मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण २९ आइतबार ०७:५७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप फाइनलमा आर्मी र झापा–११

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २९ आइतबार ०७:५७:००

विमल घर्तीमगर चम्कँदा घरेलु टोली झापा–११ पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा झापाले संकटा क्लबविरुद्ध २–० को जित निकाल्यो । जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।

आर्मीसँग झापा गोल्डकपमा झापा–११ को यो चौथो भेट हो । यसअघिका तीन खेलमा आर्मीसँग झापा निरीह हुँदै उपविजेतामा चित्त बुझाएको थियो । आर्मीले दोस्रो, तेस्रो र चौथो झापा गोल्डकपको उपाधि हात पारेको थियो । पहिलो झापा गोल्डकपमा पनि झापा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । झापा गोल्डकपका लागि घरेलु टोलीको यो पाँचौँ फाइनल यात्रा हो । यसपटक लिग विजेता मच्छिन्द्रका खेलाडीसहित झापा मैदानमा उत्रिएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनलमा झापाका लागि विमल घर्तीमगरले दुई गोल गरे । विमलले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरेका थिए ।

१६औँ मिनेटमा विमलले आन्द्रेस नियाको पासमा गोल गरेका हुन् । फेरि ५८औँ मिनेटमा गोल थप्दै विमलले अग्रतालाई दोब्बर बनाए । उनले विकास मेराग्लियाको क्रसमा बललाई पोस्टको दिशा दिए । सुरुआती समयमै अग्रता लिएको झापाले पहिलो हाफमा खासै मुभ बनाउन सकेन । दोस्रो हाफमा भने झापाले खेललाई आफ्नो नियन्त्रणमा लियो ।

५५औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रिकिक विपक्षी गोलरक्षक रोहित कार्कीले पन्च गरे । ५८औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर फस्ट बारनजिकैबाट बाहिरियो । ८७औँ मिनेटमा झापाका रुमेश बर्तौलाले गोल गर्न सकेनन् । विशाल राईको क्रसमा गोलरक्षकसँग ‘वान भर्सेस वान’ रहेका बर्तौला गोल गर्न चुके । संकटाले अघिल्ला खेलका तुलनामा शनिबार फितलो प्रदर्शन ग¥यो । पहिलो हाफमा अक्रामक भएको उसले बनाएका ‘मुभ’लाई फिनिसिङ गर्न सकेन । 

दोस्रो हाफमा भने संकटाले रक्षात्मक खेल खेल्यो । खेलको १३औँ मिनेटमा संकटाका गणेश हमालले डिबक्सबाट गरेको प्रहार अकासियो । २३औँ मिनेटमा उनकै प्रहार विपक्षी गोलरक्षक दीप कार्कीले पन्च गरे ।३०औँ मिनेटमा झापाका गोलरक्षक दीपक कार्की बिट हुँदा संकटाका यानिकले डिबक्सबाट गरेको प्रहार झापाका विश्वास श्रेष्ठले गोल लाइनबाट बचाए । ३२औँ मिनेटमा मैदानको मध्यभागबाट संकटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले क्रसबारबाट बाहिर पठाए । 

दोस्रो हाफमा संकटाले मुभ बनाउन सकेन । ८१औँ मिनेटमा संकटाका दिपेश आलेमगरले डिबक्सबाट गरेको प्रहार विपक्षी गोलरक्षक दीप कार्कीले बचाए । खेलको अतिरिक्त समयमा संकटाका फोडे फोफोनाको शक्तिशाली विपक्षी गोलरक्षकले उत्कृष्ट बचाउ गरेपछि संकटा गोलविहीन बन्न पुग्यो ।