१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
पालुङटार नगरपालिका वडा ५ र ६ मा रहेको स्तरोन्नतिको अवस्थामा विमानस्थल मैदान
२०७८ फाल्गुण १५ आइतबार ०९:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विकासको नमुना : धावनमार्गमाथि पक्की सडक, सडककै कारण एयरपोर्टको स्तरोन्नति रोकियो

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण १५ आइतबार ०९:०२:००

०३८ सालदेखि बन्द रहेको पालुङटार विमानस्थल स्तरोन्नतिको काम यस वर्षदेखि सुरु भएको छ । तर, धावनमार्गमै पक्की सडक निर्माण भएपछि विमानस्थल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । जग्गा अतिक्रमण गरेर पक्की संरचना निर्माण भएका कारण विमानस्थल पुनर्निर्माणमा कठिनाइ भएको पालुङटार विमानस्थल आयोजना कार्यालयले जनाएको छ । 

सोही कारण नेपाल उड्डयन प्राधिकरणबाट दुई करोड ७६ लाख लागतमा सुरु गरिएको विमानस्थल पुनर्निर्माणको काम ढिलाइ भएको पालुङटर विमानस्थल आयोजना प्रमुख इन्जिनियर सुबोध अधिकारीले बताए ।

दीपकबाकु कँडेल, मेयर पालुङटार नगरपालिका 

विमानस्थलमा निर्माण भएको सडक स्थानीय तह आउनुअघि नै निर्माण भइसकेको थियो । हामीले अहिले त्यसको मर्मत मात्रै गरेका हौँ । जिल्लाको ठाडीपोखरी, लिगलिगकोटलगायतका स्थानमा नगरपालिकाबाट जाने एक मात्रै बाटो यही हो । अन्य वैकल्पिक सडक नभएकाले यही सडक मर्मत गरेका हौँ । 

उनका अनुसार विमानस्थलको संरचना निर्माण र हालभएको हवाई मैदान सुधारका लागि३१ असार ०७७ मा ठेक्का सम्झौता भएको थियो । एक वर्षभित्र पूर्वाधार निर्माण र सुधारको काम सक्ने गरी काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले दुई करोड ७६ लाख ९७ हजार सात सय ३५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १४ साउन ०७८ माकाम सक्नुपर्ने थियो । तर, कोभिड र सडक विवादका कारण विमानस्थलको स्तरोन्नति कार्यमा ढिलाइ भएको उनको भनाइ छ । समयमै काम सम्पन्न नभएपछि ठेक्का सम्झौता चैत मसान्तसम्मका लागि म्याद थप गरिएको छ । 

‘लामो समयदेखि विमानस्थल बन्द रहेको थियो । सोही समयमा नगरपालिकाले हवाई ग्राउन्डको छेउछेउबाट पक्की सडक बनाएको रहेछ । नापी कार्यालय गोरखाबाट आएको टोलीले पनि केही समयअघि नापजाँच गर्दा विमानस्थलकै जग्गाबाट बाटो लगेको पुष्टि भएको छ । त्यसैले हामीले नगरपालिकालाई वैकल्पिक बाटो प्रयोग गर्नु भनेर पटक–पटक अनुरोध गरेका छाैँ, तर उहाँहरू मान्न तयार हुनुभएको छैन,’ अधिकारीले भने । 

तीन सय ३६ रोपनीमा पैmलिएको विमानस्थलको छेउबाट पक्की सडक निर्माण गरेकाले घेराबार गर्न पनि समस्या भएको छ । उनले भने, ‘विमानस्थलवरिपरि तीन किलोमिटर घेरबार गर्नुपर्ने थियो । विमानस्थलको जग्गाभित्रको पक्की सडककै विवादका कारण अभैm सातादेखि आठ सय मिटर बाटोमा घेराबार गर्न बाँकी छ । नगरप्रमुख दीपकबाबु कँडेल र स्थानीयहरूसँग पनि छलफल भइरहेको छ । हामी सहमति जुटाउने प्रयासमा छौँ ।’

त्यस्तै, १२ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्गमा सब–बेस ओछ्याउने काम ५० प्रतिशतभन्दा बढी सकिएको अधिकारीले जानकारी दिए । सबै गरेर अहिलेसम्म करिब ७० प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । विवाद सुल्झेर आवश्यक सामग्री उपलब्ध भएमा माघ मसान्तभित्र काम सक्ने उनले बताए । यस वर्ष बढी पानी परेकाले सब–बेस राख्ने काम ढिलाइ भएको उनको भनाइ छ । 

नागरिक उड्डयन प्राधिकरणले कम्तीमा ४२ सिटको विमान उडान–अवतरण गर्न सक्ने गरी संरचना निर्माण कार्य सुरु गरेको उनले बताए । यसअघि घाँसेमैदान बनेको सो विमानस्थल अहिले भने आफ्नै स्वरूपमा फर्किन थालेको छ । 

उक्त विमानस्थल ०१७ सालमा निर्माण पूरा भएर ०१८ सालदेखि उडान सेवा सुरु भएको थियो । ०१७ सालमा गोरखा, तनहुँ, लमजुङ, मनाङका विभिन्न क्षेत्रमा खाद्य संकट हुँदा जहाजमार्फत खाद्यान्न ढुवानी गरिएको थियो । ०३४ सालसम्म यी जिल्लामा निर्माण भएका खानेपानी योजनाका लागि आवश्यक पर्ने फलामे पाइपहरू पनि ओसारपसार गरिएको थियो । काठमाडौं–पोखरा राजमार्ग निर्माण भएर सस्तो भाडामा बस सेवा चल्न थालेपछि ०३८ सालदेखि यो विमानस्थल बन्द भएको स्थानीयवासीको भनाइ छ ।