मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ २६ बुधबार ०९:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालकुमारीको मूर्ति चोरी प्रकरण : खोज्ने जिम्मा सिआइबी र अपराध अनुसन्धान महाशाखालाई

Read Time : > 1 मिनेट
२०७८ माघ २६ बुधबार ०९:२८:००

मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख पुरस्कार

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट १६ दिनदेखि हराएको बालकुमारीको मूर्ति नभेटिएपछि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो सिआइबी र महानगरीय अपराध महाशाखाको टोली अनुसन्धानमा खटिएको छ ।

बालकुमारीको मूर्ति ९ माघको मध्यराति हराएको थियो । हराएको भोलिपल्ट (१० माघ) बिहान सुनाकोठीवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप विवरण खोज्न यसअघि भएका मूर्ति चोरीका घटनालाई आधार मानेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । ‘मूर्ति निकै पुरानो रहेछ, अन्य मूर्ति चोरी प्रकरणभन्दा यो प्रकरण अलि जटिल देखिन्छ,’ उनले भने । उनका अनुसार प्रहरी परिसर ललितपुर, महानगरीय अपराध महाशाखा, सिआइबी, चापागाउँ वृत्तको विशेष टोली मूर्ति खोजीमा खटिएको छ ।

यद्यपि, मूर्ति कहाँ र कसले लग्यो भन्ने आधारसमेत प्रहरीले पत्ता लगाउन नसकिएको महानगरीय प्रहरी वृत्त चापागाउँमा डिएसपी टेकबहादुर कार्कीले बताए । डिएसपी कार्कीले भने, ‘हराएको भोलिपल्टदेखि उपत्यकाबाट बाहिरिने नाका र शंकास्पद ठाउँहरूमा खोजी गरिहेका छौँ ।’ 

बालकुमारी मूर्तिको महत्व र जात्रा
सुनाकोठीवासीले बालकुमारीको मूर्तिलाई यःमरी पूर्णिमाको दिन मन्दिरबाट निकालेर खटमा राखेर सुनाकोठी क्षेत्र परिक्रमा गराउँछन् । उक्त जात्रालाई बालकुमारी जात्रा पनि भनिन्छ ।

त्यस्तै, सुनाकोठीका नेवार समुदायले चैते पूर्णिमाको दिन बालकुमारीको मूर्ति विशेष पूजाआजासहित नगर परिक्रमा गराउँछन् । उक्त दिन यहाँका नेवारहरूले पाहुँवा तथा अथिति बोलाएर भोज खुवाउने गर्छन् । आफ्नो धर्म संस्कृतिसँग जोडिएको मूर्ति हराएपछि उनीहरू चिन्तित छन् । उक्त मूर्ति नभेटिए तीन सय वर्ष पुरानो बालकुमारीको इतिहाससमेत मेटिन सक्ने स्थानीयको दुखेसो छ ।

मूर्ति तीन सय वर्ष पुरानो भएको दाबी
मूर्ति हराएपछि बालकुमारीवासी चिन्तित बनेका छन् । उनीहरूले जतिसक्दो छिटो मूर्ति खोजी गर्न प्रहरी प्रशासनलाई आग्रह गरिरहेका छन् । ललितपुर महानगरपालिका–२७ वडाध्यक्ष बाबुराजा महर्जनले उक्त मूर्ति तीन सय वर्ष पुरानो रहेको आधार भेटिएको बताए । यःमरी पूर्णिमाको दिन चढाउने गरगहनाका आधारमा उक्त मूर्ति तीन सय वर्ष पुरानो रहेको पाइएको हो । ‘यःमरी पूर्णिमाको वेला चढाएका गरगहनाले मूर्ति तीन सय वर्ष पुरानो भएको पुष्टि हुन्छ,’ वडाध्यक्ष महर्जनले भने, ‘यसबाहेक सुनाकोठीमा बस्ती बस्नुअघि नै उक्त मूर्ति र मन्दिर बनाएको आधार र तथ्य हामीले फेला पारेका छौँ ।’

बालकुमारीलाई सुनाकोठीका बासिन्दाले मुख्य देवताका रूपमा मान्छन् । ‘हामीले यो मूर्तिलाई शरीरको मुटुजस्तै मान्छौँ, यसमा यहाँका स्थानीयको ठूलो आस्था र विश्वास जोडिएको छ,’ सुनाकोठीका अजय महर्जनले भने, ‘यहाँ कसैले झुटो बोले बालकुमारीको कसम खुवाउने चलन पनि छ ।’ 

उनका अनुसार बालकुमारी मन्दिर सुनाकोठी चोकनजिकै पर्छ । वरिपरि बाक्लो बस्ती छ । तर, घना बस्तीबीचमा रहेको मन्दिरबाट मूर्ति हराउँदा उनीहरू आश्चर्यजनक मानिरहेका छन् ।

गहनाको लोभले चोरी भएको हुन सक्ने आशंका 
पित्तल र सुनको लेपनसहित बनेको यो मूर्ति दुई फिट अग्लो छ । यसको तौल २५ केजी छ । मूर्तिको बाहिरपट्टी सुनको सिक्री, तिलहरि, बाला र चुरा लगाइएको छ । सुनाकोठीमा यस्तो प्रकारको मूर्ति एउटै मात्र छ । मूर्तिमा रहेको सुन बेच्ने लोभमा पनि चोरी भएको हुन सक्ने अनुमान छ । त्यस्तै, निकै पुरानो मूर्ति चोरेर सुनाकोठीको धार्मिक एकता भाड्न खोजिएको हुन सक्ने वडाध्यक्ष महर्जनको भनाइ छ । उनका अनुसार बालकुमारी गुठीको नाममा सय रोपनी जग्गा पनि छ ।

मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख पुरस्कार

बालकुमारी भवानी गुठीले मूर्ति पत्ता लगाउने, सुराकी दिने र भेटाउने व्यक्तिलाई पाँच लाख रूपैयाँ पुरस्कारको घोषणा गरिएको छ । सुनाकोठी क्षेत्रमा रहेका सबै पर्व र सम्पदाको जिम्मा यही गुठीलाई छ । मूर्ति पत्ता लगाउने तथा भेटाउने व्यक्तिलाई पाँच लाख पुरस्कार दिने निर्णय गुठीको व्यवस्थापन (भलाद्मी) टोलीले गरेको हो ।