मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : कञ्चनपुर, डडेल्धुरा र कैलालीको चुरे क्षेत्रमा रहेको नायल ताल 
मोहन विष्ट कञ्चनपुर
२०७८ फाल्गुण २ सोमबार ११:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संरक्षण खोज्दै चुरे क्षेत्रको नायल ताल 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ फाल्गुण २ सोमबार ११:५९:००

प्राकृतिक सौन्दर्यताले भरिभराउ सुदूरपश्चिम प्रदेशमा अवस्थित चुरेको एक प्राकृतिक ताल ओझेलमा परेको छ । संरक्षण र संवर्द्धनकाे अभावले कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नायल ताल ओझेलमा परेको हो । 

ताल संरक्षणका लागि सरकारी निकायबाट पहल नहुँदा ताल पुरिँदै गएको छ । ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण र प्राकृतिक सौन्दर्ययताले भरिभराउ उक्त ताल संरक्षणका लागि तीनै तहका सरकार बेखबर छन् । सामान्यतया उत्तरदेखि दक्षिण पानी बहन्छ । तर, चारैतिर डाँडाले घेरिएको उक्त तालको पानी भने दक्षिणदेखि उत्तर बगेको छ । झन्डै एक किलोमिटर लम्बाइ भएको ताल तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ । विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रूपमा परिचित गाउँमा रहेको नायल ताल अहिले संरक्षणकाे अभावमा ओझेलमा पर्दै आएको स्थानीय बताउँछन् । 

स्थानीय इन्द्र बोहराले प्राचीनकालमा गणपति राजाका सेनाले मानिस काटेर राजाका लागि मासु लग्ने गरेको किम्बदन्ती रहेको बताए । ‘राजाले मानिसको मासु खान पल्केपछि गाउँमा सबै मानिस मार्दै खाने क्रम चल्यो,’ उनले भने, ‘त्यतिवेला राक्षसी राजासँग मानिस र देवताको लडाइँ भयो ।’ नर (अर्थात्) मानिसको रक्षाका लागि देवतासमेत राजासँग लडे । गणपति राजाको नाभी काटियो । त्यसपछि ताल खुनले भरिभराउ भयो । उक्त लडाइँमा मानिस र देवताको विजय भएको किम्बदन्ती नायल तालसँग जोडिएको उनले बताए । अहिले पनि ताल क्षेत्रमा भागवती, सिद्धभगवती र घन्टेश्वरकालिका गरी तीन देवताको पूजा गरिने प्रचलन छ । 

अर्का स्थानीय यज्ञ बोहराले ताल संरक्षणका लागि तीनवटै सरकारबाट पहल नभएको बताए । ‘बाह्रै महिना ताल भरिभराउ हुन्छ,’ उनले भने, ‘कञ्चन पानी छ । तर, बर्सातका वेला ताल पुरिँदै आएको छ ।’ तालसम्म पुग्ने सडक नहुँदा पर्यटकीय दृष्टिकोणबाट सम्भावना बोकेको ताल संरक्षण नहुँदा ओझेलमा परेको उनको गुनासो छ । ‘यो ताल कैलाली, कञ्चनपुरबाट झन्डै २०–२५ किलोमिटर उत्तरमा पर्छ,’ उनले भने, ‘डोटी, डडेल्धुरादेखि दक्षिण–पश्चिममा रहेको ताल अहिले ओझेलमा पर्दै गएको छ ।’ बोहराले प्राकृतिक तालमा विभिन्न जीवजन्तु चराचुरुंगीको वासस्थानसमेत रहेको बताए । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सदस्य सुरेन्द्र बमले राज्यले चासो नदिँदा नायलसहित सुदूरपश्चिमका थुप्रै तालतलैयालगायतका क्षेत्र ओझेलमा पर्दै गएको बताए । ‘यो पर्यटकीय सम्भावना बोकेको क्षेत्र हाे,’ उनले भने, ‘अरू सरकारले चासो नदिए पनि प्रदेश सरकारले त कम्तीमा चासो दिनुपर्छ ।’ 

गुरुयोजना बनाएर तालको संरक्षण गर्दै आन्तरिक  पर्यटन प्रवर्द्धनका लागि सरकारले चासो दिनुपर्ने उनले बताए । नेता बमले ताल संरक्षणका लागि आफ्नो र पार्टीका तर्फबाट पहल गर्ने बताए ।