१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १० मंगलबार १०:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली पिसिआर रिपोर्ट बनाउने ल्याब इन्चार्ज यादवविरुद्ध अख्तियारमा मुद्दा दायर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १० मंगलबार १०:०६:००

नक्कली पिसिआर रिपोर्ट बनाउने काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका ल्याब इन्चार्जविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अस्पतालका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध आयोगले सोमबार मुद्दा दायर गरेको हो । 

अस्पतालमा भर्ना भएकाको स्वाब संकलन गरी त्यसको परीक्षण नै नगरी पैसा लिएर गलत पिसिआर रिपोर्ट दिएको, आफ्नै कार्यकक्षमा स्वाब संकलन गर्ने र रिपोर्ट पजिटिभ आएमा रकम लिई नेगेटिभ बनाइदिने गरेको, पिसिआर परीक्षण नै नगरेकालाई नेगेटिभ रिपोर्ट दिने गरेको आयोगको भनाइ

पिसिआर परीक्षणको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरी परेपछि आयोगले उनीमाथि छानबिन अघि बढाएको थियो । अनुसन्धानका क्रममा आयोगले अस्पतालमा यादवले प्रयोग गर्ने कम्प्युटरको सिपियूको फरेन्सिक परीक्षण गरेको थियो । फरेन्सिक परीक्षणबाट कम्प्युटरमा फेला परेका पिसिआर रिपोर्टहरू सबै नक्कली भेटिएका थिए भने उनले आफूखुसी अस्पतालको छाप बनाई दुरुपयोग गरेको भेटिएको थियो । 

अस्पतालमा भर्ना भएकाहरूको स्वाब संकलन गरी त्यसको परीक्षण नै नगरी पैसा लिएर गलत पिसिआर रिपोर्ट दिएको, आफ्नै कार्यकक्षमा स्वाब संकलन गर्ने र रिपोर्ट पजिटिभ आएमा रकम लिई नेगेटिभ बनाइदिने गरेको, पिसिआर परीक्षण नै नगरेकालाई नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको आयोगले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिम कारबाही मागदाबी गरी आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त व्यवस्थाअनुसार यादवमाथि तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी अख्तियारले गरेको छ । 

उपदफामा सरकारी निकाय वा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्ने कर्तव्य भएको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले त्यस्तो अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिँदा बदनियतपूर्वक भए गरेको कुरा लुकाइछिपाइ वा नभए नगरेको कुरा देखाई प्रतिवेदन दिएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्रा तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

नक्कली पिसिआर रिपोर्ट बनाएर रकम असुलेको उजुरी परेपछि गत मंसिरमै अस्पतालले उनलाई सेवाबाट बर्खास्त गरिसकेको छ । यादवमाथि छानबिन गर्न अस्पतालले समिति नै गठन गरेको थियो । समितिले पनि उनीमाथिको आरोप पुष्टि गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अर्को छुट्टै समितिले पनि यादवले नक्कली पिसिआर रिपोर्ट बनाएर रकम असुल्ने गरेको रिपोर्ट दिएको थियो ।