१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ फाल्गुण १३ शुक्रबार २०:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तहको निर्वाचनका लागि रसुवामा तयारी सुरु

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण १३ शुक्रबार २०:१२:००

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले तयारी सुरु गरेको छ । निर्वाचनको प्रक्रियाअन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरू सुरु गरेको हो । निर्वाचनको तयारीस्वरूप जिल्लामा सरोकारवाला निकायसँग अन्तर्क्रिया कार्यक्रम गरी मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) का कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । त्यसका लागि जिल्लाका पाँचवटै गाउँपालिकामा मतदाता नामावलीको विवरण पठाइसकेको छ ।

उक्त मतदाता नामावलीको विवरण यही फागुन १९ गते ५ वटै गाउँपालिकाको २७ वटा वडामा प्रकाशित गरिने भएको छ । मतदाता नामावली अद्यावधिकका लागि यही फागुन २० देखि २२ गते तीन दिन तोकिएको छ । यो अवधिमा मतदाताहरूले अनुसूची फारम आफ्नो नामावलीमा भएको विवरण सच्चाउन सकिने बताइएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रममा मृत्यु भएका, बसाइसराइ गरी गएका, विवाह दर्ता भएका, दोहोरो नाम भएकाहरूको नामावली अद्यावधिक, (दाबी विरोधसमेत) हुने बताइएको छ ।

 ‘प्रकाशित भएको मतदाता नामावलीमा सच्चाउनुपर्ने, हटाउनुपर्ने, दाबी विरोध गर्न सकिन्छ, यसका लागि तीन दिनको समय छ, अनुसूची फारम भरेर सच्चाउन सकिन्छ, थापाले भने, अद्यावधिकमा आएका विवरणहरू निर्वाचन कार्यालयमा प्राप्त भएपछि अध्ययन गरी नाम सच्चाएको, हटाएकोबारे सूचना निकालेर २६ गते निर्वाचन आयोगमा पठाउँछौँ । 

त्यसैगरी मतदाता परिचयपत्र हराएकाको हकमा भने वडाको सिफारिस, नागरिकताको प्रतिलिपी र निवेदन निर्वाचन कार्यालयमा दिन सकिने जनाइएको छ । त्यसका लागि यही फागुन २० गतेभित्र निर्वाचन कार्यालयमा प्रत्यक्ष उपस्थित भई तथा इमेलमार्फत निवेदन दर्ता गराउन सकिने भएको छ । त्यसैगरी कार्यालयले निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।

गत वर्ष नै जिल्लामा ५२ वटा मतदान केन्द्र र ३४ वटा मतदानस्थल निर्धारण गरिसकेको थापाले बताए । स्थानीय तथा संघमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिँदै छ । २०७८ माघ २४ गतेसम्म संकलन भएका मतदाता नामावलीअनुसार जिल्लामा ३८ हजार ७ सयजना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।