१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण २८ शनिबार ०७:५२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोस्रोपटक उपाधि  जित्ने दाउमा मनाङ

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २८ शनिबार ०७:५२:००

सर्वाधिक धनराशि पुरस्कार रहेको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खप्तड गोल्डकपको पहिलो संस्करणको च्याम्पियन मनाङ यसपटक दोस्रोपटक उपाधि उचाल्ने दाउमा छ । खप्तड गोल्डकपमा लगातार सहभागिता जनाउँदै आएको मनाङले पहिलो संस्करणपछि लगातार तीनपटक उपाधिविहीन रह्यो । फ्रेन्ड्स भने पहिलोपटकको प्रयासमै मनाङलाई स्तब्ध पार्दै उपाधि जित्ने पक्षमा छ । मनाङका कप्तान अञ्जन विष्टले आफूहरू जितका लागि मैदान उत्रने बताए । फाइनलमा कुनै दबाब नभएको पनि उनले बताए । 

मनाङका कप्तान विष्टले नकआउट प्रतियोगिताका सबै खेल फाइनलजस्तै भएको प्रतिक्रिया दिएका छन् । ‘‘नकआउट प्रतियोगिताको सबै खेल फाइनलजस्तै रूपमा हो,’ विष्टले भने, ‘हामीलाई दर्शकको पनि साथ छ र फाइनल जित्छौँ ।’ फाइनल अघिल्लो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विष्टले लिग र नकआउट फरक भएको जनाए । ‘नकआउट खेलमा हारपछि नै घर फर्कनु पर्छ, लिगमा फर्कने अवसर पाउन सकिन्छ, यसकारण नै नकआउटमा एकपटक हारेपछि नै प्रतियोगिता सकिन्छ,’ उनले भने, ‘त्यही भएर फाइनल जित्ने गरी उत्कृष्ट फुटबल खेल्छौँ ।’ 

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खप्तड गोल्डकपको उपाधि जिते लिगमा भोगेको नतिजामा केही राहत हुने बताए । खेलाडीलाई केही दिन आराम मिलेकाले पनि फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने बताए । ‘टोलीमा केही फरक र उतारचढाव परेको छ, खेलाडीहरूको कम्बिनेसन राम्रो भएको छ,’ मनाङका प्रशिक्षक तामाङले भने, ‘खेलाडीहरूले आराम पनि पाउँदा हामीलाई फाइदा पुगेको छ ।’ 

पहिलोपटकको प्रयासमै फ्रेन्ड्सललाई फाइनल पुर्‍याएका प्रशिक्षक मृगेन्द्र मिश्रले उपाधि जित्न कडा मिहिनेत गरेको बताए । ‘मनाङ बलियो टोली हो, अहिले फ्रेन्ड्स पनि राम्रो छ,’ मिश्रले भने, ‘फाइनलमा जसले गोल गर्छ त्यही टिमले जित्छ ।’ फुटबलको नतिजा अगाडि नै भन्न नसकिने उनको भनाइ छ ।  ‘फुटबलको रिजल्ट खेलेपछि थाहा हुन्छ, खेलाडीहरू पनि थपेका छौँ, फाइनलको अब्बल खेल हुन्छ ।’ उनले दर्शकको समर्थनको पनि आशा गरेको बताए । काठमाडौंमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा मनाङले फ्रेन्ड्सलाई हराएको थियो । खप्तड गोल्डकपको सेमिफाइनलमा फ्रेन्ड्सले बागमती युथ क्लबलाई निराश पारेको थियो । मनाङले हिमालयन शेर्पालाई हराएको थियो । 

सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख हात पार्नेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, उदयमान खेलाडी र फेयर प्ले टिमले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।