१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १९ बुधबार ०६:२९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा सन्दीपको मूल्य ६४ लाख

यस सिजनदेखि आइपिएलमा १० टोली सहभागी रहनेछन्, हरेक टोलीले बढीमा २५ खेलाडी राख्न पाउनेछन् भने जसमा विदेशी आठ खेलाडी हुनेछन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १९ बुधबार ०६:२९:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु ( ६४ लाख नेपाली रुपैयाँ) राखेका छन् । नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गराए पनि सन्दीप मात्रै अक्सनमा रहेको भारतीय एजेन्सीहरूले जनाएका छन् । १५ खेलाडीमध्ये सन्दीप आइपिएलको सर्ट लिस्टमा परेका हुन् । यसबाहेक अन्य नेपाली खेलाडी आइपिएलको ड्राफ्टबाटै बाहिरिए । 

नेपालबाट आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ड्राफ्टमा नाम दर्ता गराएका थिए । सन्दीपलाई अक्सनमा कुनै टोलीले मूल्य लगाए कम्तीमा ४० लाख भारु तिर्नुपर्नेछ । 

सन्दीपलाई २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । सो सिजनमा दिल्ली लिगबाट बाहिरिएको थियो । दिल्लीका तत्कालीन कप्तान रिकी पोन्टिङले सन्दीपलाई अन्तिम तीन खेलमा मौका दिएका थिए । तीन खेलमा सन्दीपले पाँच विकेट पनि लिएका थिए । सन्दीपले सन् २०१९ मा पनि दिल्लीबाट ६ खेलमा आठ विकेट लिएका थिए । तर, २०२० मा सन्दीपले दिल्लीबाट एक खेलमा पनि खेल्ने मौका पाएनन् । सन् २०२१ मा सन्दीपले अक्सनमा ४० लाख भारु मूल्य राखेका थिए । यद्यपि, उनलाई कुनै पनि टोलीले मूल्य लगाएका थिएनन् ।

मेघा अक्सनमा  १२१४ खेलाडी 
मेगा अक्सनमा एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएका छन् । यसपटक सर्ट लिस्टमा पाँच सय ९० खेलाडी मात्र रहेका छन् । यसमा तीन सय ५५ अनक्याप्ड खेलाडी छन् । सर्ट लिस्टमा तीन सय ७० भारतीय र दुई सय २० विदेशी खेलाडी छन् ।

सर्ट लिस्टमा अस्ट्रेलियाबाट ४७, वेस्ट इन्डिजबाट ३४, दक्षिण अफ्रिकाबाट ३३ र इंग्ल्यान्डबाट २४ खेलाडी रहेका छन् । यसैगरी न्युजिल्यान्डबाट २४, अफगानिस्तानबाट १७, बंगलादेश र आयरल्यान्डबाट समान पाँच खेलाडी रहेका छन् । नामिबियाबाट तीन र स्कटल्यान्डबाट दुई खेलाडी छन् । नेपाल र अमेरिकाबाट समान एक खेलाडी सर्ट लिस्टमा छन् । 

१० टोलीले रिटेनमार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन् । आइपिएल अक्सन १२ र १३ फेब्रुअरीमा बेंग्लोरमा हुनेछ । यो सिजनदेखि आइपिएलमा १० टोलीको सहभागी रहनेछन् । एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउनेछन् । जसमा आठ विदेशी खेलाडी हुनेछन् । १० विदेशी खेलाडी रिटर्न भइसकेको अवस्थामा अब ७० विदेशी खेलाडी आइपिएल अक्सनमा बिक्नेछन् ।