१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ फाल्गुण १० मंगलबार १८:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय ठेकेदार हत्या : मृतकको गाडी सीमापारि छाडेर नेपाल फर्केका थिए हत्या आरोपी  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ फाल्गुण १० मंगलबार १८:३५:००

उदयपुरको कटारी नगरपालिका– ८, शृष्टिको जंगलमा  ७ फागुनमा मृत फेला परेका भारत राजस्थानका ५० वर्षीय रामकिसन मिणाको हत्याको प्रमाण नष्ट गर्न चलाखीपूर्ण प्रयास गरे पनि हत्यामा संलग्नलाई प्रहरीले अपराधबाट भाग्न भने दिएको छैन । ठेकेदार मिणाको हत्या आरोपमा प्रहरीले पेटी ठेकेदार उदयपुर स्राेतका २८ बर्षीय कमल थापा भनिने कमल विश्वकर्मालाई पक्राउ गरेको छ । 

पेटी ठेकेदार विश्वकर्माले ठेकेदार मिणालाई लेनदेनको विषयको ‘इगाे’ले गर्दा आवेशमा आएर २५ माघमा कारभित्र डोरीले कसेर हत्या गरेका थिए । हत्यापछि उनले सबै प्रमाण मेटाउन मिणाको शव पूर्वपश्चिम राजमार्गदेखि ३० किलोमिटर उत्तर उदयपुरको शृष्टि जंगलमा लगेर कपडाले बेरेर फालिदिएका थिए । त्यसपछि मिणाले प्रयोग गर्ने मोबाइल फोन कोसी नदीमा बगाइदिएका थिए भने उनले चलाउँदै आएको भारतीय नम्बरको कार सीमावर्ती भारतीय बजार भीमनगरमा लगेर अलपत्र छाडिदिएका थिए । 
हत्यापछि परिवारसँग सम्पर्कविच्छेद भएका मिणालाई खोज्दै आफन्तहरू मिणाको कार्यस्थल पथरी आएपछि उनीहरूकै जाहेरीको आधारमा इलाका प्रहरीले पेटी ठेकेदार कमललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्या रहस्य खुलेको थियो । 

कसरी भएको थियो हत्या ?
भारत राजस्थानका नागरिक रामकिसन मिणा पाँच वर्षदेखि नेपालमा बसेर पुल निर्माणको ठेक्का लिएर काम गर्दै थिए । उनले चिनजानपछि उदयपुरका कमल विश्वकर्मालाई पहिले आफ्नो कम्पनीमा म्यानेजर बनाएर राखेका थिए । पछि कमलले पेटी ठेकेदारका रूपमा काम गर्न थालेका थिए। मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाबीचमा पर्ने डास खोलामा पुनर्निर्माण भइरहेको पुलमा भारतीय ठेकेदार मिणाले पायलिङ मेसिनको काम गर्ने ठेक्का लिएका थिए । उनीसँग उदयपुरका कमल विश्वकर्मा पेटी ठेकेदारको रूपमा पुलको पिलरको जग खन्ने काम गर्दथे । उनीहरू दुवै डेढ महिनादेखि डास खोला पुलमा सँगै काम गर्दै आइरहेका थिए । 

उनीहरू दुवै ठेक्काको अर्को साइट हेर्न भनेर २३ माघमा उदयपुरको  कटहरी  गएका थिए । यात्राका क्रममा उनीहरूबीच लेनदेनबारे विवाद भएको थियो । विवादका क्रममा आवेगमा आएर कमलले २५ माघमा ठेकेदार मिणाको कारभित्रै तारको डोरीले कसेर हत्या  गरेका थिए । हत्यापछि उनले मिणाको शवलाई कपडाले छोपेर जिपको डिकीमा राखेर कटारी बजारभन्दा ३० किलोमिटर उत्तर जंगलमा पर्ने भिरबाट तल फालिदिएका दिए ।

शवलाई जंगलमा फालेर फर्किएका विकले मृतकले प्रयोग गर्ने मोबाइल फोन कोसी नदीमा बगाइदिएका थिए । त्यसपछि भारतीय नम्बर प्लटेको जिपलाई कोसी ब्यारेजनजिकै रहेको सुनसरीसँग सिमाना जोडिएको भारत बिहार राज्यको भीमनगर बजारमा लगेर छाडी विश्वकर्मा कार्यस्थल पथरी फर्केका थिए । साथीभाइले मिणाबारे सोध्दा विश्वकर्माले मिणा किनमेल गर्न भारत गएको बताउँदै आएका थिए । 

नियमित परिवारको सम्पर्कमा रहेका ठेकेदार मिणाले परिवारसँग सम्पर्क नगरेपछि आफन्तहरू खोजी गर्दै पथरी आइपुगेका थिए । सोधपुछका क्रममा शंका लागेर पेटी ठेकदार कमललाई इलाका प्रहरी कार्यालय पथरीले ९ फागुनमा  नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले लेनदेनको विषयमा ठेकेदार मिणाको हत्या गरेको स्वीकार गरेका थिए । 
उनकै बयानका आधारमा उदयपुरमा फेला परेको शव मिणाको भएको पृष्टि भएको थियो । पक्राउ परेका आरोपी कमललाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि मोरङ प्रहरीले इलाका प्रहरी कार्यालय कटारीको जिम्मा लगाएको छ ।