मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौंको फाइभ स्टार होटेल याक एन्ड यती
२०७८ माघ २७ बिहीबार ०६:२४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्यासिनोको ८० करोड रोयल्टी नबुझाउने होटेलमाथि कारबाही : दरबारमार्गको याक एन्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द

Read Time : > 2 मिनेट
२०७८ माघ २७ बिहीबार ०६:२४:००

क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाउने काठमाडौं दरबारमार्गको फाइभ स्टार होटेल याक एन्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दुवै होटेल र उनीहरूले सञ्चालन गरेको क्यासिनो बन्द गर्न निर्देशनदिएका हुन् ।

याक एन्ड यतीले रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख ६८ हजार दुई सय ५३ रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, नेपालगन्जमा ड्रिमल्यान्ड होटेल र मिनी क्यासिनो सञ्चालन गरेको काठमाडौंको ह्याप्पी आवर प्रालिले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रुपैयाँ रोयल्टी र दस्तुर तिर्न बाँकी छ । अन्तिमपटक दिइएको सातदिने अल्टिमेटममा पनि रोयल्टी र नवीकरण दस्तुर नबुझाएपछि ती होटेल र क्यासिनो बन्द गरिएका हुन् । २२ पुस ०४८ मा क्यासिनो सञ्चालनको इजाजतपत्र पाएको याकले आर्थिक वर्ष ०७६/७७ सम्मको बक्यौता, ०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालू आवको रोयल्टी बुझाएको छैन । होटेललाई पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले बुधबार गरेको पत्राचारको अन्त्यमा भनिएको छ, ‘होटेल तथा क्यासिनो सञ्चालन नगर्नु–नगराउनु हुनसमेत सूचित गरिन्छ ।’

होटेल पनि बन्द भएको हो भन्ने नयाँ पत्रिकाको जिज्ञासामा जिसीले भने, ‘पत्रमा जे लेखिएको छ, त्यही हो ।’ होटेलको दायित्वअन्तर्गत क्यासिनो पर्ने भएकाले मन्त्री आलेले उक्त निर्णय गरेका हुन् । याक एन्ड यतीको पाँचतारे वर्गीकरण पनि खारेज भएको छ ।२० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले पनि ०७/७७ सम्मको बक्यौता, ०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालू आवको रोयल्टी बुझाएको छैन । ड्रिमल्यान्ड होटेल भने पर्यटन विभागको वर्गीकरणमै नपरेको पाइएपछि बन्द गर्न भनिएको छ । 

पर्यटन विभागले १९ माघमा मात्र रोयल्टी र नवीकरण दस्तुर नबुझाउने पाँच क्यासिनोलाई सातदिने अल्टिमेटम दिएको थियो । पाँच क्यासिनोले बुझाउन बाँकी ८६ करोड रोयल्टी र नवीकरण दस्तुर असुल्न सचिवस्तरीय निर्णयबाट चेतावनी दिइएको थियो ।‘विगत वर्षहरूमा पनि पटक–पटक पत्राचार तथा सार्वजनिक सूचनामार्फत जानकारी गराइएको र चालू आवको बक्यौता दाखिला गर्न ७ कात्तिकमा ३५ दिने र २७ पुसमा १५ दिने अवधि दिएर पत्राचार गरिएको थियो,’ विभागका निर्देशक जिसीले भने, ‘पछिल्लोपटक सातदिने सूचना जारी गर्दा पनि बक्यौता दाखिला नभएपछि लाइसन्स रद्द भएको हो ।’ क्यासिनो नियमावली, २०७० को दफा १४ मा प्रत्येक वर्ष नवीकरण नगर्ने र रोयल्टी रकम नतिर्ने क्यासिनोको इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ । 

होटेलको अचल सम्पत्ति, बैंक खाता र वित्तीय पनि रोक्का
मन्त्रीस्तरीय निर्णयबाट याक एन्ड यती होटेलका नाममा रहेको अचल सम्पत्ति रोक्का राखिदिन पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुरोध गरिएको छ । साथै, होटेलका नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता तथा वित्तीय कारोबार रोक्का राखिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिएको छ । निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई अनुरोध गरिएको छ ।ड्रिमल्यान्ड होटेल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी प्रदेशलाई पत्र लेख्दै उक्त होटेल मन्त्रालय वा निकायअन्तर्गत दर्ता भएको भए खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काँकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।

तीन क्यासिनोले बुझाए आधा रकम
पर्यटन विभागले याक एन्ड यती र ह्याप्पी आवरसँगै ओरियन्टल होटेल लिमिटेड, सेन्ट्रल मिडिया र रक इन्टरनेसनल क्यासिनोलाई पनि अल्टिमेटम दिएको थियो । ओरियन्टलले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख बक्यौता बुझाउन बाँकी थियो । उनीहरूले आधा रकम बुझाएको विभागका निर्देशक जिसीले बताए । 

यसअघि १३ करोड रुपैयाँ नतिरी अमेरिका उड्न लागेका एसएचएल म्यानेजमेन्टका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई पर्यटनमन्त्री आलेको निर्देशनमा नेपाल छोड्न रोक लगाइएको थियो । विमानस्थलबाटै नियन्त्रणमा लिइएपछि बोल्सोभरले रोयल्टी तिरेका थिए । उनले ओसिपी एसियाको लगानीमा लाजिम्पाटस्थित सांग्रिला होटेल र भैरहवास्थित टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गरेका थिए । 

महालेखापरीक्षकको कार्यालयले आफ्नो ५८औँ प्रतिवेदनमा क्यासिनोबाट एक अर्ब आठ करोड ६३ लाख रोयल्टी उठ्न बाँकी रहेको उल्लेख गरेको छ । जब कि क्यासिनो नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालकले प्रत्येक वर्ष रोयल्टी रकम बुझाउनुपर्छ । 

‘तीन क्यासिनोले बुझाए आधा रकम’
पर्यटन विभागले याक एन्ड यती र ह्याप्पी आवरसँगै ओरियन्टल होटेल लिमिटेड, सेन्ट्रल मिडिया र रक इन्टरनेसनल क्यासिनोलाई पनि अल्टिमेटम दिएको थियो । ओरियन्टलले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख बक्यौता बुझाउन बाँकी थियो । उनीहरूले आधा रकम बुझाएको विभागका निर्देशक जिसीले बताए ।