Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
महोत्सवको पहिलो दिन नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग साहित्यवार्ता गर्दै पत्रकार राजेन्द्र बानियाँ ।
२०७८ फाल्गुण २० शुक्रबार १०:५२:००
Read Time : > 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

साहित्यमय धनगढी

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २० शुक्रबार १०:५२:००

एमाले महासचिव शंकर पोखरेल भन्छन्– साहित्यमा समाज बदल्ने तागत हुन्छ । जागरणको आवाज हुन्छ । समाजलाई बुझ्न सिकाउँछ ।

भनिन्छ, साहित्य समाजको दर्पण हो । समाज जस्तो छ, साहित्य त्यही रूपमा व्यक्त हुन्छ । साहित्यमा राजनीतिक प्रभाव र अन्तरसम्बन्धको चर्चा पनि साहित्यिक जमघटहरूमा वेलावेला हुने गर्छ । धनगढीमा सुरु भएको नेपाली साहित्य महोत्सवमा पनि यो विषय अछुतो रहेन । समाज, साहित्य र राजनीतिको अन्तरसम्बन्धबारे रोचक चर्चा भयो । बहसका वक्ता थिए– एमाले महासचिव शंकर पोखरेल ।

‘समाजको संरचना, पद्धतिका आधारमा साहित्यको अभिव्यक्ति हुन्छ । साहित्य र राजनीतिको जन्म समाजबाटै हुन्छ । त्यसैले यी अन्तरसम्बन्धित हुन्छन् ।’ बहसको सुरुमै पोखरेलले भने, ‘राजनीति र साहित्य छुट्टिन नसक्ने विधा हुन् ।’ त्यसो भए राजनीतिले साहित्यलाई गर्ने व्यवहार चित्तबुझ्दो छ त ? बहसको सहजीकरण गरिरहेका पत्रकार राजेन्द्र बानियाँको प्रश्नमा पोखरेलले राजनीति सही दिशामा हिँडोस् भन्ने आफूले पनि चाहेको बताए ।

समाजको ऐना देखाउने मात्र नभई समाजको चित्र बदल्ने तागत साहित्यमा हुनुपर्ने उनको भनाइ थियो । पोखरेलले साहित्य समाजको ऐना भएको बताए । त्यसो भए ऐना हेर्दा अनुहार बदल्ने कि ऐना ? राजनीतिले समाज रूपान्तरण गर्न नसकेको व्यङ्ग्यात्मक प्रश्नमा पोखरेलले राजनीति र साहित्य दुवैको उद्देश्य समाज परिवर्तन भएको बताए । साहित्य जति समृद्ध हुन्छ समाज त्यति नै बलियो हुने उनको विचार थियो ।

‘समाज बदल्ने तागत साहित्यमा पनि हुन्छ । साहित्यमा जागरणको आवाज हुन्छ । साहित्यले समाजलाई बुझ्न सिकाउँछ,’ उनको भनाइ थियो, ‘राजनीतिका माध्यमबाट समाज बदल्ने काम राजनीतिले गर्छ ।’ पोखरेलले आफूले बुझेको समाज, साहित्य र राजनीतिबारे करिब एक घन्टा व्याख्या गरे । राजनीति र साहित्य दुवैको अन्तर्य एउटै रहेको उनले बताए ।
नेपाली साहित्य कुन गतिमा छ ? पोखरेलले घुमाउरो उत्तर दिए, ‘सबै असलैअसल भए समाज विकासको प्रक्रिया नै रोकिन्छ ।’ उनले राजनीतिमा पनि समस्या रहेको स्वीकारे । मुलुकमा भएका राजनीतिक परिवर्तनलाई सही बाटोमा डो¥याउन नसक्दा सबैतिर अराजकता देखिएको उनले बताए ।

सिर्जनामा मित्रताको ऊर्जाको चर्चा
अर्को सेसनमा साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठले सिर्जनामा मित्रताको ऊर्जाबारे चर्चा गरे । दुवैजनाले बालापनदेखिको आफ्नो मित्रताको चर्चा गरे । सरुभक्तले रचना गर्दा कुनै प्रसंगमा छलफल हुनु स्वाभाविक भए पनि मूलभूत रूपमा सिर्जनामा साहित्यकार एक्लो हुने बताए । साहित्यकारले आ–आफ्नो रुचिअनुसार विधा चयन गर्ने अधिकार रहेको र रुचि बदल्न नसकिने उनले बताए । श्रेष्ठले सरुभक्तसँगै हिउँ खेल्न जाँदा हिउँमा नाम लेखेको प्रसंगमा ‘हिउँमा लेखिएको नाम’ कविता सिर्जनाको सन्दर्भ सुनाए ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको नेपाली साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ । ‘साहित्य महोत्सव सुदूरपश्चिमलाई माथि उठाउने अभियान हो ।’ समाजका अध्यक्ष रामलाल जोशीले भने, ‘यहाँको कला, संस्कृति, चिनारीलाई देशव्यापी बनाउने अभियानमा हामी छौँ ।’ 

सम्मेलनमा प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा.धु्रवचन्द्र गौतम, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. प्रेमकुमार खत्री, डा. महादेव अवस्थी, नारायण ढकाल, नयनराज पाण्डेय, उमा सुवेदी, सनत रेग्मीलगायत भाषा, साहित्य क्षेत्रका दिग्गज व्यक्तित्वको सहभागिता रहेको छ । महोत्सव बिहीबार सुरु भएर शनिबार समापन हुँदै छ ।