मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २४ शुक्रबार ११:५०:००
Read Time : > 1 मिनेट
खेलकुद

राष्ट्रिय महिला फुटबल टोली घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २४ शुक्रबार ११:५०:००

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विराटनगरमा ८ फागुनदेखि साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका लागि बिहीबार २० खेलाडी सम्मिलित टिमको घोषणा गरेको छ । प्रशिक्षक हरि खड्काले निरु थापाको कप्तानीमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् । 

मिहिनेतका आधारमा छनोट
प्रशिक्षक खड्काले राष्ट्रिय टोलीको छनोट गर्दा खेलाडीले अभ्यासमा गरेको मिहिनेतलाई पहिलो प्राथमिकतामा राखेको बताए । खेलाडी छनोट गर्न सहज नभएको जनाउँदै उनले कुनै पनि पूर्वाग्रहविना प्रदर्शनलाई आधार मानेर छनोट गरेको बताए । ‘मैले खेलाडीलाई आफू छनोट नभएको किन र उनी कसरी छनोट भइन् ? भनेर प्रश्न गर्ने अधिकार दिएको छु । म हरेक खेलाडीको छनोट केका आधारमा गरेको हुँ भनेर जवाफ दिन सक्षम छु,’ नयाँ पत्रिकासँग खड्काले भने, ‘अहिले हाम्रा लागि साफ च्याम्पियनसिप प्रतिष्ठाका रूपमा समेत रहेको छ । त्यसैले खेलाडीको लगाव र मिहिनेत, टिममा गरेको प्रदर्शन नै छनोटको मुख्य आधार हो ।’ खड्काले अनुलाई टिममा समावेश गर्न नपाउँदा आफूलाई पनि दुःख लागेको बताए । 

उनले भने, ‘म पनि एउटा खेलाडी हुँ, खेलाडीको बिदाइ सुखद होस् भन्ने चाहन्छु । उनको दुःख खेलाडीको नाताले सबैभन्दा बढी मैले नै बुझेको छु । अनुले पनि पुनरागमनको प्रयासका लागि कठिन मिहिनेत गरिन् । तर, मैले राम्रा खेलाडीलाई पाखा लगाउने अवस्था थिएन । मलाई लाग्छ, अनुले बुझेकी छिन् ।’ खड्काले आफ्नो तर्पmबाट अनुको सुखद बिदाइका लागि मैदानबाहिरबाट गर्न सक्ने अन्तिम प्रयास गर्ने बताए । उनले भने, ‘उनको योगदान नेपाली महिला फुटबलले सायदै बिर्सन सक्ला । त्यसैले अब उनको योगदानको कदर एन्फा र सरकारले गर्छ र गर्नुपर्छ ।’

सफल खेलाडी अनु बाहिर
नेपाली महिला फुटबलमा सर्वाधिक अनुभवी खेलाडी अनु लामा विराटनगरमा हुने साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन असफल भइन् । अनु नेपाली फुटबलमा सर्वाधिक लामो समय योगदान गर्ने महिला खेलाडीमध्ये पर्छिन् । उनले नेपालबाट प्रतिनिधित्व गर्दै धेरै गोल गर्ने रेकर्ड राखेकी छिन् । राष्ट्रिय टोलीबाट २४ क्याप जितेकी अनुले ३५ गोल गर्दै सर्वाधिक गोलको कीर्तिमान कायम गरेकी हुन् । उनले उत्तर कोरियाविरुद्ध सन् २००४ मा डेब्यु गरेकी  थिइन् । पछिल्लो समय घुँडाको चोटले पिरोलिएकी अनु शल्यक्रियापछि केही समयअघि पुनः राष्ट्रिय टिममा पुनरागमन गर्न सफल भएकी थिइन् । उनले करिअरको सुखद अन्त गर्न साफ च्याम्पियनसिपमा रहने बताए पनि उनको सो इच्छा भने पूरा भएन ।