मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २९ आइतबार १७:३१:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

भूपीलाई नयाँ पुस्तासँग चिनाउँदै चिसो एस्ट्रे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २९ आइतबार १७:३१:००

चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ देखि प्रदर्शनमा आउँदै छ। चलचित्र निर्माण टिमले प्रदर्शनको लागि तीव्र तयारी गरिरहेको छ। यसैक्रममा निर्माण टिमले आइतबार काठमाडौंमा सञ्चारकर्मीबीच सो चलचित्रबारे अन्तर्क्रिया गरेको छ। दिन्स पाल्पालीले निर्देशन गरेका चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, सृष्टि श्रेष्ठलगायतका कलाकारहरूको मुख्य भूमिका छ। यो पाल्पालीको डेब्यु फिचर चलचित्र हो। उनले चलचित्रमार्फत काठमाडौं सहरलाई  नयाँ दृष्टिकोणबाट देखाउन खोजिएको बताए।

‘अहिले हामीसँग संसारभरका सबै खालका चलचित्र  हेर्ने पहुँच छ। थुप्रै विदेशी चलचित्र पनि हेरिरहेका हुन्छौँ। तर, त्यस्ता सिनेमाको पात्रले हाम्रो समाजको कथालाई प्रतिनिधित्व गर्दैन’, उनी भन्छन्, ‘यो सिनेमामा हामीले देखिरहेको, भोगिरहेको कथा भेटाउँछौँ। यसमा भएका पात्र र परिवेशहरू हाम्रै समाजका हुन्।’

उनले चलचित्र ‘चिसो एस्ट्रेमार्फत काठमाडौंलाई बिम्बात्मक रूपमा प्रस्तुत गर्न खोजेका छन्। काठमाडौंसँग बेग्लै खालको सम्बन्ध रहेकाले चलचित्रमार्फत कथा भन्न खोजेको उनले बताए। ‘पहिलेदेखि सिनेमामार्फत काठमाडौंको कथा भन्ने इच्छा थियो। काठमाडौं सहरसँग आफ्नै किसिमको कथा  छ। भूपी शेरचनको कविता लिएर यहाँको कथा भन्ने जमर्काे गरेको छु,’ उनले भने।

उनले नेपाली साहित्यलाई पनि चलचित्रको माध्यमबाट अघि बढाउन खोजिरहेको बताए। उनी भन्छन्, ‘भूपी शेरचनलाई नयाँ पुस्ताको माझ लैजाने हाम्रो कोसिस पनि हो। भूपीको कविता अझै पनि समय सान्दर्भिक छ। काठमाडौं आउने अधिकांशले सपना बुनेर आएका हुन्छन्। यो ती युवाहरूको कथा हो।’

कोरोना महामारीले थला बसेको नेपाली चलचित्र उद्योगमा यो चलचित्रले एउटा इँटा थप्ने उनको विश्वास छ। चलचित्रका निर्माता महेशबाबु तिमल्सिनाले सबै वर्गका दर्शकका लागि सुहाउँदो कथावस्तु रहेको सुनाए। ‘चिसो स्ट्रेको यात्रा सात वर्ष लामो छ । यसबीच विभिन्न समस्याहरू भोग्दै आएको छ। यसका बाबजुद फरक स्वाद बोकेर चलचित्र आउँदै छ,’ उनले भने।

आफूले चलचित्रको ठूलो भार बोकेर नेपाली दर्शकमाझ आउन पाउँदा निकै उत्साहित भएको उनले सुनाए। ‘पछिल्ला समय निर्माण भएका अधिकांश नेपाली सिनेमामा हाम्रो समाजको पात्र भेटिँदैनन्। हामीले विदेशी चलचित्रमा पनि आफूभित्रको चरित्र महसुस गर्न पाएका हुँदैनौँ। चिसो स्ट्रेमा भएको पात्र हाम्रो समाजको छ । हाम्रो भोगाइको कथा छ।’

‘चिसो स्ट्रे’मा अभिनेता दिव्यदेवले ‘मदन’को भूमिका निर्वाह गरेका छन्। लामो प्रतिक्षापछि दर्शकमाझ आउन पाउँदा आफू निकै उत्साहित भएको उनले सुनाए। ‘हामीले देखेको र भोगेको कथालाई चलचित्रले गहन रूपमा उठाएको छ। काठमाडौंलाई चिसो एस्ट्रे बनाएका छौँ। तर, काठमाडौं एउटा सुन्दर ठाउँ हो। काठमाडौं आउँदा अधिकांश युवाले भोगेको कथा बोल्छ । मदन एउटा प्रतिनिधि पात्र मात्रै हो,’ उनले भने।

अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्दा आफूले नयाँ अनुभव लिएको बताइन्। ‘मैले शालीनताको भूमिका निभाएकी छु। यो पात्रको भूमिका निर्वाह गर्न पाउनु मेरो लागि अवसर हो। यो टिमसँग काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर मिल्यो। मलाई थप ऊर्जा थपिएको छ। धेरै कुरा सिक्ने अवसर मिलेको छ,’ उनले भनिन्।