१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ फाल्गुण २३ सोमबार १०:४२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भूकम्प र कोरोनाले ढालेको रसुवाको पर्यटन क्षेत्र उठ्नै सकेन

भूकम्प तथा कोरोनाका कारण व्यवसाय धराशायी भएसँगै सदरमुकाम धुन्चे, स्याफ्रु, क्यान्जिङ, थुमन, गतलाङ, टिमुरे, तातोपानीका व्यवसायी अन्यत्र पलायन

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण २३ सोमबार १०:४२:००

०७२ सालको विनाशकारी भूकम्पपछि तंग्रिँदै गरेका नेपालका पर्यटकीय क्षेत्रमाथि कोरोना महामारी बज्रिएको छ । भूकम्प र लामो समयको परकम्पबाट थिलथिलो भएका पर्यटन व्यवसायी उठ्ने कोसिस गर्दै थिए । तर, उनीहरू उठ्ने प्रयासलाई कोरोना महामारीले फेरि धकेलिदिएको छ । जसका कारण प्रमुख पर्यटकीय गन्तव्यसहित अन्य गन्तव्यस्थल उठ्नै सकेका छैनन् । 

महामारीका कारण विदेशी पर्यटकले खचाखच हुने देशका पर्यटकीय गन्तव्य सुनसान छन् । पर्यटनमै निर्भर स्थानीय उद्यमी र व्यवसायी पनि वैकल्पिक पेसाको खोजीमा छन् । ‘विनाशकारी भूकम्पअघिसम्म यहाँका पर्यटकीय गन्तव्य भरिभराउ हुन्थे,’ लाङटाङका होटेल व्यवसायी दिण्डुप तामाङ सम्झन्छन्, ‘भूकम्पले गाउँबजारलाई बगरमा परिणत गरिदियो, हामी सबैको आर्थिक अवस्था जर्जर बनाइदियो ।’ अन्य क्षेत्रमा जस्तै भूकम्पले हिमाली जिल्ला रसुवाका पनि थुप्रै पर्यटकीय गन्तव्यमा क्षति पुर्‍यायो । पर्यटन व्यवसायमै आश्रित रसुवा सदरमुकाम धुन्चेका साथै स्याफ्रुबेँसी, ठूलो स्याफ्रु, लाङटाङ, गोसाइँकुण्ड, बृद्धिम, थुमन, गतलाङलगायतका क्षेत्रका बासिन्दा पनि पर्यटकको आगमन ठप्प भएसँगै सुनसान र निराश अवस्थामा पुगे । रसुवाजस्तै अन्य स्थानका पनि सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रमा हुने पर्यटनसँगै हिमाल आरोहण र पदयात्रा क्षेत्रको पर्यटन व्यवसायले समेत एउटै नियति व्यहोर्न बाध्य भयो ।

भूकम्पपछि बिस्तारै उठ्दै गरेको पर्यटन क्षेत्र कोरोना महामारीको मारमा परेको छ । ‘लाङटाङ कस्तो भएछ भनेर विदेशी पर्यटक हेर्न आउन थालेका थिए,’लाङटाङका होटेल व्यवसायी तामाङ स्मरण गर्छन्, ‘त्यतिवेला त अब हाम्रो व्यवसाय भूकम्पअघिकै अवस्थामा फर्किन्छ कि भन्ने आस पलाएको थियो, तर कोरोना आइहाल्यो, अनि त पर्यटक आउन फेरि ठप्पै भयो ।’

 हिमालजस्तै चुलिँदै ऋण
पर्यटक नआउनुको प्रभाव अनेक परेका छन् । भूकम्पअघिसम्म पर्यटकको आगमनअनुसार व्यवसाय बढाउन कतिपय व्यवसायीले बैंकबाट कर्जा लिएर लगानी गरेका थिए । व्यवसाय नै ठप्प हुँदा बंैकको कर्जा तिर्ने काम धेरैका लागि लाङटाङ हिमालजस्तै अग्लो भएको छ । पर्यटक बढेको देखेर भूकम्पअघि व्यवसाय बढाउन बैंकबाट ५० लाख ऋण लिएर होटेलमा लगाएका स्याफ्रुबेँसीका होटेल व्यवसायी लाक्पा तामाङले यो ऋण चुक्ता गर्न सकेका छैनन् । ‘पेसा नै यो भएपछि छोड्न नमिल्ने, अरू व्यवसाय गर्नलाई लगानी चाहियो,’ उनी दुःख सुनाउँछन्, ‘अबचाहिँ राम्रो हुन्छ कि भनेर बस्यो, तर कहिले हुने हो थाहा छैन । तेस्रो लहरसम्म त कोरोना पनि आइसक्यो, अब फेरि चौथो होला, बेहाल छ, अब कसरी के गर्ने भन्ने तनाव भइरहेको छ ।’

 भाडा लिएर व्यवसाय गर्ने पलायन
पर्यटकीय क्षेत्रहरूमा भाडामा होटेल व्यवसाय गरिरहेका व्यवसायीहरू पर्यटक आगमन ठप्प भएसँगै व्यवसायबाट पलायन नै भएका छन् । रसुवा होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलका अनुसार कोरोना महामारीअघिसम्म जिल्लाका पर्यटकीय क्षेत्रहरूमा करिब तीन सय होटेल व्यवसाय थिए । अहिले दुई सय ८० वटा होटेल मात्र सञ्चालनमा छन् । सञ्चालित होटेलहरू ५० देखि दुई सयजना अट्ने क्षमताका छन् । २५ भन्दा बढी व्यवसायी व्यवसाय छोेडेर पलायन भएको उनी बताउँछन् । भूकम्प तथा कोरोनाका कारण व्यवसाय धराशायी भएसँगै सदरमुकाम धुन्चे, स्याफ्रु, क्यान्जिङ, थुमन, गतलाङ, टिमुरे, तातोपानीका व्यवसायी अन्यन्त्र पलायन भएको उनी बताउँछन् ।

 निकुञ्जलाई राजस्व तिर्नै सकेनन्
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र होटेल व्यवसाय गर्दै आएका व्यवसायीहरू थप मारमा परेका छन् । कोरोनाअघिसम्म निकुञ्जलाई राजस्व बुझाउँदै आएका व्यवसायीहरूले कोरोना महामारीपछि राजस्व तिर्न सकेका छैनन् । निकुञ्ज क्षेत्रभित्र ५१ वटा होटेल, लज तथा चिया पसल सञ्चालनमा छन् । उनीहरूले ग्रेडअनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउनुपर्छ । निकुञ्जका अनुसार ‘क’ वर्गका होटेलले एक लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘गण्’ वर्गकाले ६० हजार र ‘घ’ वर्गकाले २० हजार रुपैयाँ वार्षिक राजस्व तिर्नुपर्छ । चारै वर्गका होटेल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जाने व्यवस्था छ ।

भूकम्प जानुअघि निकुञ्ज क्षेत्रभित्र ५५ वटा होटेल थिए । भूकम्पपश्चात् निकुञ्जले चारवटा होटेलको सम्झौता रद्द गरेको थियो । लाङटाङ रुटमा २२, गोसाइँकुण्ड रुटमा १३ र ठाडेपाटी रुटमा १६ वटा होटेल छन् । होटेल व्यवसाय ठप्प हुँदा कोरोना  महामारीपश्चात् निकुञ्जलाई बुझाउनुपर्ने राजस्व बुझाउन नसकिएको गोसाइँकुण्ड रुटका होटेल व्यवसायी दोर्जे लामा बताउँछन् ।

 पर्यटनसँग जोडिएका सबै व्यवसाय ठप्प
पर्यटन व्यवसायीहरू त स्वाभाविक रूपमा यही व्यवसायमा आश्रित हुने नै भए । पर्यटकको आगमन नै नभएपछि पर्यटन व्यवसायी मात्र नभएर पर्यटनसँग अप्रत्यक्ष जोडिएका अन्य स्थानीय व्यवसाय पनि ठप्प भएका छन् । ‘पर्यटक आउँदा, बस्दा, घुम्दा होटेल व्यवसायी, चिया पसल, कृषकले कुनै न कुनै रूपमा फाइदा लिइरहेका थियौँ,’ उनी भन्छन्, ‘अहिले त मान्छे नै आउँदैनन्, हामी सबै मर्कामा परेका छौँ ।’

कोरोना महामारीका कारण नेपालमा ८० प्रतिशत पर्यटक घटेको राष्ट्रिय तथ्यांक छ । कोरोना महामारीपश्चात् विदेशी पर्यटकको आगमन शून्यजस्तै रहेको स्याफ्रुबेँसीका होटेल व्यवसायी लाक्पा तामाङ बताउँछन् । ‘विदेशी पर्यटक त कोरोनापछि शून्यजस्तै हो, दिनमा दुई सयभन्दा बढी पर्यटक देखिन्थे,’ उनी भन्छन्, ‘अहिले त कहिलेकाहीँ फाट्टफुट्टट देखिएको छ, पहिलाको तुलनामा एक प्रतिशत पनि छैन ।’

भूकम्पपछि पनि कहिले महामारी र लकडाउनको डरका कारण पर्यटक आगमन ८० प्रतिशत कमी आउँदा पर्यटनलाई नै मूल पेसा बनाएका व्यवसायीहरू चरम आर्थिक मारमा परे । कोरोना महामारीपछि विदेशी पर्यटक नै नदेखेको जिल्लाको पर्यटकीय क्षेत्र नागथलीकी होटेल व्यवसायी याङ्जेन तामाङ्नी सुनाउँछिन् । ‘भूकम्पअघिसम्म त विदेशी आइरहेका थिए, भूकम्पपछि पनि केही समय त फाट्टफुट्ट देखिन्थे, दुई वर्षभन्दा बढी भयो, विदेशी त देखेकै छैन,’ उनी भन्छिन् ।