मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवन बस्नेत काठमाडौं
२०७८ फाल्गुण २ सोमबार ०८:०२:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

सिद्धबाबा सुरुङमार्ग बनाउन चिनियाँ कम्पनी छनोट, सात अर्ब ३४ करोड लागत

फागुनभित्र ठेक्का सम्झौता गरिने, आगामी भदौदेखि सुरुङ निर्माण थाल्ने योजना

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ फाल्गुण २ सोमबार ०८:०२:००

खरिद प्रक्रिया थालेको करिब नौ महिनापछि सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेकेदार कम्पनी छनोट भएको छ । सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार खरिद प्रक्रियामा प्राविधिक रूपमा सक्षम देखिएका चार कम्पनीमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी छनोट गरिएको छ । ‘सबैभन्दा न्यून सात अर्ब ३४ करोड २१ लाख चार हजार रुपैयाँ प्रस्ताव गर्ने चिनियाँ कम्पनीलाई ठेक्का दिने आशयको सूचना जारी गरिएको छ,’ उनले भने । सडक विभागले आयोजनाको लागत करिब साढे आठ अर्ब लाग्ने अनुमान गरेको थियो । केन्द्रले फागुन महिनाभित्रै ठेक्का सम्झौता गरिसक्ने तयारी गरेको छ । 

प्राविधिक रूपमा सक्षम अन्य तीन प्रतिस्पर्धी कम्पनीमा कोभेक–सिआरइजिसी जेभी, चीनकै सिसिइसिसी र १४ सियुआन चाइना जेभी र फस्ट हाइवे इन्जिनियरिङ थिए । यी कम्पनीहरूले क्रमशः सात अर्ब ७९ करोड ९७ लाख, नौ अर्ब ८० करोड १६ लाख र ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको आर्थिक प्रस्ताव गरेका थिए ।  खरिद प्रक्रियामा ६ वटा चिनियाँ कम्पनी, दुईवटा नेपाली र चिनियाँ कम्पनीको संयुक्त उपक्रम तथा एउटा नेपाली र भारतीय कम्पनीको उपक्रम गरी कुल नौवटाले प्रतिस्पर्धामा भाग लिएका थिए । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने ११ सय २६ मिटर लम्बाइको  सुरुङसहितको आयोजना निर्माणका लागि खरिद प्रक्रिया ९ जेठ ०७८ मा थालिएको हो । 

ठेक्का सम्झौतापछि निर्माण कम्पनीलाई ६ महिनाको तयारी अवधि 
ठेक्का सम्झौतापछि निर्माण कम्पनीलाई ६ महिनाको तयारी अवधि दिइनेछ । त्यस अवधिमा आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण, मेसिन आयात र कार्यस्थलमा पु¥याउने काम, कामदार र दक्ष प्राविधिक तयार गर्ने, सुरुङको डिजाइन र ड्रइङलाई पूरा गर्नेलगायतका काम गर्नेछ । त्यसपछि मात्र औपचारिक रूपमा निर्माण थालिनेछ । यसअनुसार असोज ०७८ देखि सुरुङ निर्माण थालिने सम्भावना छ । निर्माण थालिएको पाँच वर्षमा आयोजना सम्पन्न गरी नेपाल सरकारलाई बुझाउनुपर्नेछ । 

 चिनियाँ भाषाका कारण खरिद प्रक्रियामा ढिलाइ ? 
सामान्यतया अन्तर्राष्ट्रिय खरिद प्रतिस्पर्धा (आइबिसी) प्रक्रिया थालिएको ६ महिनामा सम्पन्न गरिन्छ । तर, नौ महिना पुग्दा बल्ल कम्पनी छनोटको अवस्थामा पुग्नुमा चिनियाँ भाषा प्रमुख कारण भएको केन्द्रका निर्देशक प्रभातकुमार झाले जानकारी दिए । ‘प्रतिस्पर्धामा सहभागी अधिकांश चिनियाँ कम्पनी थिए, उनीहरूले अंग्रेजीमा अनुवाद गरेर दिए पनि त्यसलाई पुनः पुष्टि गर्नुपर्दा ढिलाइ भयो,’ उनले भने । यसबाहेक सुरुङमार्ग निर्माणको ठेक्का नयाँ भएको र इपिसी (इन्जिनियरिङ, प्रोक्र्योमेन्ट र कन्स्ट्रक्सन)मा आधारित भएकाले पनि केही थप समय लागेको हो । 

 निर्माण सकेको पाँच वर्षसम्म ठेकेदारको जिम्मामा 
इपिसी मोडलमा निर्माण गर्न लागिएको आयोजनाको डिजाइन, खरिद र निर्माणको काम ठेकेदार कम्पनीले गर्नुपर्छ । निर्माण सकेको पाँच वर्षसम्म सञ्चालन र मर्मतको जिम्मा निर्माण कम्पनीले लिनुपर्नेछ । यस आयोजनालाई १ मंसिर ०७६ मा अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सुनिश्चितता गरिसकेको थियो । त्यही वर्ष ठेक्का लगाउने भनिएको भए पनि झन्डै १८ महिनापछि जेठमा ठेक्का प्रक्रिया अघि बढेको थियो । अर्थले १० अर्ब १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरेको छ । यो आयोजना आर्थिक वर्ष ०७३/७४ को बजेटमा नै अध्ययनका लागि अघि बढाउने घोषणा गरिएको थियो । 

सिद्धबाबा सुरुङ निर्माण गर्नुपर्ने मुख्य कारण पहिरो र त्यसबाट हुने जनधनको क्षति हो । यस क्षेत्रमा गएको पहिरोबाट सयौँजनाको मृत्यु भइसकेको सडक विभागका अधिकारीहरूको भनाइ छ । पहिरोबाट ठूलो मात्रामा भौतिक सम्पत्तिको पनि नाश भएको छ । त्यसलाई नियन्त्रण गर्न रोकथामबाट पार नलागेपछि सुरुङ निर्माण गरेर समस्या समाधान गर्ने योजनाअनुसार प्रक्रिया अघि बढाएको हो । सडकलाई अन्यत्र सार्ने विकल्प नभएपछि पनि सुरुङ निर्माण गरेर समाधान गर्न खोजिएको छ । 

यसअघि सुरुङमार्गको पूर्वसम्भाव्यता (प्रारम्भिक रेखांकन) गर्ने काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडिसी)ले गरिसकेको छ । नेपाल सरकारको अनुरोधमा स्विस अध्ययन टोलीले अघिल्लो (२०७७) वर्ष सुरुङको प्रारम्भिक रेखांकन गरेर सडक विभागलाई बुझाएको थियो । भूगर्भशास्त्रीहरूका अनुसार बुटवल–तानसेन सडकखण्डमा पर्ने पहाड कमजोर माटो र ढुंगा मिसिएर बनेको छ । त्यसैले, पानी परेपछि माटो बग्छ र त्यससँगै ढुंगा झर्ने गर्छ । सिद्धबाबा सुरुङ आयोजनाको पहिलोपटक ४५ दिनको म्याद राखेर सडक विभागले ९ जेठमा बोलपत्र आह्वान गरेको थियो । तर, बोलपत्रको म्याद दुईपटक थप गर्दा ठेक्का प्रक्रियामा समय बढेर ८५ दिन पुगेको थियो । यसबीचमा दुईपटक म्याद थपिएको थियो । पछिल्लोपटक ३२ साउनसम्म ठेक्कामा भाग लिन सकिने अन्तिम समयसीमा तोकिएको थियो ।