मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ २२ शनिबार ०९:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमपातले मनाङमा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध 

Read Time : < 1 मिनेट
२०७८ माघ २२ शनिबार ०९:४५:००

हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । दुई दिनदेखिको वर्षा र हिमपातका कारण मनाङको सदरमुकाम चामेसहित तल्लो क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध छ ।  हिमपातले शुक्रबारदेखि मनाङमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध  भएको हो । बिहीबार दिउँसोदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको हो । 

हिमपात र हावाहुरीले मनाङको तालदेखि चामेसम्मको अप्टिकल फाइबर पनि डाउन भएको नेपाल टेलिकम मनाङ शाखाका प्रमुख ङिमा ङिटु लामाले जानकारी दिए । हिमपातले नासों गाउँपालिका ८, ताचैमाथिको मेरपान रिपिटर टावरको रेडियो लिंक बन्द भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बिहीबार दिउँसोदेखि मनाङमा हिमपात भएको बताए । उनका अनुसार मनाङ, टंकी मनाङ, हुम्डे, पिसाङ र नार्पाभूमिको नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक र तिमाङ क्षेत्रमा हावाहुरीसहित हिमपात भएको थियो । 

शुक्रबार रातिबाट हिमपात रोकिए पनि मनाङको तापक्रम शनिबार बिहान माइनस १२ डिग्री सेल्सियसमा झरेको थियो । मनाङमा बिहीबार र शुक्रबार यस वर्षकै धेरै हिमपात भएको प्रजिअ आचार्यको भनाइ छ । 

मनाङको सदरमुकाम चामेमा तीन फिट बाक्लो हिउँ जमेकोे छ । हिमपातले मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । गाउँआसपासमा आवतजावत गर्ने पैदलमार्गमा समेत छपक्कै हिमपातले छोपेका कारण जनजीवन कष्टकर बनेको छ ।

बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ । धारापानीका स्थानीय थुतेन लामाका अनुसार हिउँ परे पनि दानाक्युसम्म सवारी आवागमन भइरहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ ।