मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रञ्जन भण्डारी
२०७५ पौष ६ शुक्रबार ११:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

अस्पताल परिसरमै फोहोरको थुप्रो

दुर्गन्ध फैलिन थालेपछि सफाइमा जुटे स्थानीय र प्रहरी

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी
२०७५ पौष ६ शुक्रबार ११:२८:००

समाचार प्रभाव

बिरामी भएपछि उपचारका लागि अस्पताल जाने गरिन्छ । तर, फोहोरका कारण जलेश्वर अस्पताल आफैँ बिरामीजस्तो बनेको छ । अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा अस्पतालपरिसरमा जताततै फोहोर जम्मा भएको छ । अस्पतालपरिसरमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा उपचार गराउन आउने बिरामी थप जोखिममा देखिन्छन् । अस्पताललाई फोहोर बनाउन उपचारका लागि आउने बिरामी र तिनका कुरुवासम्मले सहयोग पुर्‍याएको देखिन्छ । बिरामी र कुरुवाले समेत अस्पतालपरिसरमा फोहोर उत्सर्जन गरिरहेका छन् । 

फोहोरको डंगुर थुप्रिएर अस्पताल नै दुर्गन्धित हुन थालेपछि बिहीबार परिसरमा सरसफाइ गरिएको छ । प्रहरी र स्थानीय मिलेर जलेश्वर अस्पतालपरिसर सरसफाइ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीअन्तर्गतको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बिहीबार बिहान अस्पतालपरिसरको सरसफाइ गरिएको हो । 

समुदाय–प्रहरी टोल समिति जलेश्वर नगरपालिका–२ को आयोजनामा गरिएको सरसफाइमा दर्जनौँ प्रहरी र स्थानीय सहभागी थिए । अस्पतालपरिसरमै दुर्गन्ध फैलिन थालेपछि सफाइ गरिएको २ नम्बर वडाका अध्यक्ष वरुण दाहालले बताए । अस्पताललाई फोहोरबाट मुक्त गर्न अस्पताल व्यवस्थापन र बिरामी तथा कुरुवा दुवै पक्षले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने अध्यक्ष दाहालले बताए । दुवैले बेवास्ता गर्दा अस्पतालमा फोहोरको डंगुर थुप्रिएको भन्दै उनले अस्पताल सबैको साझा भएकाले नागरिक र कर्मचारी दुवैले उत्तरदायी भएर नियमित रूपमा फोहोर व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे । 

नयाँ पत्रिकाले पटक–पटक जलेश्वर अस्पतालमा फोहोर व्यवस्थापन हुन नसकेको समाचार प्रकाशन गरेपछि अस्पताल व्यवस्थापन पक्षले सरसफाइमा ध्यान दिन थालेको छ । तर, अस्पतालमा अझै नियमित सरसफाइको आवश्यकता रहेको स्थानीयको भनाइ छ ।