मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
धार्चे गाउँपालिका–४ लाप्राकका गोठालोलाई गोठमै रेडियो वितरण गरिँदै । तस्बिर : नयाँ पत्रिका
२०७८ माघ १० सोमबार ०७:३६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

समाचार सुन्न धार्चेका ५० गोठालालाई रेडियो उपहार

Read Time : > 1 मिनेट
२०७८ माघ १० सोमबार ०७:३६:००

उत्तरी गोरखाका गोठालाहरूलाई समाचार सुन्न रेडियो वितरण गरिएको छ । धार्चे गाउँपालिका–४ लाप्राकमा गोठमा बस्दै आएका स्थायी गोठालालाई रेडियो विरतण गरिएको हो । गोठमा बस्दै आएका गोठालालाई गाउँपालिकाको विकास गतिविधि तथा देश–विदेशमा हुने गरेका घटनाबारे जानकारी गराउन रेडियो वितरण गरिएको वडाध्यक्ष राज गुरुङले जानकारी दिए । गोठमै स्थायी रूपमा बस्दै आएका लाप्राकका ५० जना गोठालालाई गोठमै पुगेर सोलारजडित रेडियो वितरण गरिएको उनले बताए । गाउँपालिकाको समन्वयमा हाम्रो सहारा फाउन्डेसन नेपालले गोठालामैत्री रेडियो वितरण गरेको हो । 

वीरलाल गुरुङ, मीन गुरुङ र कान्छी गुरुङको गोठमै पुगेर गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले रेडियो वितरण गरिएको थियो । केहीलाई भने गाउँमै वितरण गरिएको थियो । अपुग भएका गोठालाहरूको नाम लिस्ट तयार गरी गाउँपालिकामा पठाएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उत्तरी गोरखाका भेडीगोठहरू हिउँदमा हिमालको चिसो छल्न बेँसी झर्ने गर्छन् । त्यस्तै, बर्खामा बेँसीको गर्मी छल्न गोठहरू लेक उक्लने गर्दछन् । हिमाली क्षेत्रमा मौसमअनुसार ६÷६ महिना लेकबेँसी गर्ने अध्यक्ष सन्तोष गुरुङले बताए । उनका अनुसार लाप्राकमा एक सयभन्दा बढी गोठ छन् ।  

कार्यपालिका बैठकको निर्णयअनुसार नै रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । वर्षभरि नै गोठमा स्थायी रूपमा बस्दै आएका गोठालाहरूलाई गाउँपालिकाले गरेका विकास, देश–विदेशका खबरका साथै मौसमबारे थाहा पाऊन् भन्ने उद्देश्यले रेडियो वितरण गरिएको उनले जानकारी दिए । यसअघि अन्य वडाका गोठालालाई पनि रेडियो वितरण गरिएको थियो । रेडियोमा जडित सोलार पाताले ब्याट्री फेरिरहनुनपर्ने, गोठमा विद्युत् नहुँदा पनि ब्याट्री चार्ज गर्ने सुविधा हुँदा गोठालाहरू खुसी भएको समेत गुरुङले बताए । रेडियोमा लाइट पनि रहेकाले राति गोठमा बस्दा बत्ती बाल्नसमेत सजिलो हुने उनले बताए । 

‘कति खेर हिउँ, असिना पर्छ, हावाहुरी चल्छ सबै रेडियोमै सुनेर थाहा पाइन्छ । अहिले कोभिड भाइरसको महामारी छ, त्यसबाट कसरी बच्ने भन्ने पनि थाहा हुने भयो,’ गोठाला वीरलाल गुरुङले भने । गोठमा एक्लै भएका वेला रेडियो सुन्दै काम गर्न धेरै रमाइलो हुने पनि उनले बताए । भौगोलिक विकटताका कारण मोबाइलका टावरसमेत नटिप्ने जंगलमा रेडियोबाट नयाँनयाँ समाचार सुन्न पाउँदा धेरै खुसी लागेको त उनी बताउँछन् ।