मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडाैं
२०७८ फाल्गुण ९ सोमबार ०८:०३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तरलता अभावले अन्तरबैंक सापटीको ब्याजदर ६ प्रतिशतमाथि, पाँच वर्षयताकै उच्च

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ फाल्गुण ९ सोमबार ०८:०३:००
  • अन्तरबैंक सापटीको ब्याजदर गत शुक्रबार ६ दशमलव ५० प्रतिशत कायम भएको छ, यसभन्दा अघि १४ माघ ०७३ मा यो दर ६ दशमलव ५ प्रतिशत थियो
  • बैंक तथा वित्तीय संस्थाहरूले चालू आवको ६ महिना (पुस)सम्मको अवधिमा मात्रै १८ खर्ब ३९ अर्ब रुपैयाँ अन्तरबैंक सापटी लिएका छन् । यस्तो सापटीको अवधि सात दिन मात्रै हुन्छ
  • चालू आवमा हालसम्म बैंकहरूले ३९ खर्ब ३९ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन्

बैंकहरूबीच एक–आपसमा रकम सापटी दिने अन्तरबैंक सापटीको ब्याजदर ६ प्रतिशतभन्दा माथि पुगेको छ । बिहीबार राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत स्थायी तरलता सुविधा (एसएलएफ)को ब्याजदर ७ प्रतिशत पुर्‍याएको भोलिपल्टैबाट अन्तरबैंक सापटी पनि ६ प्रतिशतमाथि पुगेको हो ।तीन वर्षपछि यस्तोे सापटी ६ प्रतिशतमाथि पुगेको हो । ३० पुस ०७५ मा यो ६ दशमलव २४ प्रतिशत थियो । अन्तरबैंक सापटीको ब्याजदर गत शुक्रबार ६ दशमलव ५० प्रतिशत कायम भएको छ । यो पाँच वर्षयताकै उच्चदर हो । यसभन्दा अघि १४ माघ ०७३ मा यो दर ६ दशमलव ५ प्रतिशत थियो ।

राष्ट्र बैंकले ६ वर्षअघि अन्तरबैंक सापटीलाई निश्चित ब्यान्डमा राखेर कर्जा र निक्षेपको ब्याजदरलाई नियन्त्रण गर्ने उपायका रूपमा ब्याजदर करिडोर ल्याएको थियो । यस्तो करिडोरमा सुरुमा अन्तरबैंक ब्याजदरलाई थप कसिएकोमा पछि परिमार्जन गरेर माथिल्लो ब्यान्ड र तल्लो ब्यान्डभन्दा मुनि नजाने गरी स्वतन्त्र छाड्ने गरी सुधार गरिएको थियो । तर, अन्तरबैंक ब्याजदर सीमा भित्रै रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले बताए । उनले भने‘ मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षापछि ब्याजदर करिडोर माथिल्लो र तल्लो सीमा केही बढेको छ । तर, पनि अहिले अन्तर बैंक ब्याजदर यो सीमा भित्र नै छ ।’  

अन्तरबैंक ब्याजदर सीमाभित्रै
गुणाकर भट्ट प्रवक्ता तथा कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक  

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बैंकहरूको ब्याजदर करिडोर माथिल्लो र तल्लो सीमा केही बढेको छ । तैपनि, अहिले अन्तरबैंक ब्याजदर सीमाभित्रै छ ।

करिडोरको माथिल्लो ब्यान्डमा बैंक दरका रूपमा समेत रहेको एसएलएफलाई राखिएको छ भने तल्लो तहमा राष्ट्र बैंकमा रकम राख्न प्रयोग हुने निक्षेप संकलनको उपकरणलाई राखिएको छ । समीक्षामा एसएलएफको दर ७ प्रतिशत र निक्षेप संकलनको दर ४ प्रतिशत राखिएको छ । यसको अर्थ यो दर कायम हुँदासम्म अन्तरबैंक सापटी दर अधिकतम ७ र न्यूनतम ४ प्रतिशतसम्म हुने भएको छ । 

बैंकहरूले पैसा अभाव हुँदा राष्ट्र बैंकबाट ७ प्रतिशतमा मात्र पैसा पाउने भएपछि अब एक–अर्कामा योभन्दा कम दरमा पैसा उठाउनेछन्, या त निक्षेपको ब्याजदर बढाएरै स्रोतको जोहो गर्नेछन् । अब बचत तथा मुद्दती निक्षेपको ब्याजदरमा थप वृद्धि हुने निश्चित भएको छ । बचतको ब्याजदर नै ७ प्रतिशतसम्म दिने अवस्थामा बैंकहरू पुग्नेछन् । त्यस्तै, बैंकहरूमा पैसा बढी भएमा राष्ट्र बैंकमा निक्षेप संकलनमा राखेर पाउने ब्याजदर ४ प्रतिशतभन्दा बढी हुने अवस्थामा मात्रै एक–अर्काबीच सापटी कारोबार गर्नेछन् ।  बैंक तथा वित्तीय संस्थाहरूले चालू आवको ६ महिना (पुस)सम्मको अवधिमा मात्रै १८ खर्ब ३९ अर्ब रुपैयाँ अन्तरबैंक सापटी लिएका छन् । यस्तो सापटीको अवधि सात दिनका लागि मात्रै हुने गर्छ । 

हाल बैंकिङ प्रणालीमा आउटराइट पर्चेज गरेको भएर ३८ अर्ब रुपैयाँ मात्रै अधिक तरलता छ । बैंकहरूले तरलता समस्या बढिरहँदा राष्ट्र बैंकबाट उच्चदरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिँदै आएका छन् । चालू आवमा हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३९ खर्ब ३९ अर्ब रुपैयाँबराबरको यस्तो सुविधा लिएका छन् । एसएलएफको ब्याजदर बढेपछि सापटी लिने दर केही सुस्त भएको छ । आइतबार बैंकहरूले २३ अर्ब ९९ करोड रुपैयाँ एसएलएफ लिएका छन् ।