मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १० सोमबार ०८:५६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामै आठ खर्ब ८० अर्बको व्यापार घाटा, गति नघटे वर्षभरिमा बजेटलाई उछिन्ने

६ महिनामा १० खर्बको आयात, सवा खर्बको निर्यात, करिब ११ खर्बको व्यापारमा नेपाललाई पौने नौ खर्बको नोक्सान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १० सोमबार ०८:५६:००

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमै व्यापार घाटा आठ खर्ब ८० अर्ब रुपैयाँबराबर पुगेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा करिब ४७ प्रतिशतले बढेको व्यापार घाटाको गति कायमै रहेको अवस्थामा सरकारको वार्षिक बजेटलाई उछिन्ने देखिएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । यही गतिमा व्यापार घाटा बढ्दै गएको अवस्थामा वार्षिक व्यापार घाटाको आकार १७ खर्ब ६० अर्ब रुपैयाँ पुग्नेछ, जुन बजेटभन्दा एक खर्ब २७ अर्ब रुपैयाँ धेरै हो । 

निर्यातको तुलनामा आयातको आकार अत्यधिक ठूलो भएपछि व्यापार घाटा अनियन्त्रित बन्दै गएको हो । कुल व्यापारको आकार बढ्दै जाँदा असन्तुलनसमेत बढ्दै गएको देखिन्छ । यस अवधिमा नेपालले आयात र निर्यात गरी कुल ११ खर्ब १८ अर्ब १९ करोडको व्यापार गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५४.८६ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा नेपालले सात खर्ब २२ अर्ब चार करोडको व्यापार गरेको थियो । 

मासिक रूपमा तुलना गर्दा अघिल्ला महिनाहरूको तुलनामा पुसमा थोरै अंकले आयात संकुचन भए पनि गत वर्षको तुलनामा भने अत्यन्तै ठूलो भएको छ । चालू आर्थिक वर्षको ६ महिनामै नौ खर्ब ९९ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँबराबरको आयात भएको थियो ।

 पुसमा सबैभन्दा कम निर्यात
उच्चदरमा बढ्दै आएको निर्यात पुस महिनामा भने घटेको देखिएको छ । पुस महिनामा १५ अर्ब ९३ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । जुन मंसिर महिनाको तुलनामा चार अर्ब ८७ करोडले कमी हो । मंसिरमा २० अर्ब ८० करोड र कात्तिकमा १७ अर्ब सात करोडबराबरको निर्यात भएको थियो । आर्थिक वर्षको ६ महिनामा कुल निर्यात एक खर्ब १८ अर्ब रुपैयाँबराबर पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९५.४८ प्रतिशतले बढी हो । गत आवको पहिलो ६ महिनामा ६० अर्ब ७९ करोडको निर्यात भएको थियो ।

 पुसमा सबैभन्दा कम आयात
सरकारले लिएको आयात निरुत्साहित गर्ने नीतिको प्रभाव अन्तर्राष्ट्रिय व्यापारमा देखिन थालेको छ । आर्थिक वर्ष सुरु भएयता निरन्तर बढ्दै आएको आयात पुस महिनामा केही घटेको छ । पुस महिनाको आयात साउनयताकै सबैभन्दा कम आयात भएको छ । पुस महिनामा एक खर्ब ६० अर्ब ९४ करोड रुपैयाँबराबरको आयात भएको छ । जुन अघिल्लो मंसिर महिनाको भन्दा २७ अर्ब १७ करोड रुपैयाँले र कात्तिकको तुलनामा १० अर्ब ८३ करोडले कमी हो ।  नेपाल राष्ट्र बैंकले गत महिनादेखि लागू हुने गरी विभिन्न विलासी वस्तुको आयातको एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसअघि चाँदीको आयातमा समेत कडाइ गरिएको छ । यस्ता वस्तुको आयात निरुत्साहित गर्ने नीतिकै कारण आयात वृद्धिदर न्यून भएको हो ।