Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार ११:५७:००
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनए अध्यक्षमा केसी र थापाले दिए उम्मेदवारी, पाँचौँपटक सर्‍यो निर्वाचन मिति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार ११:५७:००

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशन तथा निर्वाचनको मिति पाँचौँपटक सरेको छ।  संघले मंगलबार सूचना जारी गर्दै मार्च २४ र २५ मा महाधिवेशन गर्ने जानकारी गराएको हो।  

यसअघि मार्च २१ र २२ गते निर्वाचनको मिति तय गरिएको हो।  तर, अध्यक्षका प्रत्याशी कुल आचार्य र संघका वर्तमान उपाध्यक्ष सोनाम लामाले निर्वाचनका विषयमा संस्थापन पक्षले गरेको निर्णयको विरोध गरेका छन्।  संघका सल्लाहकारसमेत रहेका आचार्यले एकलौटी तरिकाले तोकिएको निर्वाचनको मिति मान्य नहुने बताएका छन्।  

मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘यो संस्था सबैको हो।  हामी सबै एउटै परिवार भएर बसेकोमा सानो समूहले आफ्नो स्वार्थका लागि यसलाई प्रयोग गर्दै आएको खुलासा भइसकेको छ।  सहनुको पनि एउटा सीमा हुन्छ।  अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नुपर्ने वेला आएको छ।  म सबै साथीलाई एकढिक्का हुन र संस्थाको हितका लागि जस्तोसुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल गर्छु। ’ 

त्यस्तै, संघका उपाध्यक्ष सोनाम लामाले एकपक्षीय रूपमा गराइने चुनाव मान्य नहुने बताएका छन्।  लामाले पनि मंगलबार फेसबुकमार्फत प्रतिनिधि विवाद समाधान नगरी गराइने चुनाव मान्य नहुने बताएका छन्।  

मंगलबारसम्म अध्यक्षमा दुईजनाको उम्मेदवारी 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि डा. बद्री केसी र रबिना थापाले उम्मेदवारी दर्ता गराएका छन्।  संघको १०औँ महाधिवेशनका लागि सोमबारदेखि खुला गरेको उम्मेदवारी दर्ता मंगलबार पाँच बजेसम्म समय तोकिएको थियो।  तर, संघभित्रको विवादका कारण उम्मेदवारीका लागि तीन दिन थपिएको समितिले जनाएको छ।  शुक्रबारसम्म उम्मेदवारी दिन सकिनेछ।  संघको उपाध्यक्षमा धर्मराज अधिकारी र महासचिवका लागि अमेरिकाबाट गौरीराज जोशी तथा युकेबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।  

निर्वाचनबाट ६० पदाधिकारी मनोनयन गरिने
संघको अध्यक्षसहित ६० पदाधिकारीका लागि मनोनयन हुन लागेको हो।  अध्यक्ष एक, उपाध्यक्ष ६ (एक महिला र एक युवा अनिवार्य), महासचिव एक, सचिव चार (एक महिला अनिवार्य), कोषाध्यक्ष एक, सहकोषाध्यक्ष दुई (एक महिला अनिवार्य), महिला संयोजक र युवा संयोजक एक–एक, क्षेत्रीय संयोजक ६ (प्रत्येक क्षेत्रमा १  जना), क्षेत्रीय उपसंयोजक १३, क्षेत्रीय महिला–क्षेत्रीय युवा संयोजकमा ६–६, क्षेत्रीय महिला उपसंयोजक–क्षेत्रीय युवा उपसंयोजक ६–६ पदमा मनोनयन हुन लागेको हो।  

अध्यक्षको  उम्मेदवारले १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।  उपाध्यक्षले सात लाख, महासचिवले ६ लाख, सचिवले पाँच लाख, कोषाध्यक्षले पनि पाँच लाख, सहकोषाध्यक्षले चार लाख, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजकले तीन लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ।  त्यस्तै, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ भने क्षेत्रीय महिला उपसंयोजक र क्षेत्रीय युवा उपसंयोजकका लागि दुई लाख रुपैयाँ तोकिएको छ।  निर्वाचित आइसिसीले भने शपथग्रहणअगाडि एक लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ।  

उम्मेदारले संघलाई कुनै दस्तुर, शुल्क, बक्यौता तिर्न बाँकी नरहेको हुनुपर्नेछ।  निर्वाचन समितिले सोमबार तीन हजार पाँच सय ९० जनाको सूची सार्वजनिक गरेको छ।