मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
जीवन बस्नेत काठमाडाैं
२०७८ माघ १४ शुक्रबार ०७:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जोरबिजोर प्रणालीले सडकमा सार्वजनिक यातायात आधा घटे, यात्रुलाई सास्ती 

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ माघ १४ शुक्रबार ०७:०७:००

दैनिक चार लाख यात्रु कोचिएर यात्रा गर्न बाध्य न महामारीविज्ञ तथा यातायातविज्ञ भन्छन्– जोरबिजोरले कोभिड बढायो

सामान्य अवस्थामा काठमाडाैं उपत्यका (काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाभित्र) मा दैनिक २० हजार सार्वजनिक सवारीसाधन गुड्छन् । टेम्पो, माइक्रो मिनिबस, बस, ट्याक्सीलगायतका सार्वजनिक सवारीसाधनमा औसतमा दैनिक चार लाखपटक मानिस ओहोरदोहोर गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ । सामान्य अवस्थामा सबै सवारीसाधन गुड्दा पनि बिहान कार्यालय जाने र बेलुका घर फर्किने वेला सार्वजनिक सवारीसाधनमा ठेलमठेल गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला, बिरामी तथा शारीरिक रूपमा फरक क्षमताका मानिसलाई चढ्न र झर्न समस्या नै हुने गर्छ । 

तर, ७ माघदेखि प्रशासनले सार्वजनिक सवारी सञ्चालनमा लगाएको जोरबिजोर प्रणालीले सडकमा गुड्ने सार्वजनिक सवारीसाधनको संख्या अधिकतम १० हजारमा झरेको छ । जसले गर्दा दैनिक सार्वजनिक सवारी प्रयोग गर्नुपर्ने करिब चार लाख मानिसले १० हजार सवारीसाधनमै यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । जसले गर्दा यातायातमा झन् बढी भिडभाड हुन थालेको छ । यसले कोभिडबाट जोगिन दूरी कायम राख्ने सरकारकै नियमको धज्जी उडाएको छ । जोरबिजोर प्रणालीका कारण कोभिड संक्रमणको जोखिम बजेटको महसुस आफूहरूले गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक  डा. कृष्णप्रसाद पौडेलले बताए । 

यात्रुको संख्या उही, तर सवारीसाधन आधा घट्दा कोरोना नियन्त्रणभन्दा पनि वृद्धि गर्न सहयोग पुगेको यातायात केन्द्रीय महासंघ, नेपालका महासचिव भरत नेपालले बताए । सरकारीदेखि निजी कार्यालयहरू बन्द रहेको अवस्थामा मात्र जोर–बिजोर प्रणालीको उपादेयता हुने उनको सुझाब छ । उपत्यकामा करिब ट्याक्सी १० हजार, टेम्पो र माइक्रो ६ हजार र बस–मिनिबस चार हजार सञ्चालनमा रहेको विश्वास छ ।  

छलफल नगरी जोरबिजोर प्रणाली 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले छलफल नगरी प्रशासनले निर्णय गरेको आरोप लगाए । निर्णय गरेपछि मात्र छलफलका लागि बोलाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । गाडीको संख्या घटेपछि मानिस बजारमा आउँदैनन् भन्ने प्रशासनको तर्क छ । ‘अविलम्ब जोरबिजोर प्रणाली हटाएर सबै सार्वजनिक सवारीसाधन चल्ने व्यवस्था मिलाउन जोडदार आग्रह छ,’ सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालका महासचिव भरत नेपालले भने । धेरै सार्वजनिक सवारीसाधन गुड्दा दूरी कायम गर्न पनि सहज हुने यातायात व्यवसायीको भनाइ छ । ‘अहिले उभिएर यात्रा गर्नुपर्ने भएको छ, बैंक, वित्तीय संस्था र अधिकांश कार्यालयहरू खुलेका छन् । तर, सवारीसाधन घटाएर समस्या भएको यात्रुहरूको भनाइ छ ।  

यातायात व्यवसायीले भारतीय गाडीहरू निर्बाध नेपाल प्रवेश गरिरहेको, तर देशभित्रका सवारीसाधन रोकिएको गुनासो गरेका छन् । ‘बरु, सार्वजनिक सवारीसाधनले सुधार गर्नुपर्ने विषयमा प्रशासनको ध्यान जानुपर्ने, सरसफाइ, मास्क दिनेलगायतका काम भए–नभएको अनुगमनलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने । तर, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने सबै पक्षसँग समन्वय गरेर निर्णय कार्यान्वयन गरिरहेको बताए ।