोल्डकपको उपाधि तीनपटक उचालिसकेको छ भने झापा ११ ले चारपटकसम्म उपविजेतामै चित्त बुझाएको छ

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण ३० सोमबार ०७:३३:००

पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनल आज हुँदै छ । उपाधिका लागि तीनपटक झापा गोल्डकपको उपाधि उचालेको त्रिभुवन आर्मी फुटबल क्लब र यसअघिका चारवटै संस्करणमा उपविजेतामा सीमित भएको घरेलु टोली झापा–११ प्रतिस्पर्धा गर्दै छन् ।

आर्मीले पहिलो, तेस्रो र चौथो झापा गोल्डकपको उपाधि जितेको छ भने झापा यसअघिका चारवटै संस्करणमा उपविजेतामा सीमित बन्दै आएको छ । दोस्रो झापा गोल्डकपमा भने घरेलु टोली झापा–११ मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । यसपटक झापा इतिहास उल्ट्याउँदै नयाँ इतिहास रच्ने दाउमा उत्रँदै छ । आर्मी भने पाँचौँ संस्करणको झापा गोल्डकपको चौथोपटक ट्रफी पोल्टामा पार्ने दाउमा छ । 

विभागीय टोली आर्मीका खेलाडी ‘सेट’ छन् । झापा–११ ‘कलेक्टिभ’ टिम हो । यद्यपि, झापासँग सशक्त खेलाडी छन् । स्टार स्ट्राइकर विमल घर्तीमगरले झापाबाटै खेलिरहेका छन् । लिग विजेता टोली मच्छिन्द्रका अधिकांश खेलाडी झापासँगै जोडिएका छन् । लिगमा आर्मी दोस्रो स्थानमा छ । लिग विजेता टोलीका सदस्य झापामा रहेका कारण पनि दबाबमा छ, आर्मी । दुवै टोलीमा राष्ट्रिय टोलीका खेलाडी छन् । त्यसकारण पनि फाइनल खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने धेरेको अनुमान छ । 

आर्मीका कप्तान नवयुग श्रेष्ठ चोटका कारण पूरा खेल खेल्न सकेका छैनन् । चोटपछि उनको यो पहिलो खेल हो । आर्मीका स्टार स्ट्राइकर श्रेष्ठले यसअघिका दुई खेलमा अन्तिम २० मिनेट मात्र खेले । उनी फाइनलमा पनि कति खेल्ने हुन् भन्ने टुंगो छैन । यसको फाइदा आफ्नो टोलीलाई हुन सक्ने झापाको अनुमान छ । ‘हाम्रो घरेलु मैदान हो । दर्शकको साथ पनि राम्रो छ । हामीसँग स्टार स्ट्राइकर विमल घर्तीमगर छन् । फर्वाड विकास मेराग्लिया सेमिफाइनलबाट खेलेका छन् । तर, टिममा फिट भइसकेका छन् ।,’ प्रि–म्याच कन्फरेन्समा झापाका प्रशिक्षक सन्तोष गुरुङले भने, ‘हाम्रा खेलाडीका लागि आर्मी नयाँ होइन । त्यसकारण पनि इतिहास उल्ट्याउँछौँ ।’ 

आर्मीले विगतकै प्रतिद्वन्द्वी झापा–११ लाई झापा गोल्डकपको फाइनलमा पाएको छ । झापाको ‘मिक्स टिम’को फाइदा लिने दाउमा छ, आर्मी । ‘झापा–११ सँगै होइन मच्छिन्द्र क्लबसँग खेलेजस्तै भएको छ । झापामा उसको भन्दा धेरै खेलाडी मच्छिन्द्रका छन् । यो हाम्रा लागि एडभान्टेज पनि हो,’ आर्मीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘तर, खेल जित्ने सम्भावना ५०–५० नै हुन्छ । जसले पाएको अवसर सदुपयोग गर्छ उसैले जित्ने हो । खेलाडीले अन्तिमसम्म प्रयास गर्ने हो ।’ आर्मीका प्रशिक्षक न्यौपानेले विगतको तुलनामा आफ्ना खेलाडीको खेल स्तरीय भएको दाबी गरे । 

विजेतालाई १२ लाख ५५ हजार 
२१ फागुनबाट बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ संस्करणको झापा गोल्डकप आज सकिँदै छ । प्रतियोगितामा भारतका दुई टिम, 
घरेलु टोली झापा–११ र सात वटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । खेलको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले 
नगद २५ हजार पाउनेछन् ।

नवयुगको पुनरागमन
आर्मीका कप्तान तथा स्ट्राइकर नवयुग श्रेष्ठले झापा गोल्डकपबाट पुनरागमन गरेका छन् । उनी सहिद स्मारक ए डिभिजन लिगको तयारी खेल्ने क्रममा गत कात्तिकमा घाइते भएका थिए । 

चोटका कारण लिगसमेत खेल्न नपाएका नवयुगले झापा गोल्डकपको क्वार्टरफाइनल र सेमिफाइनलमा अन्तिम २० मिनेट खेले । उनी आजको फाइनल पनि सकेसम्म खेल्ने तयारीमा छन् । ‘सोचेभन्दा राम्रो कमब्याक भयो । टिमका लागि लिग खेल्न नपाउँदा धेरै पीडा भएको थियो ।’ प्रि–म्याच कन्फरेन्समा उनले भने, ‘पहिलो र दोस्रो खेल २०–२५ मिनेट खेले । अहिले नै पूरा खेल्न गाह्रो छ । डरलाई लुकाएर खेल्नेछु । फाइनलमा जति दिन सक्छु, दिन्छु ।’

विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
लामो समयदेखि झापा–११ बाट खेल्दै आएका विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । आइतबार गोल्डकप आयोजक समिति अध्यक्ष विनोद बस्नेतले राईलाई अवार्ड दिने घोषणा गरेका हुन् । उनलाई एक थान मोटरसाइकल दिने बस्नेतले बताए ।