मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विजयराज खनाल काठमाडाैं
२०७८ फाल्गुण २० शुक्रबार १०:४६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

फरक बैंकको एटिएम प्रयोग गर्दा प्रत्येकपटक १० रुपैयाँ बिदेसिन्छ, २१ महिनामा ४० करोड बाहिरियो  

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ फाल्गुण २० शुक्रबार १०:४६:००

२१ महिनामा करिब चार करोड ६ लाखपटक अन्तरबैंक एटिएम कारोबार भएको छ । अन्तरबैंकको एटिएम प्रयोग गर्दा ग्राहकले महिनामा दुईपटक शुल्क तिर्नुपर्दैन । त्यसपछि प्रत्येकपटक २० रुपैयाँ शुल्क तिर्नुपर्छ । 

एटिएम मेसिन प्रयोग र बाहिरिएको रकम  
- ०७७ वैशाखदेखि ०७८ पुससम्म एटिएम प्रयोग संख्या : १३ करोड ५५ लाख
- अफअस कारोबार प्रयोग : ४ करोड ६ लाख
- बाहिरिएको रकम  : ४० करोड ६५ लाख रुपैयाँ

अन्तरबैंक एटिएमबाट ग्राहकले पैसा निकाल्दा पछिल्लो २१ महिनामा देशबाट करिब ४० करोड रुपैयाँ बाहिरिएको छ । फरक बैंकको एटिएम प्रयोग गर्दा प्रत्येक कारोबारबापत १० रुपैयाँ कार्ड निर्माता कम्पनीले पाउने गर्छ । बैंकका एटिएम प्रयोगकर्ताहरूले २१ महिनामा १३ करोड ५५ लाखपटक एटिएम मेसिनबाट रकम निकालेका छन् । यसमध्ये करिब ३० प्रतिशत एक बैंकको एटिएम अर्को बैंकको मेसिन (अफअस)मा प्रयोग हुने गरेको राष्ट्र बैंकको प्रक्षेपण छ । ‘कार्ड जारी गर्ने संस्था एउटै भए पनि एटिएम मेसिन फरक छ भने त्यस्तो कारोबारलाई अफअस भनिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभागका प्रमुख गुरुप्रसाद पौडेलले भने, ‘मानौँ, कुनै दुईवटै बैंकको कार्ड भिसा हो भने पनि एक–अर्काको एटिएममा कसैले प्रयोग गर्छ भने त्यो अफअस कारोबार हुन्छ ।’ 

पैसा झिक्न अर्को बैंकको एटिएम मेसिन प्रयोग हुँदा प्रतिकारोबार बैंकहरूले २० रुपैयाँ लिने गरेका छन्, जसमध्ये १० रुपैयाँ कार्ड जारी गर्ने संस्थालाई जाने नेपाल इन्भेष्टमेन्ट बैंककी कार्ड विभाग प्रमुख रिना चन्दले बताइन् । उनले भनिन्, ‘बाँकी १० रुपैयाँ बैंकले पाउँछ ।’ हाल मुलुकमा भिसा, मास्टर कार्ड र युनियन पेलगायतका कार्ड बैंकहरूले प्रयोगमा ल्याएका छन् । यसमध्ये भिसा कार्डको प्रयोग करिब ८० प्रतिशत बराबर रहेको अनुमान राष्ट्र बैंकको छ । 

राष्ट्र बैंककै प्रक्षेपणले २१ महिनामा करिब चार करोड ६ लाखपटक अफअस कारोबार भएको देखाएको छ । यसरी हुने अफअस कारोबारमा प्रतिकारोबार १० रुपैयाँ कार्ड जारी गर्ने कम्पनीलाई जाने गर्छ । यसरी सो अवधिमा करिब ४० करोड ६५ लाख रुपैयाँ मुलुकबाट बाहिरिएको हो । पछिल्लो समय अन्तरबैंकको एटिएम प्रयोग गर्दा ग्राहकले महिनामा दुईपटक शुल्क तिर्नुपर्दैन । त्यसपछि प्रत्येकपटक २० रुपैयाँ लिन पाउने व्यवस्था छ । कोभिड–१९ का कारण एउटै एटिएम वा बैंकमा भिड हुनबाट रोक्न भन्दै राष्ट्र बैंकले यस्तो नियम ल्याएको हो । सोही कारण नेपालीहरूको बानीमा परिवर्तन आएको र अन्तरएटिएमको प्रयोगमा वृद्धि भइरहेको अनुमान राष्ट्र बैंकको छ । कार्ड निर्माता कम्पनीहरूलाई विदेशी मुद्रामा नै भुक्तानी हुन्छ । ‘हामीले दिएको यही सहुलियतका कारण कतै मुद्रा बिदेसिने प्रवृत्तिलाई बढाएको त छैन भन्ने सोच्नुपर्ने हो कि भन्ने लागेको छ,’ पौडेलले भने । 

यसरी बाहिरिने रकममा पनि करिब ६५ प्रतिशत रकम नेपालमै फर्किने राष्ट्र बैंकको अनुमान छ । तर, बैंकरहरू भने यसलाई स्वीकार गर्न तयार छैनन् । ‘त्यत्रो रकम फर्कने भन्ने हुँदैन,’ नबिल बैंकका कार्ड विभाग प्रमुख परमेश्वर श्रेष्ठले भने, ‘कहिलेकाहीँ बजार प्रवद्र्धनका लागि भन्दै प्रोत्साहन (इन्सेटिभ्स) स्वरूप केही रकम आउने हो, सधैँ आउँदैन पनि र यति नै भन्ने निश्चित पनि हुँदैन ।’

केही वर्षअघिसम्म भने अन्तरबैंक एटिएमको प्रयोगमा बैंकहरूले दुई सय रुपैयाँसम्म लिने गर्थे । पछिल्लो समय सहरका गल्ली–गल्लीमा बैंकहरूले एटिएम जडान गरेकाले अन्तरएटिएम प्रयोगलाई निरुत्साहन गर्न शुल्क केही महँगो बनाउनुपर्ने धारणा पनि बैंकरहरूको छ । तर, सर्वसाधारणलाई दिइसकेको सहुलियत खोसिँदा आलोचना हुने डरले राष्ट्र बैंकले आँट गर्न नसकेको स्रोतको भनाइ छ । 

राष्ट्रिय कार्डको विकल्पमा जाँदै राष्ट्र बैंक 
अहिले राष्ट्र बैंकले राष्ट्रिय पेमेन्ट स्विच र राष्ट्रिय कार्डका रूपमा नेपाल पेमेन्ट कार्ड जारी गर्ने रणनीतिअनुसार पनि काम गरिरहेको छ । सबै वित्तीय संस्थाहरूको कारोबार राष्ट्रिय पेमेन्ट स्विचको बाटो हुँदै जाने मानिएको छ । सबै कार्डहरू यो प्रणालीका कारण एक–अर्को बैंकहरूमा पनि चल्ने गरी इन्टरअपरेबल हुने मानिन्छ । 

त्यसबाहेक राष्ट्रिय कार्ड प्रचलनमा आएमा मुलुकभित्र यही कार्डको प्रयोग बढाउने सोच राष्ट्र बैंकको हो । ‘मुलुकबाहिर हुने कारोबारमा सम्भवतः क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विदेशी कार्ड निर्माता कम्पनीहरूसँग साझेदारीमा जानुपर्ने हुन सक्छ,’ पौडेलले भने, ‘तर, मुलुकभित्र भने राष्ट्रिय कार्डमार्फत नै सबैखाले खुद्रा रकमको भुक्तानी हुने अपेक्षा गरेका छौँ ।’ 

हाल भारतमा पनि ‘रुपे’ नामक राष्ट्रिय कार्ड प्रचलनमा छ । भारतभर एटिएम, पस मेसिन र कमर्स वेबसाइटमा यस्तो कार्ड प्रयोग गर्न सकिन्छ । त्यहाँको बैंकर एसोसिएसन र केन्द्रीय बैंक (आरबिआई) मिलेर बनाइएको भारतीय राष्ट्रिय भुक्तान निगमले रुपे कार्ड ल्याएको हो । नेपालमा पनि यही धारणालाई आत्मसात् गर्दै राष्ट्र बैंकसहित अन्य बैंक तथा वित्तीय संस्थाहरूको समेत लागनी रहेको नेपाल क्लियरिङ हाउसमार्फत यी काम अगाडि बढाउन लागिएको छ । 

एटिएममा दिएको सुविधाले रकम बिदेसिने प्रवृत्ति बढायो  : गुरुप्रसाद पौडेल, कार्यकारी निर्देशक तथा भुक्तानी विभाग प्रमुख, राष्ट्र बैंक
एटिएम कार्ड जारी गर्ने संस्था एउटै भए पनि एटिएम मेसिन फरक छ भने त्यस्तो कारोबारलाई अफअस भनिन्छ । मानौँ, कुनै दुईवटै बैंकको कार्ड भिसा हो भने पनि एक–अर्काको एटिएममा कसैले प्रयोग गर्छ भने त्यो अफअस कारोबार हुन्छ । यस्तो कारोबारमा प्रत्येकपटक रकम बिदेसिन्छ । कोभिडको समयमा राष्ट्र बैंकले एटिएम प्रयोगमा ग्राहकलाई दिएको सुविधाले मुद्रा बिदेसिने प्रवृत्तिलाई बढाएको हो कि भन्ने सोच्नुपर्ने भएको छ ।