मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १३ बिहीबार ०७:५६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पूर्वकप्तान खड्काविरुद्ध अख्तियारको मुद्दा 

Read Time : < 1 मिनेट
२०७८ माघ १३ बिहीबार ०७:५६:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीमा जागिर खान नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले विज्ञप्तिमातर्फ पूर्वकप्तान खड्काले प्रहरीमा जागिर खान नक्कली प्रमाणपत्र पेस गरेको जनाएका छन् । 

प्रहरी सेवामा माध्यमिक शिक्षा परिषद् वाराणसी उत्तरप्रदेश भारतको शैक्षिक योग्यता आइएको झुट्टा प्रमाणपत्र पेस गरेको खड्कामाथि आरोप लगाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महिला विभाग प्रमुख रहेका खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको विज्ञप्तिमा भनिएको छ ।

‘महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय खेलकुद समितिमा कार्यरत प्रहरी नायब निरीक्षक खड्काको शैक्षिक योग्यता आइएको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा झुट्टा प्रमाणपत्र पेस गरेको र सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ मा प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको देखिन्छ,’ अख्तियारले उल्लेख गरेको छ । त्यस्तै प्रहरी सेवामा निरन्तर बहाल रही २०५९ पुस १४ मा  खड्का प्रहरी नायब निरीक्षक पदमा बढुवा भई सरकारलाई हानिनोक्सानी पु¥याई लाभ हुने बदनियत राखेको अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।