मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण २८ शनिबार ०८:३८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मी झापा गोल्डकपको उपाधिनजिक

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण २८ शनिबार ०८:३८:००

दुई विदेशी खेलाडीको अभाव हुँदा सातदोबाटोले सेमिफाइनलमा साबिक विजेता आर्मीविरुद्ध राम्रो खेल्न सकेन

साविक विजेता त्रिभुवन आर्मी क्लबले शुक्रबार झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । बिर्तामोर्डस्थित डोमलाल राजवंशी रंगशालामा आर्मीले सातदोबाटो युथ क्लबमाथि ४–१ को जित निकाली अन्तिम दुई स्थान पक्का गरेको हो । आर्मीले यसअघि लगातार तीनपटक झापा गोल्डकपको उपाधि हात पारेको थियो । आर्मीले दोस्रो, तेस्रो र चौथो संस्करण गरी लगातार तीनपटक उपाधि हात पारेको हो ।

आर्मीले चौथोपटक उपाधि उचाल्न शनिबार घरेलु टोली झापा–११ र संकटाबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्मीलाई फाइनलमा पुर्‍याउन टेकबहादुर बुढाथोकीले दुई गोल गरेका थिए । यसैगरी सुमन अर्याल र सन्तोष तामाङले एक–एक गोल गरे । खेलको २७औँ मिनेटमा सुमनले आर्मीलाई १–० को अग्रता दिलाए । सन्तोष तामाङको फ्रिकिकमा उनले गोल गरेका हुन् । 

मध्यान्तरअघि नै बराबरी गोल
गोल खाएपछि दबाबमा परेको सातदोबाटोले मध्यान्तरको अतिरिक्त समयमा बराबरी गोल फर्काउन सफल भयो । दीपकराजसिंह ठकुरीले सातदोबाटोलाई १–१ को स्थितिमा ल्याएका हुन् । उनले सुशील राईको पासमा गोल गरेका थिए । मध्यान्तरपछि सातदोबाटोले सम्हालिएर खेल्न सकेन । आर्मीले खेलको रणनीति परिवर्तन गर्दै दोस्रो हाफको अधिकांश समयमा सातदोबाटोलाई दबाबमा राख्यो । दोस्रो हाफमा आर्मीले थप तीन गोल गर्‍यो । ६०औँ मिनेटमा आर्मीका लागि सन्तोषले २–१ को अग्रता दिलाए । डिबक्सभित्र गौतम श्रेष्ठबाट रिवाउन्डमा सन्तोषले सहजै गोल गरे ।

आर्मीले ८० औँ मिनेटमा अग्रतालाई फराकिलो बनायो । नवयुग श्रेष्ठको हेडिङमा टेकबहादुर बुढाथोकीले गोल गर्दै खेललाई ३–१ को अन्तरमा पुर्‍याए । ८४ औँ मिनेटमा टेकबहादुरले अर्को गोल थपे । कमलबहादुर थापाको क्रसमा उनले व्यक्तिगत दोस्रो गोल थप्दा आर्मी ४–१ ले विजयी भयो । स्टार खेलाडी गुमाएको सातदोबाटो खेलमा फर्कन निकै कसरत गर्‍यो । खेलमा दुई विदेशी स्टार खेलाडी गुमाएको सातदोबाटो निकै कमजोर देखियो । प्रिक्वार्टर र क्वार्टरफाइनलमा दुईवटा पहेँलो कार्ड बेहोरेको सातदोबाटोका मार्टिन सिलोले आर्मीसँगको खेल खेल्न पाएनन् ।

स्टार खेलाडीको अभाव
खेलको ३५औँ मिनेटमा सातदोबाटोले अर्का स्टार स्ट्राइकर अजयी मार्टिन घाइते भए । घाइते हुँदै मार्टिन बाहिरिँदा सातदोबाटो खेलमा कमजोर देखिएको हो । सेमिफाइनलमा यी दुवै स्टार खेलाडीको अभाव सातदोबाटोमा देखियो । जसले गर्दा सातदोबाटोको फिनिसिङ लाइन निकै कमजोर हुन पुग्यो । खेलको ५३ मिनेटमा सातदोबाटोका छरिता स्ट्राइकर सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरी क्लियर गरे । सुरुदेखि नै डिफन्सलाई बलियो बनाउँदै आर्मीले आक्रमक खेल खेल्यो । आर्मीले मौका पनि सिर्जना गर्‍यो । खेलको छैटौँ मिनेटमा आर्मीका दीपक गुरुङको प्रहार क्रसबारमाथि गयो । 

२५औँ मिनेटमा टंक बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले डिबक्समा गरेको हेडिङ गोल प्रयाासलाई सातदोबाटोका गोलरक्षक अभिषेक बरालले पञ्च गरे । ४१औँ मिनेटमा टंक बस्नेतले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । शुक्रबारको खेलमा चारवटा पहेँलो कार्ड देखाइयो । सातदोबाटोका तीन र आर्मीका एक खेलाडीले पहेँलो कार्ड पाए । शुक्रबारको खेलको म्यान अफ दी म्याच भएका सन्तोष तामाङले नौ  हजार नौ सय ९९ रुपैयाँ पाए । 

खेलाडी घाइते हुँदा गाह्रो भयो : उज्ज्वल मानन्धर, प्रशिक्षक, सातदोबाटो 
खेलाडी घाइते भएर नै समस्या भयो । अर्को कुरा कार्डले गर्दा खेल्न सकेनौँ । मार्टिन कार्डका कारण सेमिफाइनल खेल्न सकेनन् । एक गोल खाएपछि दबाब हुन्छ, त्यो अपेक्षित नै हो । हामीले राम्रो खेलेको हो । खेलाडी घाइते हुँदा साह्रै गाह्रो भयो । रेफ्रीको कतिपय निर्णय तपाईं–हामीले देख्यौँ । रेफ्रीको विषयमा नेपालमा नबोलेकै राम्रो ।

सेमिफाइनल राम्रो भयो : नवीन न्यौपाने, प्रशिक्षक त्रिभुवन आर्मी
यो खेलमा सोचेभन्दा धेरै स्कोर निकालियो । सातदोबाटोको क्वार्टरफाइनल खेल र यो खेल हेर्दा धेरै बलियो थियो । पहिलो हाफमा धेरै मौका बनाए पनि सदुपयोग गर्न सकेनौँ । हाम्रो डिफेन्स अर्गनाइज भइरहेको थियो । पहिलो हाफमा निकालेको स्कोर कायम राख्न सकेनौँ । त्यसपछि दबाब बन्यो । तर, खेलाडीले रणनीति क्वार्टरफाइनभन्दा सेमिफाइनल राम्रो भयो । सातदोबाटोको अजयी मार्टिन घाइते भएर निस्किएपछि हामीलाई सहज भयो । सातदोबाटोको मुख्य हतियार नै मार्टिन र पिटर हो । लिगमा पनि उनीहरूको उच्च प्रदर्शन थियो ।