मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७८ माघ १५ शनिबार ०६:३६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उधारो खाएको ५० रुपैयाँ माग्दा  ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा  मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट

Read Time : > 3 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ माघ १५ शनिबार ०६:३६:००

पीडितको किटानी जाहेरी लिन अस्वीकार गरेको प्रहरीले उल्टै पीडितविरुद्ध पीडकले दिएको निवेदन तत्काल दर्ता मात्रै गरेन, पीडितलाई पक्रिन घरमै पुग्यो

बोक्सी आरोपमा पाँच पुरुषबाट कुटिएकी वकिला खातुनको याचना–देशमा कानुन छ भने न्याय चाहियो

२८ पुसको राति ओछ्यानबाटै निकालेर कुटपिट गरे । घिसारेर कुट्दै उसको (मगनी) घरसम्म पुर्‍यायो । छिमेकी दिदीबहिनीले जोगाए । छिमेकी भनेर अन्याय सहेरै बसेँ । ३ माघमा बिहानै फेरि लाठीमुंग्रीसहित आएर आक्रमण गरे । मेरो घरमा आएर जादुटुना गरेको भन्दै पाँचजनाले कुटे । होरिल साहले मेरो कपाल समातेर लछारपछार ग¥यो । मेरो आँखा झन्डै फुटाएका थिए, चोटले रगत जमेको छ । मलमूत्रसमेत खुवाउन खोजेका थिए, तर छिमेकी महुवा मियाँले जोगाउनुभयो । दुई साता भइसक्दा पनि प्रहरी किटानी जाहेरी लिन मान्दैन । बोक्सी आरोप लगाएर कुटपिट गरेका छन्, तर प्रहर मुख्य विषय नै हटाएर निवेदन ल्याउन भन्छ । यो उमेरको मलाई गाउँका सारा मानिसको माझमा बोक्सी भनेर अपमान गरेका छन् । कुटपिट गरेका छन् । देशमा कानुन छ भने मलाई न्याय चाहियो ।

सर्लाहीको धनकौल गाउँपालिका– ३ हरकठवामा ६५ वर्षीया वृद्धा वकिला खातुनलाई बोक्सीको आरोपमा छिमेकी पाँच पुरुषले मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट खातुनको दाहिने आँखामा रगत जमेको छ । तर, पीडितको किटानी जाहेरीसमेत लिन अस्वीकार गरेको प्रहरी उल्टै पीडकले दिएको निवेदन भने तत्काल दर्ता गरेर खातुन र उनका छोराहरूलाई पक्राउ गर्न घरमै पुगेपछि झन् असुरक्षित बनेका छन् । 

वकिला घरखर्च चलाउन पान, सुपारीलगायतको खुद्रा व्यापार गर्छिन् । छिमेकी ४० वर्षीय मगनी साह उनको पसलमा खाइरहन्थे । तर, उधारो खाएको ५० रुपैयाँ नतिरेको धेरै नै भइसकेको थियो । २८ पुसमा वकिलाले मगनीको घरमै पुगेर पैसा मागिन्, तर मगनीले पैसा दिएनन्, झपारेर पठाए । 

त्यसै दिन राति १० बजिसकेको थियो, वकिला ओछ्यानमा पल्टिसकेकी थिइन् । मगनी अन्य केही व्यक्ति लिएर वकिलाको घरमा पुगे । ‘तँ बोक्सी’ भन्दै लछार्दै घरबाट निकाले । आँगनबाट पनि घिसारेर कुटपिट गर्दै आफ्नो घरको आँगनसम्म पुर्‍याए । मरणासन्न वकिला चिच्याएपछि उठेका केही छिमेकी महिलाले उनलाई छुटाएर घर ल्याए । बोक्सीको गम्भीर आरोप लगाएर निर्घात कुटपिट गर्दा पनि ‘छिमेकी मर्दापर्दा चाहिन्छ’ भनेर वकिलाले सहिन् । 

२ माघको बेलुका वकिला पुनः पैसा माग्न मगनीको घर पुगिन् । तर, मगनीले अघिल्लोपटक जस्तै गाली गरेर घरबाट धपाए । उनले त्यति मात्रैै गरेनन्, भोलिपल्ट ३ माघमा ३० वर्षीय भाइ होरिल साह, छिमेकी ४५ वर्षीय नुनु साह, नुनुका छोरा २५ वर्षीय जितकुमार साह र अर्का छिमेकी २१ वर्षीय सुनील साहसमेत लाठीमुंग्रीसहित वकिलाको घरमा पुगे । उनीहरूले कपाल लुछ्दै ‘टुनामुना गर्ने बोक्सी’ भनेर निर्घात हुन्जेल कुटपिट गरे । 

बरहथवा इलाका प्रहरीका डिएसपी उमाशंकर यादव भन्छन्–कुटपिटको मात्रै घटना भनेर फर्काएको होला, बोक्सी आरोपमा कुटपिट हो भने तत्कालै मुद्दा दर्ता हुन्छ

कुटपिटको विषय आएको थियो । यस्तोमा उजुरी तत्कालै दर्ता गर्न सकिने भए पनि मुद्दाका रूपमा दर्ता गर्न पहिला घाउ जाँच हुनुपर्छ । त्यसैले फर्काएको होला । बोक्सीको आरोपमा कुटपिट हो भने त जघन्य अपराध हो । यसमा तत्काल मुद्दा दर्ता गर्न सकिन्छ । यसमा म आफैँ सक्रिय भएर यथार्थ बुझ्छु ।

‘२८ पुसको राति ओछ्यानबाटै निकालेर कुटपिट गरे । घिसारेर कुट्दै उसको (मगनी) घरसम्म पुर्‍यायो । छिमेकी दिदीबहिनीले जोगाए । छिमेकी भनेर अन्याय सहेरै बसेँ,’ वकिलाले भनिन्, ‘३ माघमा बिहानै फेरि लाठीमुंग्रीसहित आएर आक्रमण गरे । मेरो घरमा आएर जादुटुना गरेको भन्दै पाँचजनाले कुटे । होरिल साहले मेरो कपाल समातेर लछारपछार ग¥यो । मेरो आँखा झण्डै झुटाएका थिए, चोटले आँखामा रगत जमेको छ । मलमुत्र समेत खुवाउन खोजेका थिए तर, छिमेकी महुवा मियाँले जोगाउनु भयो ।’ 

आमालाई छुटाउन खोज्दा छोराहरू २८ वर्षीय महबुब र ४० वर्षीय जोहुर पनि घाइते भएका छन् । महबुबको आँखाको डिलमा अझै पनि नीलडाम छ । स्थानीय कलामु नेसाका अनुसार घटना भएको एकैछिनमा वरिपरिका मान्छे भेला भएपछि मगनीको समूह पछि हटेको थियो । 

पीडित वकिलाको घरबाट हरकठवा प्रहरी चौकी एक किलोमिटर दूरीमा छ । घटनालगत्तै वकिलाका छोराहरू महबुब र जोहुर उजुरी गर्न प्रहरी चौकी हिँडेका थिए । तर, मगनीको समूहले बाटोमै छेकेर कुटपिट गरेको पीडितको गुनासो छ । त्यसपछि उनीहरू आमा र गाउँका एक सहयोगी लिएर किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय बरहथवा पुगे । तर, जाहेरीको बेहोरामा बोक्सी शब्द हटाएपछि मात्रै निवेदन दर्ता हुने भन्दै प्रहरीले फर्काएको वकिलाले बताइन् ।

जब कि त्यसको भोलिपल्ट ४ माघमा उल्टै वकिला र उनका छोराहरूविरुद्ध मगनी साह पक्षले इलाका प्रहरी कार्यालयमै निवेदन दिए । उक्त निवेदन तत्काल दर्ता मात्रै भएन, वकिला र उनका छोराहरूलाई पक्राउ गर्न प्रहरी घरमै आयो । छिमेकीले पीडितलाई प्रहरीले झन् पीडित बनाउन खोजेको भन्दै विरोध गरेपछि प्रहरी त्यसै फर्किएका थियो ।

त्यसपछि पीडितहरू ७, ९ र १० माघमा जिल्ला प्रहरी कार्यालय धाए । तर, तीनैपटक मुद्दा इलाका प्रहरीले नै दर्ता गर्ने भन्दै जिल्लाबाट फर्काइदिएको पीडितको गुनासो छ । तर, शुक्रबारसम्म कतै पनि जाहेरी दर्ता भएको छैन । 

‘बोक्सी आरोप लगाएर कुटपिट गरेका छन् । तर, प्रहरीले मुख्य विषय नै हटाएर निवेदन ल्याउन भन्यो । हामी त्यसै फर्कियौँ,’ वकिलाले भनिन्, ‘यो उमेरको मलाई गाउँका सारा मानिसको माझमा बोक्सी भनेर अपमान गरेका छन् । कुटपिट गरेका छन् । देशमा कानुन छ भने मलाई न्याय चाहियो ।’

बरहथवा इलाका प्रहरीका डिएसपी उमाशंकर यादव कुटपिटको घटनामा किटानी जाहेरी आएकाले घाउ जाँच गरेपछि मात्रै मुद्दा दर्ता गराउन सकिने बताएको तर्क गर्छन् । तर, बोक्सीको आरोपजस्तो जघन्य अपराधको विषय हो भने छिटै सत्यतथ्य बुझेर मुद्दा दर्ता गर्ने उनले बताए । 

‘कुटपिटको विषय आएको थियो । यस्तोमा उजुरी तत्कालै दर्ता गर्न सकिने भए पनि मुद्दाको रूपमा दर्ता गर्न पहिला घाउ जाँच हुनुपर्छ । त्यसैले फर्काएको होला,’ उनले भने, ‘बोक्सीको आरोपमा कुटपिट हो भने त जघन्य अपराध हो । यसमा तत्काल मुद्दा दर्ता गर्न सकिन्छ । यसमा म आफैँ सक्रिय भएर यथार्थ बुझ्छु ।’

तीन दिनसम्म धाएपछि जिल्ला प्रहरीले १० माघमा पीडितको घाउ जाँच गर्न एक एनजिओ महिला सेल्टरको जिम्मा लगाइदिएको थियो । स्वास्थ्य जाँच रिपोर्ट प्रहरी महिला सेलमा बुझाइसकेको महिला सेल्टर स्रोतले बतायो । तर, आफूसम्म उक्त रिपोर्ट नआएको बरहथवा इलाकाका डिएसपी यादव बताउँछन् । 

पीडित परिवारले भने अहिले पनि मगनीको समूहले गाउँबाट विस्थापित गर्ने धम्की दिइरहेको गुनासो गरेका छन् । ‘मुद्दा–मामला गरे गाउँबाटै विस्थापित गरिदिने धम्की आइरहेको छ । तर, प्रहरीले नै हामीमाथि अन्याय गरेको छ । घरमै आएर कुट्नेले जे पनि गर्न सक्छ । हामी त्रासमा छौँ,’ वकिलाका छोरा महबुबले भने ।