१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ १२ बुधबार १६:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीमा मतगणना सुरु, दुई घन्टाभित्र नतिजा आउने

Read Time : > 1 मिनेट
२०७८ माघ १२ बुधबार १६:४७:००

राष्ट्रिय सभा सदस्य चयनका लागि गण्डकी प्रदेशमा मतदान सम्पन्न भएको छ। निर्धारित समय बिहान ९ बजे सुरु भएको मतदान निर्धारित समय दिउँसो ३ बजे सकिएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए। उनका अनुसार मतदानमा दुईजना स्थानीय तहका जनप्रतिनिधि सहभागी भएनन्। 

निर्वाचन कार्यालयकै हलमा अहिले मतगणना सुरु भइसकेको र दुई घन्टाभित्र नै मतपरिणाम आइसक्ने निर्वाचन अधिकारी पराजुलीले बताए। ‘निर्धारित समयमै मतदान सुरु भयो र निर्धारित समयमै हामीले बन्द गर्‍यौँ। दुईजना स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनुभएन। प्रदेश सभाका ५९ सदस्य नै मतदानमा सहभागी हुनुभयो,’ उनले भने। 

गण्डकीमा तीनजना राष्ट्रिय सभा सदस्यका लागि  ६ जनाको प्रतिस्पर्धा छ। दलित, महिला र अन्य समूहमा एक–एक सदस्यका लागि नेकपा एमालेका तीनजना र सत्तारुढ गठबन्धनका तर्फबाट तीनजना प्रतिस्पर्धामा छन्। एमालेको तर्फबाट महिलातर्फ लीला पोखरेल थनेत, अन्य समूहमा पुण्यप्रसाद पौडेल र दलिततर्फ अर्जुनकुमार सुनाम प्रतिस्पर्धामा छन्।

सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट महिलामा कमला पन्त, अन्यमा नेकपा माओवादी केन्द्रबाट सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादी केन्द्रबाटै भुवन सुनार प्रतिस्पर्धामा छन्।

यस्तो छ मतभार
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्। गण्डकीमा जम्मा पाँच हजार सात सय ६८ मतभार रहेकाेमा एमालेको दुई हजार पाँच सय ३८ र सत्तारुढ गठबन्धनको मतभार तीन हजार तीन सय ३६ छ। मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ पनि गठबन्धन सरकारमै मन्त्री छन्। राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ।  

८५ स्थानीय तहको एक सय ७० सिटमध्ये अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयर गरी ७० जना र ६० सदस्यीय प्रदेश सभामा २७ जना प्रदेश सभा सदस्य एमालेका छन्। 

स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपप्रमुख शर्मिला पौडेल क्षेत्री मात्र नेकपा (एकीकृत समाजवादी) मा छिन्। सो पार्टीको मतभार गण्डकीमा १८ मात्रै छ। 

गण्डकीमा पाँचदलीय गठबन्धनमा कांग्रेस दुई हजार एक सय ९६, माओवादी सात सय ९२, जनता समाजवादी ९६, राष्ट्रिय जनमोर्चा एक सय ५०  र एकीकृत समाजवादीको १८ मतभार छ। यसरी हेर्दा पाँचदलीय गठबन्धनसँग एमाले ६ सय ९६ मतभारले पछाडि छ। बाग्लुङ नगरपालिकाको उपप्रमुख र म्याग्दी बेनी नगरपालिकाको उपप्रमुखमा राप्रपाले जितेको छ।

स्थानीय तहको निर्वाचन हुँदा दुईजनाले स्वतन्त्र रूपमा जितेका थिए। तर, स्वतन्त्र चुनाव जितेका मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा पछि कांग्रेस प्रवेश गरे भने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छेप्तेन गुरुङ एमाले प्रवेश गरेका छन्। स्थानीय तहका दुईजना प्रतिनिधि मतदानमा सहभागी नभएकाले को सहभागी भएन भनेर अहिले यकिन नगरिएको निर्वाचन अधिकारी पाराजुलीले जानकारी दिए।