१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कमल खत्री म्याग्दी
२०७८ माघ १७ सोमबार ०८:३७:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रत्नेचौरको ‘भाइरल तोरीबारी’ 

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ माघ १७ सोमबार ०८:३७:००

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर । समथर फाँटमा सुन्दर बस्ती । धौलागिरि हिमाललाई अवलोकन गर्न सकिने यो गाउँ यतिवेला तोरीबारीका कारण भाइरल बनेको छ । रत्नेचौरदेखि अर्जम, भकुण्डे सडकको रत्नेचौर खण्डमा भएको कालोपत्रे सडक र सडकका दायाँ र बायाँका फाँटमा फुलेको पहेँलपुर तोरीको फूल निकै लोभलाग्दो छ । फाँटको बीचमा चिटिक्कको सडक र फाँटमा फुलेको तोरीको सुन्दर दृश्यमा रमाउनका लागि अहिले दैनिक सयौँ आन्तरिक पर्यटकको भिड नै लाग्न थालेको छ । 

बेनीबाट रत्नेचौर पुगेकी सुनीता केसीले फाँटको पहेँलपुर दृश्य लोभलाग्दो रहेको बताइन् । ‘अत्यन्तै रमाइलो अनुभूति भयो, सडक सुविधाले गर्दा आउन पनि सजिलो, घुम्दा मनै प्रफुल्लित बनायो,’ उनले भनिन् । तोरीबारीमा फोटो खिच्ने र टिकटक बनाउनेहरू धेरै भेटिन्छन् । आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ । सदरमुकाम बेनी र बाग्लुङ बजारबाट समेत १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने भएपछि दिनहुँ सयौँ युवायुवती तोरीबारीमा आउने गरेका छन् ।

म्याग्दी, बाग्लुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भिड व्यवस्थापन गर्नसमेत स्थानीयलाई हम्मेहम्मे पर्ने गरेको छ । बाग्लुङबाट आएका अनुप केसीले तोरीको व्यावसायिक खेती पर्यटकीय आकर्षणसमेत बनेको बताए । हिउँदयाममा पहेँलपुर फाँटले मन लोभ्याएको उनले सुनाए ।

रत्नेचौरमा परम्परागत रूपमा तोरीखेती गरिँदै आएको छ । हिउँदे मुख्य बाली तोरीखेती पर्यटकहरूको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएकोे स्थानीय भानु माविका प्रअ भरत खत्रीले बताए । ‘यसपटक हामीले तोरी महोत्सव नै आयोजना गर्ने योजना बनाएका थियौँ, कोरोनाका कारण त्यो सम्भव भएन, परम्परागत रूपमा गरिने तोरीखेतीलाई कृषि पर्यटनको रूपमा विकास गर्ने हाम्रो योजना छ,’ उनले भने । अहिले दैनिक दुई सयदेखि पाँच सयसम्म पर्यटक यहाँ आउने गरेका छन् । 

तोरीबारी घुम्न रोक

रत्नेचौरको भाइरल तोरीबारीमा घुम्न जान आइतबारबाट रोक लागेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका–१ रत्नेचौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो । कोरोनाभाइरसका संक्रमित फेरि बढ्न थालेपछि भिडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको हो ।