मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ माघ १२ बुधबार १७:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा प्रदेश १ मा एकीकृत समाजवादीकी जयन्ती राई विजयी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ माघ १२ बुधबार १७:१७:००

प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएकी छिन्। बुधबार बिहान ९ देखि ३ बजेसम्म सम्पन्न मतदानपछि सुरु भएको  मतगणनाअनुसार एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी भोजपुरकी जयन्तीले प्रदेश सभाको ५२ र स्थानीय तहको १ सय २२ जना जनप्रतिनिधिको मत प्राप्त गरेकी छिन्। 

अन्तिम मत परिमाणअनुसार पाँचदलीय गठबन्धनबाट प्रतिस्पर्धा गरेकी  राईले ४ हजार ६ सय ९२ मतभार प्राप्त गरेकी छिन। उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत प्राप्त गरिन्। उनको  मतभार ४ हजार ३ सय ६२ मात्र रहेको छ। 
यसैगरी राप्रपाकी उम्मेदवार  रन्जु प्याकुरेलले प्रदेशमा १ र स्थानीयमा ४ जनप्रतिनिधिको मत मात्र प्राप्त गरिन्।  प्रदेश १ मा बुधबार बिहान ९ देखि ३ बजेसम्म तोकिएका मतदाताहरूले  विराटनगर सोमबारे हाटस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान गरेका थिए।  
पहिलो मतदान प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए। प्रदेश १ मा तीन पदका लागि हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आठजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। 
 
प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनका लागि ९२ जना प्रदेश सांसद र २ सय ७२ जना पालिका प्रमुख र उपप्रमुख मतदाता थिए।  प्रदेश सांसदको ४८ र प्रमुख उपप्रमुखको मतभार १८ छ। प्रदेश १ मा खुला, महिला र अल्पसंख्यक/अपांगतातर्फ तीन सदस्यका लागि निर्वाचन हुँदै छ। एमालेबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरू नैनकला ओझा, अगमप्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि २० फागुनमा समाप्त हुँदै छ।