मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण २३ सोमबार १२:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुक्खा मौसम सुरु भएसँगै रसुवामा डढेलो सुरु

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २३ सोमबार १२:१९:००

सुक्खा मौसम सुरु भएसँगै रसुवाका वनमा डढेलो लाग्न सुरु भएको छ। शनिबारदेखि जिल्लाको लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रलगायतका वनमा डढेलो लाग्न सुरु भएको हो। 

वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका– १ रोंगादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि वन डढेलो सुरु भएको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले जानकारी दिए। ‘रोंगामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको छ,’ उनले भने, ‘सुकेको खरघाँसमा आगलागी भएर सुरु भएको हो। दाहालफेदी सामुदायिक वन र नागथलीको लेकको जंगलमा आगलागी भएको छ।’ हावा चलेकाले आगो नियन्त्रणमा ल्याउन समस्या भएको उनले बताए। यद्यपि, लेकमा हिउँ पग्लिनसकेको र ओसिलो भएकाले आगो केही कम हुँदै गएको छ।

त्यसैगरी, गाउँपालिकाको वडा नम्बर २ को खैदीस्थित जंगलमा पनि गएरातिदेखि डढेलो लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए। वन र निकुञ्ज क्षेत्रका भिरपाखामा लागेको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन। डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ खटिएको सेना, निकुञ्जका कर्मचारी र वन क्षेत्रका कर्मचारी खटिएका छन्। भिरपाखामा  लागेको डढेलो नियन्त्रण गर्न कठिन हुने गरेको छ। डढेलो नियन्त्रणका लागि आवश्यक स्रोत–साधनसमेत नहुँदा समस्या रहेको छ।

यो वर्षको सुक्खायाम सुरु भएसँगै शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख रेग्मीले जानकारी दिए। त्यसमध्ये निकुञ्ज क्षेत्रको करिब १० हेक्टर जंगलमा आगलागी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए।

वनजंगलमा लागेको आगो मावनबस्तीभन्दा टाढा छ। सुक्खा मौसम सुरु भएसँगै रसुवाको वनजंगलमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ। रसुवामा ०७७ साउन देखि ०७८ असारसम्म एक वर्षको अवधिमा दुई हजार आठ सय ३५ हेक्टर क्षेत्रमा डढेलो लागेको छ। डिभिजन वन कार्यालयको २५ सय हेक्टर र लाङटाङ राष्ट्रिय निकुञ्जको तीन सय ३५ हेक्टर क्षेत्रमा डडेलो लागेको तथ्यांक रहेको छ। हरेक वर्ष फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको छ।

सुक्खा मौसम सुरु भएसँगै सञ्चारमाध्यमबाट डढेलोसम्बन्धी सूचना प्रचारप्रसार, गोष्ठी, अन्तर्क्रियालगायतका विविध गतिविधिहरू हुने गरेको छ। तर, डढेलो लाग्ने क्रम भने घटेको छैन।