१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार १४:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एमसिसीको टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार १४:०१:००

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिन सक्ने बताए।

अमेरिकी कानुनले एमसिसीलाई अन्तर्राष्ट्रियस्तरमा टेन्डर गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए। ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेन्डर हुन्छ। नेपालकाले पनि हिम्मत गरे हुन्छ। यो एमसिसीको बिडिङमा सफल हुनुस्। सबैभन्दा पहिले हामी खुसी हुनेछौँ। अन्तर्राष्ट्रिय बिडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ, अमेरिकन कानुनले अन्तर्राष्ट्रिय बिडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन्। चीनका होऊन्, भारतका होऊन्, नेपालकै हुन सक्छन्,’ प्रधानमन्त्री देउवाले भने।

उनले निर्माण व्यवसायलाई सहज बनाउन खरिद नियमावलीको ११औँ संशोधन गरिएको स्पष्ट पारे। विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायीमाथि प्रश्न उठ्ने गरेको भन्दै उनले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरूसँग छलफल गर्न तयार रहेको पनि बताए।