Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ६ शुक्रबार ०८:१२:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

विश्वभर घट्यो कोभिड संक्रमणदर :  नेपालमा दैनिक संक्रमणदर ५ र भारतमा २ प्रतिशत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ६ शुक्रबार ०८:१२:००

कोभिड महामारी अन्त्यतिर लाग्ने अनुमान गरिएअनुसार दैनिक संक्रमणदर घट्दै गएको छ । जोन हप्किन्स विश्वविद्यालयको विवरणअनुसार बिहीबार विश्वभर नयाँ संक्रमितको संख्या २५ लाख ३४ हजार आठ सय २८ मा झरेको हो । यो साताको औसत संक्रमणदर भने २० लाखको हाराहारीमा छ । लक्षित जनसंख्यामा खोपको प्रयोग र ओमिक्रोन संक्रमणपछि फेब्रुअरीसम्म संक्रमणको जोखिम घट्दै जाने अनुमान गरिएको थियो । 

कोभिड संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमण घटेर ६६ हजारमा पुगेको हो । बिहीबार अमेरिकामा ६६ हजार आठ सय एकजना नयाँ संक्रमित थपिए । अमेरिकामा जनवरीको दोस्रो साता दैनिक संक्रमणदर नौ लाख नाघेको थियो । योसँगै अस्पताल भर्नादरसमेत घट्दै गएको छ । अमेरिकामा सात सय ५५ दिनअघि अर्थात् २२ जनवरी २०२० मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । हालसम्म अमेरिकामा सात करोड ८० लाखभन्दा बढी कोभिड संक्रमणबाट प्रभावित भइसकेका छन्, जुन संख्या विश्वमै सबैभन्दा धेरै हो । 

अझैसम्म संक्रमण देखिइरहेको फ्रान्समा समेत बिहीबार आठ हजार दुई सय १५ जनामा संक्रमण देखिएको छ । जोन हप्किन्सको कोभिड अपडेटअनुसार जनवरीको तेस्रो साताको सुरुवातीमा फ्रान्समा दैनिक संक्रमितको संख्या पाँच लाख नाघेको थियो । फ्रान्समा २४ जनवरी २०२० मा पहिलोपटक कोरोना पुष्टि भएको थियो । बिहीबारसम्म दुई करोड १९ लाख जनसंख्या कोभिडबाट प्रभावित भएका छन् ।

पछिल्लो समय संक्रमण फैलिइरहेका अन्य देशमा समेत बिस्तारै संक्रमण ओरालो लागेको छ । जर्मनीमा बिहीबार चार हजार चार सय ११, ब्राजिलमा १८ हजार नौ सय ७१ र रुसमा १८ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यसबाहेक इटालीमा नौ हजार सात सय ५७, बेलायतमा सात हजार दुई सय २३ र जापानमा दुई हजार पाँच सय २८ जनामा नयाँ संक्रमण भेटिएको छ । छोटो समयमै हालसम्मकै उच्च बिन्दुमा पुगेको संक्रमण विश्वभर नै घट्दै गएको हो । 

कोभिडविरुद्धको भ्याक्सिनसमेत विश्वभर तीव्र प्रयोगमा आइरहेको छ । हालसम्म विश्वभर १० अर्ब २५ करोड ७१ लाख नौ हजार ६ सय ९६ डोज खोप वितरण गरिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । पछिल्लो २८ दिनमा मात्रै विश्वभर ६८ करोड ६४ लाख ८६ हजार ६ सय ७७ डोज खोप वितरण भएको तथ्यांक छ । भ्याक्सिनमा लक्षित वर्गभित्र पाँच वर्षमुनिका बालबालीकालाई समेटिन थालिएकाले कोरोना संक्रमण महामारी अन्त्यतिर पुगेको अनुमान गरिन थालिएको छ । 

तीन देशमा अझै संक्रमण बढ्दो 
विश्वका अधिकांश देशमा कोरोना संक्रमण ओरालो लागे पनि तीनवटा देशमा अझैसम्म संक्रमणको जोखिम उच्च रहेको पाइएको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरणअनुसार, रुस, दक्षिण कोरिया र भियतनाममा कोरोना संक्रमण बढ्दै गएको छ । 

रुसमा जनवरीको दोस्रो सातायता कोभिड संक्रमण उकालो लागेको छ । यो साताको दैनिक औसत संक्रमणदर एक लाख ८८ हजारभन्दा बढी रहेको रुसमा बुधबार मात्रै एक लाख ७७ हजार आठ सय २३ जनामा संक्रमण देखिएको छ ।  

दक्षिण कोरियामा पनि संक्रमण बढिरहेको छ । बुधबार दक्षिण कोरियामा ९३ हजार एक सय २७ जनामा संक्रमण देखियो । यो साताको दैनिक औसत संक्रमणदर ६५ हजारभन्दा बढी छ । भियतनाममा पनि संक्रमण घट्न सकेको छैन । पछिल्लो १० दिनयता उच्चतम वृद्धि भइरहेको भियतनाममा यो साताको दैनिक औसत संक्रमणदर २८ हजार नाघेको छ । 

नेपालमा पाँच सय ७० नयाँ संक्रमित थपिए
अति प्रभावित रहेको भारतमा दैनिक संक्रमण घटेर २.६१ प्रतिशतमा पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरणअनुसार भारतमा बिहीबार २२ हजार सात सय २० जनामा संक्रमण भेटिएको हो । ओमिक्रोन संक्रमण फैलिएसँगै भारतमा दैनिक संक्रमण तीन लाख ३८ हजारभन्दा बढी पुगेको थियो । तर, हाल भारतमा समेत संक्रमणदरमा दैनिक ओरालो लागिरहेको छ । ३० जनवरी २०२० मा पहिलोपटक कोभिड संक्रमण पुष्टि भएको थियो । हालसम्म कोभिड संक्रमणका कारण चार करोड २७ लाख २३ हजारभन्दा बढी जनसंख्या प्रभावित भइसकेको छ ।

नेपालमा बिहीबार पाँच सय ७० नयाँ संक्रमित थपिएका छन् । देशभर परीक्षण गरिएका नौ हजार सात सय ८९ नमुनाको आधारमा ५.८२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । योसँगै अस्पतालमा रहेका कोभिड बिरामीको संख्यासमेत घटेर ६ सय ६९ मा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर आइसियूमा एक सय ५१ जना र भेन्टिलेटरमा २६ जना उपचाररत छन् ।