१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी
२०७८ फाल्गुण २९ आइतबार १०:५२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

झापा गोल्डकप : फाइनल खेल हेर्न राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी आउने

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २९ आइतबार १०:५२:००

प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्

झापा गोल्डकपको फाइनल खेल हेर्न नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आउने भएका छन् । सोमबार हुने फाइनल खेलमा राष्ट्रिय टोलीका प्रशिक्षक अल्मुताइरी आउने झापा गोल्डकप आयोजक समिति सदस्य सचिन सुब्बाले जानकारी दिए । ‘फाइनलमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी आउनुहुनेछ,’ उनले भने, ‘उहाँको टिकट नै फाइनल भइसक्यो ।’

पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा घरेलु टोली झापा– ११ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । दुवै टिम राष्ट्रिय खेलाडीले भरिभराउ छ । अल्मुताइरीले आफूले प्रशिक्षित गरेका खेलाडीको खेल गोल्डकपमा पनि हेर्नेछन् । झापा गोल्डकपको फाइनलमा आर्मी र झापाको यो चौथो भेट हो । यसअघि तीनवटै भेटमा आर्मीले झापाको उपाधि उचालेको छ । उसले दोस्रो, तेस्रो र चौथो संस्करणको झापा गोल्डकपमा उपाधि उचालेको हो ।

झापा– ११ भने पहिलो संस्करणबाटै उपविजेतामा चित्त बुझाउँदै आएको छ । पहिलो संस्करणमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएर उपविजेता भएको झापा अरू तीन संस्करणमा आर्मीसँग पराजित भएको थियो । यसपटक भने जित्ने रणनीतिले झापा फाइनमा उत्रँदै छ । ‘विगतमा साना गल्तीले झापाले हारेको हो, ’झापाका प्रशिक्षक सन्तोष गुरुङले भने, ‘हामी अब त्यो गल्ती गर्दैनौँ । सुधार गरेर जित्ने रणनीतिले खेल खेल्छौँ ।’

२१ फागुनदेखि सुरु भएको झापा गोल्डकप सोमबार सकिँदै छ । प्रतियोगितामा भारतका दुई टिम, घरेलु टोली झापा– ११ र सातवटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । खेलको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।