मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ माघ २५ मंगलबार ०६:१९:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महामारीले क्यान्सरका बिरामी थप मारमा

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ माघ २५ मंगलबार ०६:१९:००

नियमित किमो लिइरहेका सिन्धुपाल्चोकका ४८ वर्षीय एक पुरुषको ७ माघमा कोभिड संक्रमणका कारण मृत्यु भयो । उनले स्टोमच क्यान्सर (पेटको क्यान्सर)को नेसनल हस्पिटल तथा रिसर्च सेन्टरमा किमो लिइरहेका थिए । कोरोना रिपोर्ट पजिटिभ आएपछि उनले समयमै किमो लिन नपाउँदा क्यान्सर बढ्दै गएको थियो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनले गत लकडाउनमा समेत किमोथेरापी लिन पाएका थिएनन् । शल्यक्रिया भए पनि एड्भान्स केस भएकाले क्यान्सर फैलिँदै जाने सम्भावना बढी हुन्छ । यस्तो वेला थप उपचारका लागि रेडियसन र किमोथेरापी उपलब्ध नहुँदा बिरामीको मृत्यु हुन सक्छ । उनको पनि सोहीकारण मृत्यु भएको डा. रश्मि पुनमगर बताउँछिन् । उनका अनुसार आवश्यक उपचार समयमै नपाउँदा क्यान्सरको जटिलता अधिकांश केसहरूमा देखिने गर्छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार आ.व. ०७७/७८ मा देशभर क्यान्सरको उपचारका लागि १६ हजार ६ सय २७ जना अस्पताल पुगेका छन् । चालू आर्थिक वर्षको भने यकिन तथ्यांक आइसकेको छैन । तर, नेसनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले विभिन्न अस्पतालको तथ्यांकहरूको आधारमा गरेको सर्वेक्षणअनुसार उपचारका लागि अस्पताल पुग्ने बिरामी घटेका छन् । नेपालमा हाल सबैभन्दा धेरै फोक्सोको क्यान्सर १५.८ प्रतिशत, स्तन क्यान्सर १३.४ प्रतिशत देखिएको छ । कुल क्यान्सर पुष्टि भएकामध्ये ६.८ प्रतिशतमा कोलोन क्यान्सर, ५.६ प्रतिशतमा स्टोमच र ५.३ प्रतिशतमा मुख र घाँटीको क्यान्सर देखिएको क्यान्सर रिसर्च सेन्टरले जनाएको छ ।  

क्यान्सरका बिरामी इम्युनोकम्प्रमाइज्ड समूहभित्र पर्ने हुँदा कोभिड संक्रमण निको हुन लामो समय लाग्ने भएकोले बढी प्रभावित भइरहेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् । कतिपय बिरामीमा संक्रमण निको हुन नै एक महिनासम्म लाग्ने गरेको बताउँछिन्, डा. पुनमगर । उनी भन्छिन्, ‘क्यान्सरका कारण प्रतिरोधी क्षमता न्यून हुँदा संक्रमण निको हुन धेरै समय लाग्छ । रोगका कारण कमजोरीपन बढ्दै जान्छ भने संक्रमणका कारण आवश्यक उपचारबाट पनि वञ्चित हुँदा महामारीमा क्यान्सरका बिरामी स्वतः बढी प्रभावित भइरहेका छन् । अहिले उपचारको क्रमका रहेका अधिकांश बिरामीले यही समस्या भोगिरहेका छन् ।’ 

 समयमै अस्पताल नपुग्दा समस्या 
समयमै अस्पतालसम्म पुग्न नसक्दा करिब २० प्रतिशत बिरामीमा क्यान्सर फैलिइसक्ने चिकित्सकहरू बताउँछन् । दैनिक पाँच सयभन्दा बढी बिरामी पुग्ने भक्तपुर क्यान्सर अस्पतालमा मात्रै १५ देखि २० प्रतिशत बिरामी क्यान्सरको अन्तिम चरणमा पुग्ने गरेको बताउँछन्, अस्पतालका निर्देशक प्रा.डा. विष्णुदत्त पौडेल ।
उनी भन्छन्, ‘कोभिड संक्रमणले महामारीका रूप लिएको समयमा अस्पतालमा पहुँच घटेसँगै क्यान्सरको जोखिम पनि बढेको हो । समय–समयमा स्क्रिनिङ वा जाँचको कमीका कारण त्यसै पनि नेपालमा अन्तिम चरण आएपछि मात्र क्यान्सर पत्ता लाग्नेको संख्या अत्यधिक छ । कोभिडले गम्भीर भएपछि मात्र उपचारका लागि पुग्नेको संख्या झन् बढाइदिएको छ ।’ 

 घटे अस्पताल  जाने
महामारीबीचमा क्यान्सर अस्पतालहरू सञ्चालनमै रहे पनि संक्रमणका कारण उपचारमा पहुँच नहुँदा बिरामी प्रभावित भइरहेका छन् । कोभिडपछि क्यान्सरबारे राष्ट्रिय स्तरमा अध्ययन भएका छैनन् । तर, अस्पतालसम्म पुग्ने बिरामीको संख्या हेर्दा अस्पताल जाने दर घटेको छ । सबैभन्दा धेरै उपचारका लागि पुग्ने भक्तपुर क्यान्सर अस्पतालमा यो वर्ष साढे दुई हजार क्यान्सरका बिरामी अस्पताल पुगेका छन् । जब कि अघिल्लो वर्ष अस्पतालले तीन हजार चार सय १८ जनामा क्यान्सर निदान गरेको तथ्यांक छ । यस्तै सन् २०१९ मा १९ हजार चार सय ५९ जना नयाँ बिरामी आउँदा सन् २०२० मा जम्मा १० हजार एक सय ५८ जना मात्रै जाँचका लागि अस्पताल पुगेका छन् । जुन गत वर्षको तुलनामा आधा कम हो ।

डा. रश्मि पुनमगरका अनुसार अधिकांश बिरामी तेस्रो वा चौथो चरणको क्यान्सर लिएर अस्पताल पुग्छन् । अस्पतालमै ढिला पुगेपछि चाहेर पनि उपचार गर्न नसकिने उनी बताउँछिन् । प्रतिवर्ष सरुवा रोगको तुलनामा नसर्ने रोगका कारण तेब्बरभन्दा बढीको ज्यान गइरहेको छ । समयमै क्यान्सर निदान नहुने नेपालमा क्यान्सरसमेत मृत्युको मुख्य कारणमध्ये पर्ने गर्छ ।