१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
निर्माणाधीन नागढुंगा सुरुङमार्ग
जीवन बस्नेत काठमाडाैं
२०७८ फाल्गुण १४ शनिबार १०:०७:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

उच्च प्राथमिकतामा सुरुङमार्ग : चार आयोजना निर्माणाधीन, १८ को अध्ययन हुँदै

Read Time : > 5 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ फाल्गुण १४ शनिबार १०:०७:००

बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग ठेक्का लाग्ने अन्तिम चरणमा, सुरुङमार्गहरूका लागि अघिल्लो आवको भन्दा चालू आवमा चार गुणा बढी अर्थात् दुई अर्ब बजेट विनियोजन

भौगोलिक रूपमा धेरैअघिदेखि नै सुरुङमार्गको आवश्यकता महसुस गरिए पनि केही वर्षअघिसम्म देशमै यससम्बन्धी एउटै आयोजना थिएन । तर, पछिल्ला वर्षहरूमा सरकारी नीतिदेखि बजेटसम्म सुरुङमार्ग प्राथमिकतामा पर्न थालेको छ । केही आयोजना निर्माणमा प्रवेश गरेका छन् भने केही अध्ययनलगायतका प्रक्रियामा छन् । केही सुरुङमार्ग आयोजना पहिचान र अध्ययन प्रक्रियामा छन् । बर्सेनि सुरुङमा विनियोजन हुने बजेटको आकारमा वृद्धि भइरहेको छ भने आयोजनाको संख्या पनि थपिँदै गइरहेको देखिन्छ ।  

२३ सुरुङमार्ग निर्माण र अध्ययनको चरणमा
देशभर २३ सुरुङमार्ग निर्माणाधीनदेखि अध्ययन थालनीसम्मको अवस्थामा रहेका छन् । त्यसमध्ये चारवटा सडक सुरुङमार्ग निर्माणाधीन रहेका छन् भने एउटा ठेक्का प्रक्रियामा रहेको छ । निर्माणाधीन आयोजना भने चारवटा मात्र रहेका छन् । नागढुंगा र फास्ट ट्रयाकका तीन सुरुङमार्ग (महादेवडाँडा, धेद्रे सुरुङ र लेनडाँडा सुरुङ) निर्माणका क्रममा रहेका हुन् । नागढुंगा सुरुङमार्ग पुस ०७७ देखि निर्माण थालिएको हो भने फास्ट ट्रयाकका सुरुङमार्ग ३१ जेठदेखि निर्माण थालिएका हुन् । त्यस्तै, सिद्धबाबा सुरुङमार्ग ठेक्का सम्झौताको अन्तिम तयारीमा रहेको छ । 

सुरुङमार्ग निर्माण प्राथमिकतामा छ : शिवहरि सापकोटा महानिर्देशक, सडक विभाग
पछिल्ला केही वर्षदेखि सुरुङमार्ग प्राथमिकतामा पर्दै गएको छ । सुरुङमार्गको संख्या बढिरहेको छ र त्यसको माग पनि उत्तिकै आउने गरेको छ । तर, यसको लागत र सञ्चालन खर्चिलो भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेछ । अहिले धेरै आयोजना सम्भाव्यता अध्ययन र केही विस्तृत अध्ययनको चरणमा छन् । यसलाई आगामी दिनमा निर्माण चरणमा पुर्‍याउनुपर्नेछ । कतिपय सुरुङ दातृ निकायको सहयोगमा पनि अघि बढाउने तयारी छ ।

बजेट चार गुणाले वृद्धि 
पछिल्ला दिनमा सरकारले सुरुङमार्ग पहिचान गर्न पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययनलगायतका कामलाई उच्च प्राथमिकतामा राख्न थालेको छ । चालू आर्थिक वर्षमा अध्ययनका लागि मात्र एक अर्ब ९९ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । जबकि, आव ०७७/७८ मा ५३ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो । यो वर्ष विनियोजन गरिएको बजेट अघिल्लो आवको भन्दा करिब चार गुणाले बढी हो । त्यसबाहेक नागढुंगा सुरुङमार्गको निर्माणका लागि चालू आवका लागि नौ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाहेक फास्ट ट्रयाकमा निर्माण थालिएका तीनवटा सुरुङमार्गको करिब चार अर्ब बजेट छ । त्यस्तै, ठेक्का सम्झौता हुन लागेको सिद्धबाबा सुरुङमार्ग आयोजनाका लागि पनि १० अर्ब रुपैयाँको बहुवर्षीय ठेक्का सम्झौताका लागि स्वीकृत भइसकेको छ । चालू आवका लागि भने ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

नागढुंगा सुरुङमार्गले तीन किलोमिटर सडक लम्बाइ घटाउने 
काठमाडौं र धादिङ जोड्ने नागढुंगा सुरुङमार्ग जापानको सहुलियत ऋणमा निर्माणाधीन छ । सन् २०१९ सक्टेम्बर २३ मा ठेक्का सम्झौता भएको यो आयोजना जापानी निर्माण कम्पनी हाज्मा आन्दोले निर्माण गरिरहेको छ । सुरुङ निर्माण ४२ महिनामा सम्पन्न गर्ने लक्ष्यअनुसार अप्रिल २०२३ मा सम्पन्न भइसक्नुपर्नेछ । जाइका (जापान अन्तर्राष्ट्रिय सहयोग नियोग) मार्फत १६ अर्ब ६३ करोड ६० लाख रुपैयाँ (१६,६३६ मिलियन येन) सहुलियत ऋण सहयोग छ । आयोजनाको सञ्चालन अवधि ३० वर्षको हुनेछ । अहिले सडकको लम्बाइ आठ किलोमिटर छ । सुरुङ निर्माणपछि ५ दशमलव शून्य ५ किलोमिटरमा झर्नेछ । निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको काम भने ४५ प्रतिशत सम्पन्न भइसकेको छ । 

फास्ट ट्रयाकमा तीन सुरुङको निर्माण थालनी 
फास्ट ट्रयाकमा महादेवडाँडा सुरुङमार्ग, धेद्रे सुरुङमार्ग र लेनडाँडा सुरुङमार्ग गरी तीन ठाउँमा मुख्य सुरुङमार्ग बनाउने निर्माणको काम थालनी भइसकेको छ । फास्ट ट्रयाकमा पर्ने तीन सुरुङमार्ग ३१ जेठदेखि निर्माण सुरु भइसकेको जानकारी नेपाली सेनाले दिएको छ । यी सुरुङमार्ग इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडेलमा निर्माण गरिँदै छ । यसको ठेक्का सेनाले चिनियाँ कम्पनीलाई दिएको छ । महादेवटार सुरुङमार्ग निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले निर्माण गरिरहेको छ । लेनडाँडा र धेद्रे सुरुङमार्गको निर्माण भने पोली चङ्डा इन्जिनियरिङले काम गरिरहेको छ । महादेवडाँडामा सबैभन्दा लामो ३ दशमलव ३ सय ५५ किलोमिटर, धेद्रेमा १ दशमलव ६ सय ३० र लेनडाँडा सुरुङ १ दशमलव ४ सय ३० किलोमिटर लामा हुनेछन् । पहिलोको २७ अर्ब र दोस्रो तथा तेस्रोको २५ अर्ब रुपैयाँ लागत छ । तर, यसमा उचाइमा बन्ने पुलसमेत समावेश छन् । 

लामाबगर सुरुङमार्गको चालू आवमा ठेक्का लगाउने तयारी 
लामाबगर सुरुङमार्गको सम्भाव्यता अध्ययन भइसकेको छ । यो सुरुङमार्ग पनि इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडेलमा निर्माण गरिने तयारी छ । करिब दुई वर्षअघि नै सम्भाव्यता अध्ययन भए पनि केही अघि पुनः सम्भाव्यता अध्ययनको रिभ्यु (समीक्षा) भएको छ । चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भए पनि त्यो ठेक्का लगाउनका लागि अपुग छ । 

धरान–लेउती सुरुङमार्ग सम्भाव्यता अध्ययन जारी
धरान–धनकुटा सडकखण्डमा धरान–लेउती सुरुङमार्ग गत आर्थिक वर्ष नै बजेटमा परेको आयोजना हो । तर, कोभिड–१९ जस्ता कारणले अध्ययनको काम भएन । अहिले भने सम्भाव्यता अध्ययनका लागि सम्झौता भइसकेको र अहिले अध्ययनको काम भइरहेको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले जानकारी दिए । यस सुरुङमार्गलाई बजेटमा तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । 

टोखा–छहरे–गुर्जु भञ्ज्याङ सुरुङमार्ग चिनियाँले बनाउने आशा
चिनियाँ टोलीले ०७६ चैतभित्रै पूर्वसम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन सक्ने र त्यसपछि विस्तृत आयोजना अध्ययनको काम थाल्ने योजना थियो । त्यसका लागि ०७६ पुसमा नौजनाको चिनियाँ प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययन गरेर स्वदेश फर्केपछि अहिलेसम्म नेपाल आएको छैन । त्यसले गर्दा सुरुङको दुवैतर्फ रहने बिन्दु निश्चित लम्बाइ, सम्भावित लगानीलगायत विषय अझै निक्र्यौल गर्न सकिएको छैन ।यो सुरुङमार्गलाई नेपाल सरकारले अघि नबढाए पनि चालू आवको बजेटमा ५० करोड १० लाख रुपैयाँ छुट्याएको छ । 

सिद्धबाबा सुरुङमार्गको ठेक्का सम्झौता फागुनभित्रै
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा निर्माण हुन लागेको सिद्धबाबा सुरुङको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । फागुन तेस्रो हप्ताभित्र ठेकेदार कम्पनीसँग सम्झौता भइसक्ने सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले जानकारी दिए । सुरुङ निर्माणको ठेक्का पाउने निर्माण कम्पनीले पाँच वर्षमा काम सम्पन्न गर्नुपर्नेछ । त्यस्तै, निर्माण सम्पन्न भएको पाँच वर्षसम्म सञ्चालन र मर्मतको जिम्मा लिनुपर्नेछ । सडक विभागले आयोजनाको लागत पहुँचमार्ग र अन्य कामबाहेक करिब आठ अर्ब लाग्ने अनुमान गरेको थियो । तर, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी सात अर्ब ३४ करोड २१ लाख चार हजार रुपैयाँमा निर्माण गर्दै छ । यो आयोजनालाई चालू आवका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

कोटेश्वर–जडीबुटी सुरुङमार्ग जाइकाको अध्ययनमा
कोटेश्वरको जाम घटाउनका लागि निर्माण गर्ने योजना बनाइएको यो सुरुङमार्गको अहिले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अध्ययन गरिरहेको छ । योजनाको डिजाइन तथा ट्राफिक सर्भे गरिरहेको सडक विभागले जानकारी दिएको छ । तर, अझै पनि कस्तो र कति लम्बाइको हुने यकिन भइसकेको छैन । तिनकुनेबाट जडीबुटीसम्म करिब आठ सय मिटरदेखि एक किलोमिटर लामो हुन सक्ने अनुमान छ । चालू आर्थिक वर्षको बजेटमा भने सरकारले सवारी चापलाई व्यवस्थित गर्न तिनकुने जडीबुटीखण्डमा सुरुङ निर्माण गर्न एक अर्ब ८० करोड विनियोजन गरेको घोषणा गरेको छ । 

कुलेखानी–भीमफेदी लगानी मोडलमै अस्पष्ट
तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको यो योजनाको कुल लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।  यो योजनालाई संघीय सरकारले चालू आवमा १० लाख रुपैयाँ राखेको छ । बागमती प्रदेश गौरवको आयोजनामा राखिएको यो सुरुङमार्ग गत आर्थिक वर्षमा नै एक अर्ब रुपैयाँ विनियोजन गरे पनि त्यो उपयोगमा आएन । अध्ययनले यो सुरुङमार्ग तीन किलोमिटर दुई सय १० मिटर लम्बाइ रहने देखाएको छ । 

दुम्कीवास–बर्दघाट विस्तृत अध्ययनको तयारी 
पूर्व–पश्चिम राजमार्गको दाउन्नेनजिकै दुम्कीवास–बर्दघाट सुरुङमार्ग निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । सडकको नाजुक अवस्थाले पनि भौगोलिक रूपमा सुरुङमार्ग निर्माण गर्नुपर्ने भएको हो । यस सुरुङमार्गका लागि सम्भाव्यता अध्ययन भइसकेको छ । चालू आवमा विस्तृत अध्ययनका लागि बजेट १० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

हेम्जा–नयाँपुल प्रारम्भिक चरणमै
हेम्जा–नयाँपुल खण्डको सडकमा प्रस्तावित यो सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन भइसकेको छ । अहिले विस्तृत अध्ययनका लागि चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ । सडक विभागले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटको प्रारम्भिक प्रक्रिया भने थालेको छ । 

थानकोट–चित्लाङ सम्भाव्यता अध्ययन
थानकोट–चित्लाङ सुरुङमार्गमा अहिले प्रारम्भिक रेखांकन (सम्भाव्यता अध्ययन) गर्ने काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडिसी)ले गरिसकेको छ । सडक विभागले त्यसको प्रतिवेदन भने प्राप्त गरिसकेको छैन । 

खुर्कोट–चियाबारी जाइकाले अध्ययन गर्ने
बिपी राजमार्गअन्तर्गत पर्ने खुर्कोट–चियाबारी सुरुङमार्गलाई जाइकाले अध्ययन गर्ने तयारी छ । यो योजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । त्यो अध्ययन नेपाली पक्षले नै गरेको हो । त्यसपछिको सम्भाव्यता अध्ययन जाइकाले गर्ने गरी योजना अघि बढाउने तयारी छ । 

रसुवागढी–वेत्रावती प्रक्रियामा 
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणताका काठमाडौं–त्रिशूली–वेत्रावती–रसुवागढी सडकमा  सम्भावित २४ देखि ३० किलोमिटर लामो सुरुङमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन र निर्माण गर्ने विषय अघि बढेको थियो । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५, वेत्रावतीदेखि गोसाइँकुण्ड गाउँपालिका–२, घट्टेखोलासम्म सुरुङ निर्माणका लागि तयारीको काम अघि बढाउनेबारे दुई देशबीच समझदारीसमेत भएको थियो ।  

मझिम्टार–शक्तिखोर सुरुङमार्ग र दुम्लिङ–वासपाङ
चेपाङ राजमार्गमा पर्ने मझिम्टार–शक्तिखोर सुरुङमार्गको अझै पनि ठाउँ निश्चित भइसकेको छैन । यस ठाउँमा धेरै पहिलेदेखि नै सुरुङमार्ग निर्माण गर्नका लागि आवाज उठिरहेको छ । एडिबीले यस राजमार्गको सानो खण्डमा अध्ययन पनि गरेको थियो । यस मार्गका विभिन्न ठाउँमा छान्ने विकल्पहरू रहेका छन् । 

सम्भाव्यता अध्ययनमा ६ सुरुङमार्ग
बिपीनगर–खुटिया, प्रवास–जोर्ते र बबई–छिन्चु, गोदावरी–मानचौर, ताथली–रविओपी र सुनमाई–राजदुवाल सुरुङमार्गको सम्भाव्यता अध्ययन र अध्ययन प्रक्रियामा छन् । त्यसमध्ये बिपीनगर–खुटिया सुरुङमार्ग खुटिया–दिपायल सडकखण्डमा पर्छ । यसका साथै गोदावरी–मानचौर सुरुङमार्गको सम्भाव्यता अध्ययन चैतमा सकिनेछ । पाल्पामा निर्माण गर्ने भनिएको प्रवास–जोर्ते सुरुङमार्ग पनि अहिले सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया थालेको छ ।

त्यस्तै, बबई–छिन्चु सुरुङमार्गको परामर्शदाता छनोट प्रक्रिया थालेर छानिएका ६ वटा कम्पनीमध्ये एउटाले सम्भाव्यता अध्ययनको जिम्मेवारी दिने तयारी छ । ताथली–रविओपी सुरुङमार्गको पनि सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया थालेको छ । इलाममा निर्माण हुने सुनमाई–राजदुवाल सुरुङमार्गको पनि चाँडै सम्भाव्यता अध्ययन थालिने तयारी छ ।