मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ फाल्गुण २६ आइतबार १०:३८:००
Read Time : > 1 मिनेट
प्रदेश

महोत्तरीमा वैदेशिक रोजगारीको नाममा ठगिँदै युवा

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण २६ आइतबार १०:३८:००

वैदेशिक रोजगारीको आस देखाएर तराईका युवाहरूलाई ठग्ने एजेन्टको संख्या बढ्दै गएको छ । आप्रवासन स्रोतकेन्द्र जलेश्वरका अनुसार चालू आर्थिक वर्षको फाल्गुन दोस्रो सातासम्म २० जनाले ४७ लाख ९६ हजार रुपैयाँ ठगिएको उजुरी गरेका छन् । 

महोत्तरी, धनुषा र सिरहाका विभिन्न एजेन्टले विदेश पठाइदिने भन्दै रकम र राहदानी लिएको तर विदेश नपठाएको उजुरीमा उल्लेख छ । पीडितका अनुसार एजेन्टहरूले राहदानीसमेत फिर्ता गर्ने गरेका छैनन् । 

पैसा र राहदानी लिएर भिसा वा राहदानीसमेत फिर्ता नगर्ने एजेन्टहरूको संख्या सयौँ रहेको आप्रवासन स्रोत केन्द्र जलेश्वरका संयोजक कमलेशकुमार सिंहले बताए । उनले दैनिक रूपमा ठूलो संख्यामा पीडितहरू आउने गरेको र उनीहरूसँगको परामर्शपछि सबुत–प्रमाणको अवस्था हेरी आवश्यक सहयोग गर्ने गरेको बताए । 

५ हजार युवा बिदेसिए 
महोत्तरीबाट चालू आर्थिक वर्षमा अहिलेसम्म झन्डै करिब ५ हजार युवा वैदेशिक रोजगारीका लागि गएको सिंहले बताए । त्यसमध्ये केही स्वदेशमै र केही विदेशमा ठगिने गरेको उनको भनाइ छ । तराईका जिल्लामध्ये रोजगारीका लागि अत्यधिक युवा बिदेसिने जिल्लामा महोत्तरी दोस्रो नम्बरमा पर्छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा १५,३०४, आव ०७३/७४ मा १५,९२३ र आव ०७४/७५ मा ११,६६४ जना वैदेशिक रोजगारीका विभिन्न मुलुक गएका छन् । 

क्यानडाका नाममा ठगी 
महोत्तरी जिल्लाको औरही नगरपालिका– ५ का शिवजी यादव, सोही ठाउँ बस्ने अजयकुमार साह, औरही–३ बस्ने रञ्जितकुमार यादव तथा मनरा सिस्बा नगरपालिका– ७ का सन्तोषकुमार साह वैदेशिक रोजगारीका नाममा ठगिएका छन् । पीडितका अनुसार लोहारपट्टी नगरपालिका वडा नं. ५ का रामजीवन यादवले क्यानडा पठाइदिने भन्दै ३४ लाख रुपैयाँ लगेका थिए । रकम लिएर भिसा किन नदिएको भन्दा एजेन्टले उल्टै धम्क्याउने गरेको एक पीडित बताउँछन् । ‘भिसा, राहदानी वा रकम केही पनि पाउँदैनौँ । तिमीहरूलाई चिन्दिन जे गर्नु छ गर भन्दै धम्क्याएका छन्,’ उनले भने । 

हजारभन्दा बढी एजेन्ट सक्रिय
सिंहका अनुसार महोत्तरीमा एक हजारभन्दा बढी स्थानीय एजेन्टहरू सक्रिय छन् । ‘उनीहरूको पेसा नै गरिब तथा नबुझेकाहरूलाई ठग्नु हो । विभिन्न आस र प्रलोभन देखाएर ठगी गर्ने गरेका छन्,’ सिंहले भने, ‘वैदेशिक रोजगारीमै जानुपर्दा आफूले राहदानी वा रकम दिन लागेको व्यक्ति वा संस्थाबारे पूर्ण विश्वस्त भएर मात्र कारोबार गर्नुपर्छ । हामीले यस विषयमा सचेत गराउँदै आएका छौँ । कसैलाई विनाभर्पाइ राहदानी वा रकमलगायतका कुनै पनि व्यवहार नगर्न सजग गराउँछौँ ।’

सिंहका अनुसार वैदेशिक रोजगारीमा पठाए पनि सम्झौताअनुसार काम र तलब नदिएको गुनासोसमेत केन्द्रमा आउने गरेका छन् । ‘क्षतिपूर्तिका साथै विदेशबाट घरफिर्ता तथा अन्य आवश्यक कारबाही गराउनसमेत ९ भन्दा बढी निवेदन चालू आर्थिक वर्षको फागुन दोस्रो सातासम्म परेको छ,’ सिंहले भने । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले युवाहरू आफैँ सजग हुन आवश्यक रहेको बताए । ‘म्यानवापरको आधिकारिक एजेन्टभन्दा पनि स्थानीय एजेन्टबाट धेरै युवा ठगिएका छन् । रकम र राहदानी दिएको भर्पाइसमेत नहुँदा प्रमाण पुर्‍याउन गाह्रो छ । म्यानपावरको आधिकारिक एजेन्टहरूबाट त्यस्तोे ठगी भए वैदेशिक रोजगार विभागमै उजुरी मिल्ने व्यवस्था छ,’ उनले भने, ‘जोकोहीले म एजेन्ट हुँ भन्दैमा विनाभर्पाइ र आवश्यक जाँचबुझ नगरी राहदानीलगायतका अन्य दस्ताबेज तथा नगद दिँदा रकम डुब्ने सम्भावना अधिक रहन्छ ।’