मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७५ फाल्गुण २७ सोमबार ०६:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

तातोपानी नाका वैशाखभित्रै सञ्चालन गर्ने चीनको तयारी

तिब्बत सरकारको इन्फर्मेसन डिपार्टका प्रतिनिधि ज्याङ वेन जीद्वारा तातोपानी नाका अवलोकन

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण २७ सोमबार ०६:५१:००

चार वर्षअघि गएको भूकम्पले क्षति पुगेपछि बन्द भएको तातोपानी नाका आगामी वैशाखभित्र खोल्ने चीन सरकारको तयारी छ । सोहीअनुसार लार्चास्थित सुक्खा बन्दरगाह, चीन जोड्ने कोदारी राजमार्ग र क्षतिग्रस्त मितेरी पुल वैशाखभित्रै पुनर्निर्माण सक्ने लक्ष्य चिनियाँ रेल वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड र तियान सुन रोड एन्ड ब्रिज कम्पनीको छ । तर, नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकले चीनविरोधी गतिविधि गरे तातोपानी नाका सञ्चालनमा असर पर्ने चीनका एक सरकारी अधिकारीले बताए ।

चीन स्वशासित तिब्बतको सरकारको इन्फरमेसन डिपार्टका प्रतिनिधि ज्याङ वेन जीले तातोपानी नाकाको भ्रमण गरेका हुन् । ‘चीन–नेपालबीच पुरानो र असल छिमेकको सम्बन्ध भएकाले हामीले नेपालको विभिन्न नाकाबाट व्यापार गर्दै आएका छौँ,’ उनले भने, ‘तर, स्वतन्त्र तिब्बत गतिविधि बढेमा नाकाको सुरक्षाबारे सोच्नुपर्ने हुन सक्छ ।’ १० मार्च आसपास तिब्बती शरणार्थीले चीनविरोधी गतिविधि गर्न लागेको सूचाना पाएकाले तातोपानी नाका अवलोकन गर्न आएको उनले स्पष्ट पारेको जनाइएको छ । 

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरमा समेत तिब्बती शरणार्थी रहेको जानकारी पाएको उनले बताएका थिए । उनले भने, ‘तिनीहरूको गतिविधि चीनविरोधी रहेको मैले सूचना पाएको छु ।’ भूकम्पअघि तातोपानीको लिपिङडाँडामा बस्ने तिब्बती शरणार्थी अहिले बाह्रबिसे नगरपालिकाको मान्द्रामा बस्छन् । दुई सय शरणार्थी आनी लिस्तीको छगाम आनी गुम्बामा बस्दै आएका छन् । काठमाडौं, पोखरा, सिन्धुपाल्चोक र तिब्बत सीमासँग जोडिएका जिल्लामा तिब्बती शरणार्थीले गतिविधि गर्ने गरेको उनको भनाइ थियो । नेपाल सरकार यो विषयमा जानकार भएपनि लुकीछिपी गतिविधि गराउन पश्चिमा शक्ति लागिपरेको उनको आरोप थियो । 

‘वैशाखदेखि  नाका खोल्दै छौँ’
ज्याङ वेन जीले आगामी वैशाखदेखि चीन सरकारले तातोपानी नाका खोल्ने सो क्रममा पनि दोहो-याए । जीले भने, ‘तर, चीनविरोधी गतिविधि देखापरे हामी सोच्न बाध्य हुनेछौँ ।’ भूकम्पलगत्तै आएको चिनियाँ अधिकारीले तातोपानी क्षेत्रका घरका भग्नावशेषमा चीनविरोधी सामग्री फेला पारेको थियो । नाका सञ्चालनका लागि सीमामा हुन सक्ने स्वतन्त्र तिब्बत गतिविधि र तस्करी रोक्नेबारे तिब्बत सरकार र सिन्धुपाल्चोक प्रशासनबीच पटकपटक छलफल भएको थियो । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले चीनविरोधी गतिविधि रोक्न तिब्बत सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । ‘वैशाखभित्र नाका खोल्ने तयारीमा रहेको जानकारी हामीले पनि पाएका छौँ,’ उनले भने, ‘नेपाल सरकारको एक चीन नीतिअनुसार हामी र तिब्बत सरकारबीच सीमा सुरक्षा विषयमा सहकार्य हुन्छ ।’ स्वतन्त्र तिब्बत गतिविधि रोक्न गृहबाट निर्देशन भएको पनि उनले जानकारी दिए ।