मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १५ आइतबार ०९:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लाभांश पारित भएका ४६ कम्पनीहरूको बोनस सूचीकृत, ७७ कम्पनीको अझै बाँकी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १५ आइतबार ०९:३१:००

अघिल्लो आर्थिक वर्ष (०७७/७८) को मुनाफाबाट ४६ कम्पनीहरूले घोषणा गरेको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा (नेप्से)मा सूचीकृत भएको छ । आर्थिक वर्ष ०७७/७८ को मुनाफापछि एक सय २३ कम्पनीले लाभांश प्रस्ताव गरेका थिए । वाणिज्य बैंक समूहको प्रस्ताव भएका २६ वटै बैंकको लाभांश पारित भइसकेको छ । त्यसमध्ये १६ वटा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अन्य बैंकहरूको लाभांश पारित भए पनि नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ ।

त्यसैगरी, विकास बैंक समूहको प्रस्तावित नौ बैंकको लाभांश पारित भएपश्चात् सातवटाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । गरिमा विकास बैंकको भने बुक क्लोज हुन बाँकी छ । जलविद्युत् समूहका १४ कम्पनीको लाभांश प्रस्ताव गरेकोमा १३ वटा कम्पनीको लाभांश पारित भइसकेको छ । पारित भएको लाभांशमध्ये आठवटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ भने नेसनल हाइड्रोपावर कम्पनीको लाभांश पारित हुन बाँकी रहेको छ । 

लगानीगत समूहको प्रस्ताव भएका तीनवटै कम्पनीको लाभांश पारित भइसकेको छ । लाभांश पारित भएकामध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अन्य दुई कम्पनीको बोनस सेयर सूचीकृत हुन बाँकी रहेको छ ।

त्यस्तै, उत्पादनमूलक समूहका चार कम्पनीको प्रस्तावित लाभांश पारित भइसकेको छ भने दुईवटा कम्पनीको लाभांश नेप्सेमा सूचीकृत भएको छ । माइक्रो फाइनान्स समूहले प्रस्ताव गरेका ४५ संस्थाको लाभांश पारित भएको छ भने नौवटा संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । तीमध्ये चारवटा संस्थाको बुक क्लोज हुन बाँकी रहेको छ ।

निर्जीवन बिमा समूहका ११ कम्पनीले लाभांश प्रस्ताव गरेकोमा दुईवटा कम्पनीको लाभांश पारित भएको छ भने अन्य कम्पनीको साधारणसभा बोलाइएको छैन । लाभांश पारित भए पनि कम्पनीको बोनस सेयर सूचीकृत हुन बाँकी रहेको छ । लाभांश सूचीकृत गर्ने समयको विषयमा निश्चित समय नतोकिएको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘यति नै समयमा सूचीकृत हुनुपर्छ भन्ने छैन, कम्पनीहरूले लाभांश पारित भएपछि नियामक निकायको स्वीकृतपछि सूचीकृत हुन्छ,’ मुराहरिले भने ।