१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ७ शनिबार ०९:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेबोनका अध्यक्ष हमालद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ७ शनिबार ०९:३३:००

नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथग्रहण गराउँदै अर्थमन्त्रीले पुँजी बजारलाई सुधार गर्नका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् । ।

‘पुँजी बजार सुधारका लागि धेरै कामहरू बाँकी रहेछन्,’ अर्थमन्त्री शर्माले भने, ‘तपाईं कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यावहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए ।  नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाए । पुँजी बजार सुधारका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे । 

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । 

सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । उनले यसअघि नेपाल विद्युत् प्राधिकरणमा नौ वर्ष काम गरिसकेका छन् भने विभिन्न संस्था तथा कम्पनीहरूमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेका छन् ।